वातावरण संरक्षणमा महिला सहभागिता

स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने प्रत्येक नागरिकको मौलिक हक हो । तर, पछिल्लो समय स्वच्छ र स्वस्थ वातावरण हराउँदै गएकाले वातावरण संरक्षण गर्नु जरुरी छ । सामान्यतया, वातावरण संरक्षण भनेको पृथ्वीका प्राकृतिक स्रोतहरु, जैविक विविधता, पानी, हावा, माटो वनस्पति र वन्यजन्तुलाई संरक्षण र सन्तुलनमा राख्ने प्रक्रिया हो । वातावरणीय सन्तुलन कायम राख्ने हो भने प्राकृतिक स्रोतहरुलाई दीर्घकालसम्म उपयोग गर्ने बनाउनुपर्छ । वातावरणीय प्रदूषण हटाउनुपर्छ । वन र जलस्रोतको व्यवस्थापन हुनुपर्छ । जीवजन्तुहरुका बासस्थानको संरक्षण गर्नुपर्छ । वातावरण र विकासबीच सन्तुलन कायम राख्नुपर्छ । जलवायु परिवर्तनको असर कम गर्न प्रकृति, वातावरण र जैविक विविधतालाई प्रतिकूल असर पार्ने तत्वहरुको न्यूनीकरण गर्नुपर्छ ।

वातावरण विनाशका कारण धेरै हुन सक्छन् । त्यसमध्ये वन विनाश वातावरण विनाशको प्रमुख कारण मानिन्छ । रुख कटानबाट जैविक विविधता, हावाको गुणस्तर र माटोको संरक्षणमा नकारात्मक असर पर्छ । वनमा बसोबास गर्ने वन्यजन्तुको बासस्थान हराउँदै जान्छ । पृथ्वीको कार्बन चक्रमा पनि असन्तुलन ल्याउँछ । वातावरण विनाशको दोस्रो कारण औद्योगीकरण र सहरीकरण हो । यसले पृथ्वीका प्राकृतिक स्रोतहरूको दोहन बढाएको छ । औद्योगिक क्रियाकलापमा रसायन, धातु, र प्लाष्टिकजन्य उत्पादनहरूको प्रयोगले हावा, माटो, र पानीमा विषाक्त पदार्थहरूको मात्रा बढाउँछ । कारखानाबाट निस्कने धुवाँले वायुमण्डललाई प्रदूषित बनाउँछ । यसबाहेक, प्लाष्टिकको अत्यधिक प्रयोग र यसलाई नष्ट गर्ने प्रभावकारी उपायको अभावले वातावरण विनासमा ठूलो भूमिका खेलेको छ । जलवायु परिवर्तन र हरितगृह ग्यास उत्सर्जन, प्रदूषण, कृषिमा रासायनिक पदार्थको अत्यधिक प्रयोग, जलस्रोतहरूको अत्यधिक दोहन, प्राकृतिक बासस्थानको विनास, जनसङ्ख्या वृद्धिलगायत पनि वातावरण विनासका कारण हुन् ।

वातावरण संरक्षण कसले गर्ने ? यसको सिधा जवाफ हुन्छ मानिसले । मानिसबीच पनि वातावरण संरक्षणको काममा लैंगिक रुपमा हेर्दा महिलाको भूमिका धेरै हुन्छ । महिलालाई केही सीप र शिक्षा दिने हो भने वातावरण विनास रोकिने र दिगो वातावरण संरक्षण हुने देखिन्छ । नेपाली समाजमा घरगोठ सम्हाल्ने अधिकांश महिला छन् । कृषिदेखि करेसाबारीसम्मको धेरै काम गर्ने महिला छन् । यही घरगोठ र कृषिको जिम्मेबारी सम्हाल्ने क्रममा धेरै प्राकृतिक स्रोतको उपयोग हुन्छ । प्राकृतिक स्रोतको दोहनले स्वच्छ वातावरण विनास भएको छ । कतिपय अवस्थामा खाना पकाउने इन्धनकै कारण वातावरण प्रदूषित भएको छ । वातावरण प्रदूषण हुँदा त्यसको असर पनि पुरुषको तुलनामा महिलालाई धेरै परेको छ । चाहे काठ, दाउरा वा भुसे चुल्होमा खाना बनाउँदा होस् चाहे काठ, दाउरा र घाँसपातको खोजीमा वनजङ्गलमा जाँदा वन्यजन्तुको आक्रमणमा परेर महिला नै धेरै प्रभावित भएका छन् । तिनै महिलालाई घरगोठ र कृषिको भूमिका निभाउँदा थोरै सीप सिकाए वातावरण स्वस्थ र स्वच्छ हुन्छ । सामान्य रुपमा हेरौं, घरभित्र कम पानी खर्चिदा, बिजुली बत्ती खेर नफाल्दा, दाउराको साटो वैकल्पिक ऊर्जा प्रयोग गर्दा, घर आसपासमा करेसाबारी र फूलबारी बनाउँदा, पशुको आहारका लागि वनजङ्गलका घाँसपात जथाभावी काट्नुको साटो वैकल्पिक व्यवस्था गर्दा वृक्षरोपण गर्दा प्राकृतिक स्रोत व्यवस्थापन हुन्छ भने वातावरणको संरक्षण हुन्छ ।

