बुटवल नारायणगढ राजमार्गको ‘‘सुझावपत्र’’ प्रधानमन्त्रीलाई

प्रधानमन्त्री केपी ओली ज्यू !

म बबुरो र दुखीआत्मा “बुटवल-नारायणगढ राजमार्ग'”को नमस्ते !

तपाई त्यहाँ पक्कै पनि सन्चै हुनुहोला ।  म त यहाँ विगत पाँच वर्षदेखि सिकिस्त बिरामी छु । तपाई बालुवाटारमा हुनुहुन्छ, म धुलोटार, खाल्डाखुल्डी टार र ज्यानजोखिमटारमा बडो सकसपूर्ण अवस्थामा छु ।  अँ, अस्ति तिहारमा एक जना प्राध्यापक यात्रु आफ्ना आफन्तको स्कोडा कारमा चढेर यसै राजमार्गबाट बुटवल जान हिँड्नुभएको रहेछ । उहाँ चढेको कार उहाँहरूसँग रिसाएर आगोझैँ तातेको रहेछ “मलाई यो नर्कको बाटो मलाई किन ल्याइस् ? यो बाटो बनाउन हैन, यसको म्याद थपी थपी कमिसन कुम्ल्याउन बदमासहरूले यस राजमार्गको अनुहार चिथोरेर यो गति बनाएका हुन्” भन्दै बाझेको देखेपछि मैले तिनै यात्रुमार्फत मेरो दुरवस्था बताउन र मिसन चौरासीमा यहाँहरूलाई मत दिने मतदाताको मन भाँचिन नदिन यो पत्र पठाइरहेको छु ।   

केपी ओलीज्यू ! तपाई नै प्रधानमन्त्री नै भएको बखत जस्तो लाग्छ,  मेरो सानो दुईलेनको पुरानो जिउको अपरेसन गरेर चार लेनको ठुलो र नयाँ जिउ बनाउने भनेर त्यतिबेला चाइनास्टेट कंस्ट्रक्शन इंजीनियरिंग कॉर्पोरेशनसँग सम्झौता गरिएको हो र त्यस सम्झौतामा जुलाई २०२२ सम्म सो कार्य सम्पन्न गरिसक्ने भन्ने सर्तसमेत राखिएको थियो । म त्यतिबेला अझ ठुलो र हेन्डसम हुने र चिटिक्क पर्ने भएँ भनेर गदगद भएको थिएँ । तपाईँको विकासप्रतिको प्रतिबद्धता र अठोटका कारण म दुईवर्षमै चिटिक्क भैसक्छु भन्ने पनि लागेको थियो ! तर कोभिड महामारी आदिका कारण मेरो म्याद पुनः थपेर २०२४ जुलाई २२ मा सक्नै पर्ने भनेर समयसीमा तोकिएको थियो । आज त्यो सीमा पनि सकिएपछि पुनः तेस्रोपल्ट म्याद थपेर २०२५ जुलाईको समयसीमा तोकिएको रहेछ ।

अं अस्ति तपाई चन्द्रागिरिमा गएर एउटा कविता लेख्नुभएछ । राससले बडो हाइलाइट गरेर “केपी ओली यसरी चन्द्रागिरिमा पोखिए” भन्दै न्युज बनाएछ । म बुटवल नारायणगढ राजमार्गले जब त्यो कविता पढेँ, त्यस कविताले तपाईलाई समेत ठूलो व्यङ्ग्य गरेझैँ मलाई लाग्यो ।

हुनत तपाई कविहृदय भएको व्यक्ति हो तर तपाईको यो समय यस्ता कविता लेखेर समय बर्बाद गर्ने बेला पटक्कै होइन । मेरो विनम्र अनुरोध छ,  प्रधानमन्त्री रहुन्जेल कविता लेख्ने काम कविहरूका जिम्मा छडिदिनुस् र विकासका प्रतिबद्धता र कुरालाई यथार्थ र काममा अनुवाद गर्नतिर लाग्नुस् । प्रधानमन्त्रीको भारी बिसाएपछि कविताका लागि कलम उठाउनुहोला ।

हैन, जिद्दी नै गर्नुहुन्छ र कविता नलेखी धीत नै मर्दैन भने बरु मेरो (बुटवल नारायणगढ राजमार्गको) दाउन्ने देवीको मन्दिरनजिकै बसेर कविता लेखिदिनू । कम्तीमा यहाँ आएर कविता लेखिदिनुभयो भने मेरो हरिबिजोगको कारुणिक कविता पो हजुरको लेखनीबाट प्रवाहित हुन्थ्यो कि ? म अब थपिएको म्यादभित्र सम्पन्न हुन पो सक्थेँ कि !

प्रधानमन्त्री केपी ओलीज्यू !

