‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सिद्धार्थको महाभिनिष्क्रमण : ज्ञानको खोजीमा राजपाट परित्याग

हामीले भगवान् सिद्धार्थ गौतम अर्थात् गौतम बुद्धको महाभिनिष्क्रमणबारे सुनेका छौँ । यसका कारणबारे सानो चर्चा गरौँ । बौद्ध ग्रन्थहरूमा बुद्धको महाभिनिष्क्रमणका आन्तरिक र बाह्य गरी दुई मुख्य कारणको चर्चा रहेको पाइन्छ । 

आन्तरिक कारण : युवराज सिद्धार्थ सानैदेखि कौशल, विचारले सफल थिए । उनको यश शाक्य गणराज्य र पुरै भारत वर्षभरि फैलिँदो थियो । यस कारण उनका ज्येष्ठ देवदत्तभित्र सिद्धार्थप्रति द्वेष रहेको थियो । देवदत्तकी आमा मङ्गलाले आफ्नै छोरालाई राजा बनाउने चाहनाका कारण दरबारभित्रै भइरहेको षड्यन्त्र पाइलैपिच्छे देखिन्थ्यो । 

रोहिणी नदीको पानीका कारण कोलिय गणराज्यका किसान र शाक्य गणराज्यका किसानबीच बेला बेलामा हुने झगडाले आफ्नै ससुरा कोलिय राजा दण्डपानी पनि शुद्धोधनलाई कमजोर बनाउने कौशलका राजा प्रसेनजितसँग मिलेर युद्ध गराउने, अपमानित गराउने खेलमा लाग्ने गरेका थिए । एउटा कारण यो थियो ।

बाह्य कारण : कौशल र कपिलवस्तुबीच भएको युद्धमा कपिलवस्तुसँग पराजित भएका कौशल राजा प्रसेनजितले प्रतिशोध लिन चाहेका कारण युद्धको सङ्कट मडारिइरहेको थियो, जुन युद्ध सिद्धार्थलाई कहिल्यै मन परेको थिएन । युद्धको समाधानका लागि सिद्धार्थ गौतमले एक शाक्य सभामा नयाँ विकल्प निकाल्नु भएको थियो । मगधको पश्चिमी व्यापारिक मार्ग कौशल राज्य भएर जान्छ यदि मगध सम्राट् बिम्बिसारसँग सम्झौता गरी त्यो व्यापारिक मार्ग कोलिय र शाक्य राज्य भएर जाने गरी बनाउन सकेमा सो मार्गमा व्यापारीहरूको सुरक्षार्थ मगधका सेना सधैँ आउजाउ गर्ने छन् । यसले कौशल सेनाले कपिलवस्तुमाथि आक्रमण गर्न साहस गर्नेछैन भन्ने विकल्प सिद्धार्थले प्रस्तुत गरेको विकल्प थियो । त्यो मार्ग पनि कौशल राज्यको मार्गभन्दा छोटो हुने हुँदा ढुवानी लागत पनि घट्न सक्ने छ । शाक्य र  कोलिय मिलेर बरु बाटोमा पर्ने खोलानालामा पुलहरू निर्माण गरिदिनुपर्छ । 

सिद्धार्थको यो प्रस्ताव शाक्य सभालाई उचित लाग्यो र पारित पनि ग¥यो । तर बिम्बिसारसँग कुरा कसले गर्ने ? भन्ने प्रश्न उठेको थियो । त्यसमा पनि सिद्धार्थ आफैले अग्रसरता देखाउनु भयो । उहाँ मगध जानका लागि सेना लिएर नगई उत्तर पहाडी क्षेत्र भएर मगध पुग्नु भयो । उहाँले बिम्बिसार समक्ष सो प्रस्ताव राख्नु भयो । त्यो प्रस्ताव सुनेर बिम्बिसार साह्रै खुसी हुनु भए र उनले सिद्धार्थको शिर समेत चुमे । यस्तो शान्तिको प्रस्ताव कुनै राज्यले ल्याउन सकेका थिएनन् । यति सानो उमेरमा यस्तो प्रस्ताव राखेका सिद्धार्थप्रति अत्यन्तै प्रभावित भए । 

सिद्धार्थले बिम्बिसारसँग सम्झौता गरेर फर्कन नपाउँदै कपिलवस्तु माथि प्रसेनजितले आक्रमण गरिसकेका थिए । तर सम्झौता हुने बित्तिकै मगध सेना कपिलवस्तुमा सहायता दिन आइपुग्यो र कपिलवस्तुबाट प्रसेनजितको सेना पछाडि हट्न बाध्य भएको थियो । सिद्धार्थ फर्कँदा बाटोमा मानिसहरू छटपटाइरहेका घाइतेहरू तथा मृतकका लाश देख्नुभयो । यस्तो रतmपात देखेर उहाँ अत्यन्त मर्माहत हुनु भयो । पछि कपिलवस्तु राज्य सभाको बैठक बस्यो । मगध सेनाले कपिलवस्तु सेनालाई सहयोग गर्ने भनेर थाहा पाउने बित्तिकै सभाले कौशल राज्यमाथि प्रत्याक्रमण गर्ने निर्णय लियो । यो निर्णय सिद्धार्थलाई मान्य थिएन । 