नेपाली समाजमा धेरै महिलाको जिम्मामा भान्सा छ । भान्सा सम्हाल्दा खाना, पानी र इन्धनको जोहो महिला आफैँले गर्नुपर्छ । खाना बनाउने इन्धनका रुपमा अहिले पनि धेरै काठ, दाउराको प्रयोग हुन्छ । दाउराका लागि काठको सट्टा विद्युतीय चुल्हो, ग्यास वा गोबरग्यास प्रयोग गर्न सकिन्छ । यसले वनविनाश हुनबाट रोकिन्छ । भान्सामा प्रयोग हुने कुहिने र नकुहिने फोहोरको छुट्टै व्यवस्थापन गर्नसक्ने हो भने वातावरण प्रदूषण हुनबाट रोकिन्छ । कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउन सकिन्छ । जुन मल करेसाबारीमा प्रयोग हुन्छ । यसले माटोको जैविकता र उर्भरा शक्ति बढाउँछ । नकुहिने फोहोर धेरैको पनि वैकल्पिक प्रयोग गर्न सकिन्छ । जस्तो कि, भान्सामा प्रयोग हुने दूध, चाउचाउ, चिउरालगायतका प्लाष्टिकका खोलबाट ढकिया, कलम राख्ने होल्डर, ट्रेलगायत बनाउन सकिन्छ । थोरै सीप सिकाउने हो भने चकटी गुन्द्री बुन्ने महिलाले सजिलै प्लाष्टिकबाट सजाबटका सामग्री बनाउनेछन् । किनमेलमा प्लाष्टिकको साटो कागज वा कपडाको झोला प्रयोग गर्न सिकाए दीर्घकालिन रुपमा प्लाष्टिकको प्रयोग घटाउन सकिन्छ ।

हाम्रो समुदायमा व्यक्तिगतदेखि पारिवारिक र वातावरणीय सरसफाइको भूमिका पुरुषभन्दा महिलाकै काँधमा छ । खाना बनाउने, सरसफाइ गर्नेदेखि लुगा धुने काममा पानीको कम प्रयोग गर्दा र वर्षाको पानी सङ्कलन गरेर सदुपयोग गर्दा पानीको स्रोत जोगाउन सकिन्छ । नियमित रुपमा घर, आँगन र टोलको सरसफाइ गर्दा फोहर हुँदैन । फहोर नभए वातावरण प्रदूषित हँुदैन । सरसफाइले वातावरण स्वच्छ बनाउन सकिन्छ ।

अहिले पनि वनमा निर्भर हुने महिलाको सङ्ख्या धेरै छ । पशु चराउन जाने र घाँस दाउरा काट्ने धेरै महिला हुन्छन् । पशु आहाराका लागि जथाभावी जङ्गलमा घाँसस्याउला काट्नु साटो घाँसे खेती गर्न सिकाउन सकिन्छ । पशुचरणका लागि थोरै वा छुट्टै वन छुट्याउन पनि सकिन्छ । खाली जग्गामा वृक्षरोपण गर्न सकिन्छ । यसबाट घाँसपात सहजै उपलब्ध हुन्छ । आयमूलक बोटबिरुवा लगाउँदा महिलाको आम्दानी पनि बढ्छ । वन फडानी पनि रोकिन्छ । घर अगाडि वा आसपासमा रहेको खाली जग्गामा फूलबारी वा करेसावारी बनाउन सकिन्छ । यसले घरआँगनको वातावरण स्वस्थ, मनमोहक र हरियाली बनाउछ ।