यो काम यति विलम्ब होला यति लामो समयसम्म मैले यो दुर्गति भोग्नुपर्ला भन्ने सपनामा पनि सोचेको थिइन । यति संवदेनशील ठाउँमा बाटो सक्नुका सट्टा पटकपटक म्याद थपेर कसले कहाँबाट किन कसरी र कस्का स्वार्थमा  यो हरिबिजोग गराउने काम गर्यो ? बर्खामासमा यात्रुले भोग्नुपरेको बिचल्ली अझ कति दिन भोग्नुपर्ने हो । समय र परिस्थितिले अहिले तपाई प्रधानमन्त्री हुनुहुन्छ, भौतिक योजनामन्त्री पनि तपाईकै प्रियपात्र हुनुहुन्छ र अर्थमन्त्री पनि बुटवल-नारायणगढ राजमार्गसँग नसा जोडिएको व्यक्ति नै हुनुहुन्छ । गठबन्धन पनि बलियो र सशक्त नै छ । अब तपाईको कार्यकालमा र विशेष गरी आउने वर्खामा कम्तीमा दुइटा ट्र्याक सम्म भएपनि तपाईले सक्न लगाउनैपर्छ । आउने बर्खामा मेरो( बुटवल नारायणगढ राजमार्गको) छातीमा यात्रुहरू रोदन, बालबालिकाहरूको क्रन्दन, बिरामीहरूको अकालमृत्यु सुन्न र देख्न नपरोस् भन्ने मेरो विनम्र अनुरोध छ ।  

अँ, मेरा केही गम्भीर प्रश्न पनि छन् तीमध्ये केही राख्न चाहन्छु ! मेरो यथास्थितिमा रहेको दुई लेनलाई एकैचोटि भत्काउनु किन पर्याथ्यो ? त्यो लेन यथास्थितिमा राखेर बाटो बनाउने काम किन भएन ? चारलेनको बाटोमा दुईलेन बनाएर त्यो बाटो सकेपछि अर्को दुई लेन बनाउन लगाएको भए के हुन्थ्यो ? मेरो यो कन्तबिजोग बनाउने को हो ? यसमा ककस्को कुनकुन स्वार्थले काम गरेको छ ? यसबारे तपाईले गम्भीर मनन गर्नैपर्छ ।

अँ केपी ओलीज्यू, तपाईलाई स्मरण रहोस् ! नेपालका सबै राजमार्ग हरूमध्ये अतिव्यस्त र प्रतिदिन हजारौँ सवारीसाधन गुड्ने राजमार्ग हुँ म । मेरो बाटोबाट यात्रा गर्ने यात्रुले यात्रा अवधिभर यो देशको सरकार र त्यसको सरकार प्रमुखलाई सरापेको सुनिरहेँछु र धारे हात लाएको देखिरहेछु । यस आधारमा म(राजमार्ग)मा प्रतिदिन लाखौँ यात्रुहरू ओहोरदोहोर गर्छन् र तिनले प्रत्येक पटक यो देशमा कि त सरकार नै नभएको देश अनुभूत गर्छन् र कि त सरकारलाई कमिसनखोर र निकम्मा भन्छन्। जब त्यसो भन्नेमा आधाजति जति तपाईँकै मतदाता देख्छु म, तब मलाई तपाईँकै मिसन चौरासीको चिन्ता लागेर आउँछ ।  

तपाईँ यो कुरालाई गम्भीरतापूर्वक लिनोस्, कविता लेख्न मन लागे दाउन्ने आउनोस्, कैलेकाहिँ दुम्कीबासमा मन्त्रिपरिषद् बैठक डाक्नोस्, थुम्सीको ढिँडो खाँदै कहिलेकाहिँ यतै पत्रकार सम्मेलन गर्नोस् । हो, अहिले आलोपालो सिद्धान्तअनुसार प्रधानमन्त्री बन्नुभएको छ तपाई । उहिले दुइतिहाइ हाराहारीका तपाईँका पालामा बनाउन सुरु गरेको भनूँ कि भत्काउन सुरु गरेको भनूँ कृपया यसलाई तुरुन्त बनाउन युद्धस्तरमा पहल गर्नुस् ।  यात्रुहरूले सास्ती नभोग्ने गरी मेरो रूप बन्नैपर्छ, मेरो आकृतिनिर्माण दुईलेनमा भए पनि तपाईकै पालामा सम्पन्न हुनैपर्छ, कृपया यस्मा तर, किन्तु, त्यसकारण जस्ता तर्क नतेर्स्याई  मलाई आपातकालीन राजमार्ग घोषणा गरेर भए पनि सन् २०२५को जुलाईभित्र तपाईले सक्नैपर्छ भन्ने सविनय सुझाव दिन चाहन्छु ।  

तपाईले मुहार फेर्न खोजेको

उही

बुटवल नारायणगढ राजमार्ग

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  २ : ३६ बजे