अर्कोतिर, सिद्धार्थ सन्यासी बन्छन् भनेर ज्योतिषीले गरेको भविष्यवाणीबाट सधैँ डराउने शुद्धोधनले कपिलवस्तुका सबै बुढा—पाका, रोगी, अपाङ्गहरूलाई पहाडी क्षेत्रमा लगेर नयाँ नगरी बनाई उनीहरू त्यतै राखी उनीहरूको पालन—पोषण गर्ने योजना बनाएका थिए । सोही योजना अनुसार नयाँ नगरीमा नगर भित्रका सबै बुढा—पाका, रोगी र अपाङ्गहरूलाई लगेर राखिएको थियो । उनीहरू आफ्नो परिवारबाट छुट्टिनु परेका कारण धेरै दुःखी थिए । 

सिद्धार्थलाई एक पटक त्यो नयाँ नगरीमा जाने मौका मिल्यो । सिद्धार्थ त्यहाँ पुग्दा सबै बुढा—पाका र रोगीहरूले सिद्धार्थलाई आरोप लगाए कि हामीहरू आफ्नो परिवारबाट छुट्टिएर बस्न पर्नुको कारण सिद्धार्थ जन्मनु हो । यदि सिद्धार्थ नजन्मेको भए राजा शुद्धोधनले हाम्रो यस्तो दुर्दशा गर्ने थिएनन् । यस्तो अवस्था सबैको हुँदो रहेछ भन्ने कुरा युवराज सिद्धार्थ सोही नयाँ नगरीमा थाहा पाउनु भयो । उनको मनमा झन् वैराग्य उत्पन्न भयो । यो के कति कारणले हुन्छ ? त्यो प्रश्नको उत्तर उनी जान्न चाहन्थे । तर त्यसको उत्तर कुनै पण्डित, ऋषि मुनिसँग थिएन । त्यस कारण वहाँले ज्ञानको खोजी गर्नु नै पर्छ भन्ने दृढ निश्चय गर्नुभयो । महाभिनिष्क्रमणका यी दुई कारणहरू हुन् ।  

ज्ञानको खोजी:– ई.पू. ५३४– ई.पू. ५२८ सम्म
ज्ञानको खोजीमा महाभिनिष्क्रमण गरेका (दरबारबाट निस्केका) सिद्धार्थ त्यसै रात तीस योजन हिँडेर अनोमा नदीको किनारमा पुग्नु भयो । वहाँले आफ्ना अमूल्य गहना र वस्त्र सारथी छन्नालाई दिनुभयो । तरबारले आफ्नो कपाल आफै मुण्डन गरेर प्रव्रजित हुनुभयो । कन्थक घोडाले सिद्धार्थको वियोग सहन सकेन र त्यहीँ म¥यो । सिङ्गो कपिलवस्तु शोकको सागरमा डुब्यो । सिद्धार्थको यात्रा मल्लहरूको अनुप्रियाबाट राजगृहतर्फ सोझियो । त्यहाँ बिम्बिसारले वहाँलाई राज्य नै सुम्पिन तयार भए । तर सिद्धार्थका लागि ज्ञानको तुलनामा मगधको सिंहासन निकै तुच्छ  थियो ।  

तपस्वी भेषमा ज्ञानको खोजी गर्दै भिक्षु सिद्धार्थले ब्राह्मण, साधुहरू, साक्या, पद्मा, रेवत, भार्गव, वशिष्ठजस्ता गुरुहरूको सङ्गत गर्नुभयो । खोजकै क्रममा वैशाली महानगरमा रहेका गुरु आराड–कालाम, समाधिको उच्चस्तरको ज्ञान पाएका गुरु उद्दक रामपुत्रबाट पनि समाधिका उच्चस्तरहरू हासिल गर्नुभयो । सिद्धार्थलाई दुःखबाट मुक्त हुनु थियो, अरूलाई पनि मुक्तिको बारेमा सिकाउनु थियो । यी कुनै पनि मार्गले दुःखको स्थायी समाधान हुने कुरामा सिद्धार्थ विश्वस्त हुन सक्नुभएन । अब मुक्तिको लागि आफैले साधना गर्नुपर्ने भयो । त्यसका लागि उहाँले ६ वर्षसम्म दुष्कर चर्याको अभ्यास गर्नुभयो । उहाँले आफ्नो शरीरलाई यतिसम्म नियमन गर्नुभयो कि त्यो अस्थिपञ्जरमा परिणत भइसकेको थियो । तर त्यो विमुक्तिको मार्ग थिएन । वीणाको तार धेरै तन्काइयो भने छिन्छ । धेरै खुकुलो गरिए धुन निस्किँदैन । वहाँले देख्नु भयो। यो नियम जीवनमा पनि त लागू हुँदो रहेछ । यो दृश्यको प्रभावले विचार परिवर्तन गर्नुभयो । सिद्धार्थले मध्यम मार्ग अपनाउने निश्चय गर्नुभयो । उहाँले दुष्कर चर्या छोड्नुभयो । उहाँले व्यावहारिक मध्यम मार्ग अपनाएपछि वहाँका पाँच साथीहरूले वहाँलाई छोड्नु भयो । क्रमशः

(लेखक अध्येता तथा अभियन्ता हुनुहुन्छ । पत्रकारिता गर्नुहुन्छ ।)

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  १० : ३० बजे