सनातन संस्कृति वैदिक संस्कृति हो । केही ऐतिहासिक घटनाक्रमसँग जोडेर सनातन संस्कृतिलाई महिलाद्वेषी साबित गर्ने प्रयास भइरहेको देखिन्छ । यो सनातन संस्कृतिको आधार वेद हो । वेदमध्ये सबैभन्दा प्राचीन ऋग्वेद हो । सनातन संस्कृतिमा देवी वा महिलालाई मातृशक्ति भन्ने गरिन्छ र महिलाहरूलाई देवी भनेर सम्बोधन गरिन्छ । सनातन संस्कृतिको आधार ग्रन्थ ऋग्वेदमा देवी सरस्वतीका सम्बन्धमा लेखिएका केही प्रसंग यहाँ अघि सारिएको छ ।
सामान्य जीवनमा यज्ञ भन्नाले कुनै दैवीशक्तिका लागि हवनआदि सहितको कर्म बुझिने गरेको पाइन्छ, यो त यज्ञ हो नै । तर, वेद पढ्दा यो विषय मात्र यज्ञ भएको बुझिँदैन । विभिन्न प्रसंगहरू हेर्दा सामुहिक उत्पादन उपक्रम, युद्ध, ज्ञान प्राप्त गर्ने, पितृ खुसी पार्ने, अतिथिको अगमनमा भव्य स्वागत गर्ने, जगतका सबै प्रकारका जीवहरूको जीवन रक्षा तथा संरक्षण–सम्वद्र्धन गर्ने अभियान, उत्सव आदि पनि यज्ञ नै भएको बुझिन्छ ।
यज्ञ भनेको पुरुष देवतासँग मात्र सम्बन्धित विषय होइन भन्ने विषय त माथि उल्लेख गरिएका पङ्क्तिबाट नै स्पष्ट भइसकेको छ । ऋग्वेदमा अनेकौँ स्थानमा महत्व गाइएकी देवी सरस्वतीलाई जीवनका सबै पक्षसँग जोडेर श्रद्धा र विश्वास गरेको पाइन्छ । सरस्वती देवी हुन्, उनी नारी हुन् । नारीशक्तिको महत्व बुझ्नका लागि हाम्रा ऋषि–महर्षिहरूले वेदका मन्त्रहरूद्वारा देवी सरस्वतीप्रति प्रकट गरेको श्रद्धा र विश्वासबाट शिक्षा लिन सकिन्छ ।
पावका न : सरस्वती वाजेभिर्वाजिनीवती । यज्ञं वष्टु धियावसुः । सरस्वतीले पवित्र बनाउँछिन्, पोषण दिन्छिन् र उनी बुद्धिमत्तापूर्वक ऐश्वर्य दान गर्छिन् । उनै देवी सरस्वतीले ज्ञान र कर्मद्वारा हाम्रो यज्ञ सफल गराइदिऊन् । १।३।१० यस मन्त्रबाट के स्पष्ट हुन आउँछ भने नारीशक्तिको क्षेत्र पवित्रता, पोषण, बुद्धि, ऐश्वर्य, दान, ज्ञान, कर्म आदि सबै हुन् । नारीशक्ति बहुआयामिक शक्ति सम्पन्नता हो ।
चेदयित्री सुनृतानां चेतन्ती सुमतीनाम् । यज्ञं दधे सरस्वती । सत्य र प्रिय वचन बोल्न सिकाउने र मेधावीहरूलाई यज्ञका लागि प्रेरणा दिने सरस्वती देवीले हाम्रो यो यज्ञ स्वीकार गरून् र हामीलाई खोजेको जस्तै भैभव दिऊन् । १।३।११ हाम्रो संस्कृतिमा सरस्वतीलाई ‘विद्याकी देवी’ मानेर पूजा गर्ने चलन छ । यस मन्त्रमा सरस्वतीका विषयमा भनिएका विषय विद्यासँग सम्बन्धित छन् । विद्याबाट प्राप्त हुने विषय यस मन्त्रमा रहेको छ ।
महो अर्णः सरस्वती प्र चेतयति केतुना । धियो विश्वा वि राजति । नदीको रूप लिएर प्रशस्त जल बगाउने सरस्वती देवी धनले सम्पन्न पृथ्वीलाई जगाउँछिन् । उनै देवीले सबै याजकहरूलाई ज्ञानको तिखो ज्योति प्रदान गरून् । १।३।१२
