विनोद चौधरीको पद खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विजयी विनोद चौधरीलाई पदमुक्त गर्नुपर्ने मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ ।

सिराहा क्षेत्र–३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय समिति सदस्यमा विजयी हुनुभएका चौधरीले क्रियाशील सदस्यता लिएको १० वर्ष नपुगेको कारण देखाउँदै उम्मेदवार नै हुन नपाउने व्यक्ति विजयी भएको भन्दै आयोग समक्ष पदमुक्तको माग गर्नुभएको हो  ।

सानेपास्थित निर्वाचन समितिलाई मौखिक रूपमा पटक पटकभन्दा पनि सुनवाइ नभएको उल्लेख गर्दै राजनीतिक दलसबन्धी ऐनलाई समेत जोडेर गत महाधिवेशनमा खुला मधेसीतर्फ छैटौँ स्थानको मत प्राप्त गरेका यादवले चौधरीलाई पदमुक्त गर्न आयोगमा निवेदन दिनुभएको हो ।

चौधरीलाई पदमुक्त गरी सो स्थानमा आफूलाई विजयी भएको मान्यता दिन पनि डा.यादवको माग छ ।

काँग्रेसको विधान, २०१७ को परिच्छेद ७ दफा २१ (८) मा १० वर्ष निरन्तर नेपाली काँग्रेसको क्रियाशील सदस्य भएको महाधिवेशन प्रतिनिधिबाट चार महिलासहित ९ जना मधेसी केन्द्रीय सदस्य रहने व्यवस्था रहेको सन्दर्भ उल्लेख गर्दै उजुरीमा भन्नुभएको छ , “मधेसी खुल्ला पदमा निर्वाचित भएको भनिएको विनोद चौधरी नेपाली काँग्रेसमा निरन्तर १० वर्ष क्रियाशील सदस्य नभएको निज २०७४ सालमा मात्र नेपाली काँग्रेसमा प्रवेश गरेकोले निजको केन्द्रीय सदस्यमा उम्मेदवार नै हुन नपाउने स्पष्टै छ ।” उहाँ चौधरीसँग पराजित हुनुभएको थियो । 

“नेपाली काँग्रेसको विधान विपरीत निर्वाचित भनिएको चौधरीको सम्बन्धमा काँग्रेस केन्द्रीय कार्यालय र काँग्रेस केन्द्रीय निर्वाचन समितिमा उजुरी गर्दा पनि कुनै सुनुवाइ नगरेबाट राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४, १५, १७, ५७ समेतको आधारमा प्रस्तुत उजुर निवेदन पत्र पेस गरेको छु”,  यादवले उजुरीमा उल्लेख गर्नुभएको छ । 

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  १० : ४१ बजे