कृषिमा संलग्न महिलाहरुले खेतीपातीका क्रममा पनि थोरै ध्यान दिंदा वातावरण जोगाउन सकिन्छ । जथाभावी रसायनिक मलको प्रयोग गर्नु साटो कम्पोष्ट मल प्रयोग गरे माटो र जैविक विविधताको संरक्षण हुन्छ । विषादीको कम प्रयोगले माटोमा जैविकता बचाउन सकिन्छ । भूमिगत पानीको अत्यधिक दोहनले जलको उपलब्धता घटाउने र कृषि क्षेत्रमा जल अभाव बढाउँछ । यसका कारण जमिनमुनिको पानीको सतह तल जान्छ र भू–क्षयको खतरा पनि बढ्छ । जैविक खेतीसँगै उन्नत सिँचाइ प्रणालीको सुविधा बढाउनसके वातावरणीय संरक्षणमा सघाउछ । स्थानीय उत्पादन बढाए लामो दूरीबाट खाद्यसामग्री ल्याउने ढुवानी रोक्न र धुँवा प्रदूषण हुनबाट बचाउन एवं कार्बन उत्सर्जन कम गर्न सकिन्छ ।

निष्कर्षमा भन्नुपर्दा जल, जमिन र हावालाई प्रदूषणमुक्त बनाउनु र प्राकृतिक स्रोतहरुको संरक्षण गर्नु वातावरण संरक्षण गर्नु हो । गृहस्थ जीवनमा धेरै महिला भएका कारण वातावरण संरक्षणमा महिलाको प्रत्यक्ष संलग्नता र भूमिका हुन्छ । घर गृहस्थ सम्हाल्दा पानी, ऊर्जा र खाद्य स्रोतको प्रयोग धेरै पुरुषभन्दा महिलाले गर्छन् । यिनको व्यवस्थापन र वचत विधि सिकाउने हो भने स्रोतको खपत र सदुपयोग बढ्छ । खेतीपातीमा जथाभावी रसायनिक मल र विषादी कम गर्नसके जैविक विविधता बचाउन सकिन्छ । सामाग्रीको पुनःप्रयोग, फोहोर व्यवस्थापन र कम प्रदूषक पदार्थको प्रयोग गर्न सिके वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छ । वन व्यवस्थापन र संरक्षणमा पुरुषभन्दा धेरै महिला छन् । प्राकृतिक स्रोत वनको दिगो व्यवस्थापन गरे कार्बन सञ्चतीकरण गर्न सकिन्छ ।

सबैभन्दा ठूलो कुरा वातावरण संरक्षणसम्बन्धी नीति र कार्यक्रम तर्जुमामा महिला सहभागिता बढाउनुपर्छ । अहिले तीन तहका सरकार छन् । स्थानीय तहका वडादेखि प्रदेश र सङ्घीय सरकारका नीति र योजना तर्जुमामा महिला सहभागिता बढाउनुपर्छ । योजनाहरुलाई लैंगिक उत्तरदायी बनाउनुपर्छ । समूदाय र गैरसरकारी सङ्घसस्थाले गरेका वातावरणीय संरक्षण र कार्यान्वयनमा महिलालाई अग्रसर बनाउनुपर्छ । समुदायमा आधारित वातावरणीय परियोजनामा महिला नेतृत्व बढाएर वातावरण संरक्षणका लाभ र फाइदामा प्रत्यक्षरुपमा सहभागी बनाउनुपर्छ । वातावरण संरक्षण नीतिमार्फत महिला सशक्तीकरण र लैंगिक समानता प्रवद्धन गर्नसके वातावरण संरक्षणमा दिगो प्रभाव पर्ने छ भने महिला नेतृत्व र रोजगारी प्रवद्र्धनमा पनि सहयोग पुग्नेछ । वातावरणीय व्यवस्थापन र संरक्षण कुरामा होइन, व्यवहारमा देखिनछ । अब वातावरण विनास रोकी दिगो वातावरण संरक्षण गर्न गाउँदेखि सहरसम्मका महिला जुट्न आवश्यक छ । वातावरणीय मुद्दालाई लैङ्गिक र महिलामैत्री बनाउनुपर्छ । टोलटोलका महिलालाई वातावरणीय विनाश रोकी वातावरण संरक्षण गर्ने विधि सिकाउन आवश्यक छ । गृहस्थ जिम्मेवारी निभाउने महिलाले भान्सादेखि गोठसम्म र खेतबारीदेखि वनपाखासम्मका क्रियाकलापमा स्रोतको समुचित प्रयोग गर्ने र प्रदूषण कम प्रविधि प्रयोग गर्न सकिन्छ । (लेखक पत्रकार हुनुहुन्छ)

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  १२ : ३४ बजे