सरस्वती भनेको सरस्+वती = रससहितकी, जलको स्रोत, सरस्वती । यस अर्थमा सरस्वती भनेको नदी पनि हो । वेदमा नदीलाई स्त्रीलिङ्गी मानिएकोछ । प्रकृतिमा मात्र होइन, सरसता भनेको मानिसको बोलीवचन र व्यवहारमा पनि आवश्यक हुन्छ । मानिसको बोलीवचन र व्यवहारमा प्रकट हुने सरसता सरस्वती अर्थात् नारीबाट प्राप्त गुण हो ।
….सोममश्विना सरस्वती सुभगा नः मयस्करत् । ….सोम, अश्विनीकुमार र सौभाग्यशालिनी सरस्वती आदि देवगणलाई स्तुति गर्दछौँ । यिनीहरू हाम्रा लागि सधै सुखदाता होऊन् । १।८९।३
ऋग्वेदमा सोमलाई पौष्टिक पेयको रूपमा वर्णन गरिएको पाइन्छ । सोम चन्द्रमालाई पनि भनिन्छ । सोम आरोग्यका देवताको रूपमा पनि वर्णित छन् । अश्विनीकुमार औषधी गर्न जान्ने स्वास्थ्यरक्षक व्यक्तित्व हुन् । जीवनका लागि अत्यन्त महत्वका यी देवतासँगै सरस्वतीको स्तुति गरिनुले देवी र देवताका बीचमा, नारी र पुरुषका बीचमा विभेद नभएको स्पष्ट हुन्छ ।
या गुङ्गूर्या सिनीवाली या राका या सरस्वती । इन्द्राणी ऊतये वरुणनीं स्वस्तये । गुङ्गू, सिनीवाली, राका, सरस्वती आदि जुनसुकै नाम भएका सबै देवीहरूलाई हामी आफ्नो संरक्षणको कामनाले आह्वान गर्दछौं । इन्द्राणी र वरुणानी देवीलाई पनि आफ्नै कल्याणको कामनाले आह्वान गर्दछौं । २।३२।८
यस मन्त्रमा आफैमा शक्तिशाली देवीहरू र शक्तिशाली देवताका पत्नीहरूलाई आफ्नो संरक्षणका लागि आह्वान गरिएको छ ।
शिक्षा, ज्ञान, पवित्रता, उत्प्रेरणा, सुरक्षा, पराक्रम, बल, उत्पादन, व्यवस्थापन, स्वामित्व र शान्ति जस्ता विषयमा सरस्वतीका विशेषता देखिन्छन् । सरस्वतीलाई पूजनीय बुझ्ने वैदिक—सनातनीहरूले सरस्वतीका यी विशेषताहरू आपूमा विकास गर्दै आफू लाई लागेको विभेदकारी र महिलाद्वेषीको लाञ्छनाबाट मुक्त पार्ने दिशामा ध्यान दिन आवश्यक देखिन्छ ।
ऋग्वेदमा स्वयं शक्तिशाली देवी, शक्तिशाली देवता, शक्तिशाली देवताका पत्नी, शक्तिशाली देवीका पति वा सन्तान, स्वयं शक्तिशाली हुनुको साथै शक्तिशालीका सम्बन्धित दुवै अवस्था रहेका देवीदेवता छन् । यी सबै प्रसंगमा देवताभन्दा देवीको स्थान माथि रहेको देखिन्छ ।
सरस्वती साधयन्ती धियं न इडा देवी भारती विश्वमूर्तिः । तिस्रो देवीः स्वधया बहिरेदमच्छिन्द्रं पान्तु शरण निषद्य । अनेकौं सद्गुणहरूले सम्पन्न इडा, भारती र सरस्वती यी तीन देवीहरु हाम्रा यस यज्ञमा उपस्थित रहेर आआफ्ना धारणाशक्तिबाट यस यज्ञलाई संरक्षित गरून् । २।३।८ यहाँ यज्ञको संरक्षणका लागि देवीहरू अह्वाहित छन् । यसबाट सुरक्षा, संरक्षाको क्षेत्रमा महिलाहरू अग्रणी छन्, त्यसै अनुसार परिचित र स्थापित छन् भन्ने बुझ्न सकिन्छ ।
अस्मै तिस्रो अव्यथ्याय नारीर्देवाय देवीर्दि्धिषन्त्यन्नम् । कृता इवोप हि प्रसर्स्रे अप्सु स पीयूषं धयति पूर्वसूनाम् । अपांनपात देवताका लागि तीन वटी देवीहरू अन्न धारण गर्दछन् । जलमा परेको कुनै वस्तु सुगमतापूर्वक अगाडि बढेझैँ तीन देवीहरू अगाडि बढ्दछन् । अपांनपात देवता जलमा उत्पन्न अमृत सर्वप्रथम पान गर्दछन् । २।३५।५ यस मन्त्रमा जलमा उत्पन्न विशेष पदार्थको प्राप्तिका लागि जमिनमा उत्पादन हुने वस्तुसँग विनिमय गर्ने काममा पनि देवीहरूको अग्रशीलता वर्णन गरिएको छ ।
अम्बितमे नदीतमे देवितमे सरस्वति । अप्रशस्ता इव स्मसि प्रशस्तिमम्ब नस्कृधि । हे नदी, मातृगण र देवताहरूमा श्रेष्ठ माता सरस्वती ! हामी मूर्ख बालकजस्तै छौँ । त्यसैले हामीलाई असल ज्ञान प्रदान गर । २।४१।१६ जीवनोपयोगी ज्ञानका लागि सरस्वतीसँग माग गरिएको छ ।
त्वे विश्वा सरस्वति श्रितायूंषी देव्याम् । शुनहोत्रेषु मत्स्व प्रजां देवि दिदिड्ढि नः । हे माता सरस्वती ! तिम्रो ओजस्वी आश्रयले सम्पूर्ण जीवन सुखमा छ, त्यसैले हे माता ! पवित्रता प्रदान गर्ने यस यज्ञमा आनन्दित भएर हामीलाई असल सन्तान प्रदान गर । २।४१।१७ यस मन्त्रद्वारा स्तोताहरूले आफ्ना लागि मात्र नभएर असल सन्तानका लागि सरस्वती देवीसँग नै अपेक्षा गरेका छन् ।
सरस्वती देवी हुन्, उनी नारी हुन् । नारीशक्तिको महत्व बुझ्नका लागि हाम्रा ऋषि–महर्षिहरूले वेदका मन्त्रहरूद्वारा देवी सरस्वतीप्रति प्रकट गरेको श्रद्धा र विश्वासबाट शिक्षा लिन सकिन्छ ।
इमा ब्रह्म सरस्वति जुषस्व वाजिनीवति । या ते मन्म गृत्समदा ऋतावरि प्रिया देवषु जुह्वति । हे माता सरस्वती ! अन्न र बल प्रदान गरेर तिमी सन्मार्गमा चल्दछ्यौ । देवतालाई प्रिय लाग्ने गृत्समद ऋषिले बनाएको उत्तम स्तोत्र हामी सुनाउँछौँ, तिमी स्वीकार गर । २।४१। १८ यहाँ सरस्वतीलाई अन्न, बल र सन्मार्गका लागि प्रार्थना गरिएको छ ।
आ भारती भारतीभिः सजोषा इडा देवैर्मनुष्येभिरग्निः । सरस्वती सारस्वतेभिरर्वाक् तिस्रो देवीर्बर्हिरेदं सदन्तु । भरण पोषण गर्ने शक्तिका साथमा भारतीदेवी हाम्रा यज्ञमा आऊन् । मानिसहरूका साथमा इडादेवी पनि यस दिव्य अग्निका नजिक आऊ । सारस्वत् वाणी शक्तिसँग सरस्वतीदेवी पनि आऊन् । यी तीनै देवीहरू आएर कुशका आसनमा बसुन् । ३।४।८ उज्यालो मन पराउने भारती हुन् । इडा नाडीसँग सम्बन्धित हुन् । सरस्वती वाणीको शक्तिसँग सम्बन्धित हुन् । यी तीन वटा गुणसँग सम्बन्धित तीनै वटी देवीलाई यज्ञमा आएर असन ग्रहण गर्ने अपेक्षा गरिएको छ । यहाँ देवताको विषय विषय छैन । यसरी देव र देवी यज्ञका समान सहभागी हुन्, प्रार्थित हुन् भन्ने बुझिन्छ ।
….उभा नासत्या रुद्रो अध ग्नाः पूषा भगः सरस्वती जुषन्त । हे अग्नि ! अश्विनीकुमार, रुद्र, देव पत्नीहरू, पूषा, भग, सरस्वतीले हवि ग्रहण गरून् । ५।४६।२ यहाँ यज्ञको हविष्यका लागि समान रूपमा आदरपूर्वक सम्बोधन गरिएको छ । समानताको महत्त्वपूर्ण पक्ष भनेको आसन र भोजनमा हो । यसरी बुझ्दा देवी र देवमा फरक गरेको देखिँदैन ।
इयमददाद्रभसमृणच्युतं दिवोदासं वध्य्रश्वाय दाशुषे । या शश्वन्तमाचखादावसं पणिं ता ते दात्राणि तविषा सरस्वती । सरस्वती देवीबाट आहुति दिने वध्य्रश्वले धैर्यवान्, ऋणमुक्त गराउने दिवोदास नामको पुत्र प्राप्त गरे । उनले पणि नामको कष्ट दिने कन्जुसको नाश गरे । हे सरस्वती देवी ! तिम्रो दान महान् छ । ६।६१।१ असल सन्तानका लागि सरस्वतीको प्रशंसा गरिएको छ । यसबाट सरस्वती शिक्षाका क्षेत्रमा मानिएकी व्यक्तित्व हुन् भन्ने स्पष्ट हुन्छ ।
इयं शुष्मेभिर्बिसखा इवारुजत्सानु गिरीणां तविषेभिरूर्मिभिः । पारावतघ्नीमवसे सुवृक्तिभिः सरस्वतीमा विवासेम धीतिभिः । सरस्वती देवी आफ्ना बलवान् वेगले कमलनालझैँ पर्वतका चुचुरा भाँचिदिन्छिन्, हामी उनै सरस्वती देवीलाई भक्ति र सेवा गर्दछौँ, उनले हाम्रो रक्षा गरुन् । ६।६१।२ देवी सरस्वती बलशाली छन् । बलका विषयमा पनि सरस्वतीमाथि भर गरिएको र स्तुति गरिएको छ ।
सरस्वती देवनिदो निबर्हय प्रजां विश्वस्य बृसयस्य मायिनः । उत क्षितिभ्योद्रवनिरविन्दो विषमेभ्यो अस्रवो वाजिनीवति । हे सरस्वती देवी ! तिमीले देवताको निन्दा गर्नेलाई नष्ट ग¥यौ । तिमी कपटी दुष्टलाई उसै गरी नाश गर, जसरी तिमीले मानव हितका लागि भूभाग प्रदान गरेकी छ्यौ । हे घोडा सवारी गर्ने देवी ! मानिसका लागि तिमीले नै जलप्रवाह गरेकी हौ । ६।६१।३ वेदमा देव र देवत्वलाई सकारात्मक शक्तिका रूपमा ग्रहण गरिएको छ । सकारात्मकताको रक्षा गर्ने र नकारात्मकताको विरुद्ध हुने सरस्वतीको गुणको महत्त्व दर्शाइएको छ । साथै, सरस्वतीमा ज्ञान मात्र नभई क्षमता पनि उत्तिकै प्रचुर रहेको, बस्न र खेती गर्न उपयुक्त भूमि व्यवस्थापन गर्नमा पनि सरस्वतीको भूमिका रहेको स्पष्ट हुन्छ ।
प्र णो देवी सरस्वती वाजेभिर्वाजिनीवती । धीनामविœयवतु । सरस्वती देवी अनेकौँ किसिमले अन्नसम्पन्न मानिन्छिन् । उनले रक्षा गर्दछिन् र उनै देवीले हामीलाई उत्तम प्रकारले सन्तुष्ट गराउन् । ६।६१।४ शत्रु विरुद्ध घोडा चढेर लडाइँ गर्ने, जलप्रवाहको व्यवस्था गर्ने, भूमि व्यवस्था गर्ने र आफैले अन्न उब्जाएर सम्पन्न हुने कर्म पनि सरस्वतीबाट भएको देखिन्छ ।
यस्त्वा देवी सरस्वत्युपब्रूते धने हिते । इन्द्रं न वृत्रतूर्ये । युद्धमा शत्रुबाट रक्षा पाउनका लागि इन्द्रदेव बोलाइन्छन्, उसै किसिमले युद्धका प्रारम्भमा जसले आह्वान गर्दछ, तिमी त्यसलाई रक्षा गर्दछ्यौ । ६।६१।५ रक्षाको सन्दर्भमा सरस्वती इन्द्रसमान थिइन् भन्ने स्वीकार गरिएको छ ।
त्वं देवी सरस्वत्यवा वाजेषु वाजिनि । रदा पूषेव नः सनिम् । हे सरस्वती देवी ! तिमी बलले युक्त छ्यौ । तिमी सङ्ग्रामका समयमा हाम्रो रक्षा गर र पूषादेवको जस्तै गरी हामीलाई धन प्रदान गर । ६।६१।६
उत स्या नः सरस्वती घोरा हिरण्यवर्तनिः वृत्रघ्नी वष्टि सुष्टुतिम् । सुनौलो रथमा आरूढ, प्रचण्ड वीरता धारण गर्ने देवी सरस्वतीले शत्रु नाश गर्दछिन् र स्तोताको रक्षा गर्छिन् । ६।६१।७
सरस्वती देवी शत्रु परास्त गर्दै आउँछिन्, हाम्रा निम्ति स्तुत्य छिन्, निन्दकबाट जोगाउन् । उत्तम धन प्रदान गर । हामी निकृष्ट स्थानमा नजाऔँ । यसरी सबै विषयमा सरस्वतीको महिमा रहेको छ । ऋग्वेदको छैटौँ मण्डल, ६१ औँ सूक्तका ८, ९, १०, ११, १३, १४ मा पनि यिनै विषयहरू उल्लेख छन् ।
शं नो देवा विश्वदेवा भवन्तु शं सरस्वती सहधीभिरस्तु । …..सद्बुद्धि दिने सरस्वती देवीले हामीलाई शान्ति प्रदान गरून् । ७।३५।११ ज्ञान, धन, पराक्रमका साथै सरस्वतीबाट शान्तिको अपेक्षा पनि गरिएबाट विवादहरूको व्यवस्थापनमा पनि सरस्वतीको भूमिका स्वीकार्य रहेको तथ्यको ढोका खुल्दछ ।
…..सरस्वती मरुतो मादयन्ताम् । देवी सरस्वती र मरुत् यहाँ आएर आनन्दित होऊन् । ७।३९।५
सरस्वती गतिशील छिन्, दुधघिउ प्रदान गर्छिन्, श्रेष्ठ धन सम्पन्न छिन्, मित्रताको भाव भएकी र दयालु छिन्, तिमीसित अन्न र धन प्राप्त गर्न सकौँ, ऋषि वसिष्ठले तिम्रा लागि यज्ञको द्वार खोल्छन्, वसिष्ठका लागि पनि स्तुत्य छौ, हाम्रो सुरक्षा गर आदि भनेर महिमा गायन गरिएको छ । ऋग्वेद सातौँ मण्डल, ९५ औँ सूक्तका मन्त्रहरू ४,५,६ मा देवी सरस्वतीका माथि उल्लेख गरिएका गुण, स्वभाव र क्षमताको मुक्तकण्ठले वर्णन गरिएको छ ।
सरस्वती देवयन्तो हवन्ते सरस्वतीमध्वरे तायमाने । सरस्वती सुकृतो अह्वयन्त सरस्वती दाशुषे वार्यं दात् । दैवी गुणका इच्छुक मानिसहरू सरस्वती देवीलाई आह्वान गर्दछन् । यज्ञ विस्तृत भएपछि उनी सरस्वतीदेवीको स्तुति गर्दछन् । श्रेष्ठ पुण्यात्माहरूले देवी सरस्वतीलाई आह्वान गर्दा उनले दानीहरूको आकाङ्क्षा परिपूर्ति गर्दछिन् । १०।१७।७ देवी सरस्वतीप्रतिको विश्वास यसरी प्रकट गरिएको छ ।
सरस्वती या सरथं यथाथ स्वधाभिर्देवि पितृभिर्दमन्ती । आसद्यास्मिन्बर्हिषिमादयस्वानमीवा इष आ धेह्यस्मे । हे सरस्वती देवी ! तिमी पितृहरूसँग स्वधायुक्त हविष्यान्नले सन्तुष्ट भएर प्रसन्न हुँदै एकै रथमा यात्रा गर । यस यज्ञमा श्रेष्ठ आसनमा विराजमान भएर हामीलाई आरोग्यता र अन्न प्रदान गर । १०।१७।८
सरस्वती या पितरो हवन्ते दक्षिणा यज्ञमभिनक्षमाणाः । सहस्रार्घमिडो अत्र भागं रायस्पोषं यजमानेषु केहि । यज्ञ स्थलका दक्षिण भागमा प्रतिष्ठित पितृहरू सरस्वती देवीलाई आह्वान गर्दछन् । यज्ञ सम्पादक यजमानलाई उनी प्रचुर मात्रामा दिव्य धन र पोषक अन्न प्रदान गरून् । १०।१७।९
……सरस्वती तद्गृणते वयो धात् । …….देवी सरस्वतीले हामी स्तोतालाई असल धन सम्पदा प्रदान गरून् । १०।३०।१३ यो अग्रज, पुर्खा, पूर्वज, पितृहरूप्रति सरस्वतीको निष्ठा र यजमानहरूको उनीप्रतिको विश्वासको नमुना हो । सरस्वतीको यस कर्म र यसप्रति यजमानहरूको निष्ठाबाट मानव समाजले निरन्तर शिक्षा लिइरहन सक्दछ ।
तिस्रो देवीर्बर्हिरिदं वरीय आ सीदत चकृमा वः स्योनम् । मनुष्वद्यज्ञं सुधिता हवींषीडा देवी घृतपदी जुषन्त । हे इडा आदि तीन देवीहरू हो ! तिमीहरूका निम्ति सुखद आसन बिछ्याएका छौँ । यी श्रेष्ठ कुशका आसनमा स्थान ग्रहण गर । इडा, तेजस्विनी सरस्वती र दिव्य स्वरूप भएकी भारतीले मनुले सम्पन्न गरेका यज्ञमा आहुति ग्रहण गरेझैँ हाम्रा यज्ञमा उत्तम रीति र आदर भावले प्रदान गरिएको आहुति ग्रहण गरून् । १०।७०।८
……प्र देवाः प्रोत सूनृता रायो देवी ददातु नः । समस्त देवता र वाणीकी अधिष्ठात्री, सत्यप्रिय देवी (सरस्वती)ले भरपूर धन आदि सम्पदा प्रदान गरून् । १०।१४१।२
यसरी ऋग्वेदमा उल्लेख भएका वा वैदिक नारीहरूको विषयको अध्ययन गर्दा नारीप्रति कुनै प्रकारको नकारात्मक विभेद भएको देखिँदैन । यहाँ उल्लेख भएका नारी वा पुरुष व्यक्तित्वहरू मन्त्रद्रष्टा ऋषिहरू हुन् र देवताहरू नै हुन् । अन्य स्त्री वा पुरुषका विषयमा नामै तोकेर, कामै तोकेर, सहभागिता वा असहभागिताका विषयमा उल्लेख भएको पाइँदैन । यहाँ के स्पष्ट पार्न आवश्यक नै छ भने सम्बोधनमा बाहेक स्त्री र पुरुष दुवैलाई ऋषि र दुवैलाई देवता मानिएको छ, अर्थात् भूमिकाका हिसाबले देवी र देवता भन्ने विषयमा खासै ध्यान दिइएको देखिन्न । यसमा थप स्पष्टताको लागि ऋषि र देवताको सूची हेर्न आवश्यक छ ।
यस परिच्छेदमा सरस्वतीका विषयमा मात्र उल्लेख गर्दा पनि समानता, सहभागिता र सम्मान उच्च रहेको देखिन्छ । सरस्वती स्त्री देवता/देवी भएको र त्यसै कारणले पुरुष देवताभन्दा कमजोर भूमिका रहेको देखिँदैन । एक्लै देवी सरस्वतीले गरेका काम र उनीबाट यजमानहरूले गरेको अपेक्षाको अध्ययन गर्दा जीवनका धेरै पक्षहरू देखिन्छन् ।
शिक्षा, ज्ञान, पवित्रता, उत्प्रेरणा, सुरक्षा, पराक्रम, बल, उत्पादन, व्यवस्थापन, स्वामित्व र शान्ति जस्ता विषयमा सरस्वतीका विशेषता देखिन्छन् । सरस्वतीलाई पूजनीय बुझ्ने वैदिक—सनातनीहरूले सरस्वतीका यी विशेषताहरू आफूमा विकास गर्दै आफूलाई लागेको विभेदकारी र महिलाद्वेषीको लाञ्छनाबाट मुक्त पार्ने दिशामा ध्यान दिन आवश्यक देखिन्छ ।
प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार ८ : ५४ बजे
प्रतिक्रिया