डोनल्ड ट्रम्पको ह्वाइट हाउस पुनरागमले संयुक्त राज्य अमेरिकाको विदेशनीतिलाई नयाँ आकार दिने छ। संसारका विभिन्न स्थानमा युद्ध तथा अनिश्चतता कायम रहेका बेला धेरै क्षेत्रमा त्यस्तो नयाँ विदेशनीतिका कारण आमूल परिवर्तन समेत हुन सक्छ।
चुनाव प्रचारका क्रममा ट्रम्पले आफ्ना नीतिहरूका बारे विस्तृत प्रतिबद्धताहरू व्यक्त गरेका थिए। तीमध्ये धेरैमा खास विवरणहरू हुँदैनथे। तर ती सबैको आधार उनले भन्ने गरेको “पहिले अमेरिका” नीति नै हो र ती गैरहस्तक्षेपवाद र संरक्षणवाद भन्न सकिने सिद्धान्तहरूमा आधारित छन्।
अब उनको विजयले धेरै वर्षदेखि जारी समानान्तर सङ्कटहरूका माझ विदेशनीतिलाई अघि बढाउने वाशिङ्टनको कदममा सबैभन्दा उल्लेखनीय परिवर्तनको सङ्केत गर्छ।
उनले चुनाव प्रचारका बेला दिएका अभिव्यक्ति र सन् २०१७ देखि २०२१ सम्मको उनको राष्ट्रपतीय कार्यकालमा भएका कामहरूको आधारमा उनको सम्भावित आगामी कदमबारे अनुमान गर्न सकिन्छ।
रुस, युक्रेन र नेटो
चुनाव प्रचारका बेला ट्रम्पले बारम्बार आफूले “एकैदिनमा” रुस र युक्रेनबीचको लडाइँ अन्त्य गरिदिन सक्ने बताउने गरेका थिए। त्यो कसरी सम्भव छ भनेर प्रश्न सोधिँदा उनले खास उपायहरू नबताईकन उनी कुनै विशेष प्रकृतिको सम्झौता गर्न सकिने उत्तर दिन्थे।
ट्रम्पका दुई भूतपूर्व राष्ट्रिय सुरक्षा प्रमुखहरूले गत मे महिनामा तयार पारेका एउटा अध्ययन प्रतिवेदनमा अमेरिकाले युक्रेनलाई दिँदै आएको अस्त्र सहयोगलाई निरन्तरता नै दिने तर किएभ रुससँग शान्तिवार्ता गर्न तयार हुनुपर्ने सर्तमा मात्रै त्यस्तो सहयोग दिइनुपर्ने उल्लेख गरिएको छ।
रुसलाई उत्प्रेरित गर्न पश्चिमले युक्रेनले उच्च चाहना राखेको नेटोको सदस्यतामा केही ढिलाइ गरिने प्रतिबद्धता व्यक्त गर्न सक्छ।
उनका भूतपूर्व सल्लाहकारहरूका अनुसार युक्रेनले आफूले गुमाएको सबै भूभाग फिर्ता पाउने आशा परित्याग गर्नुपर्दैन तर वार्ताको आरम्भ अहिले कायम मोर्चाहरूका आधारमा गर्न सकिन्छ।
ट्रम्पलाई भ्लादिमिर पुटिनसँग मिलोमतो गर्ने आरोप लगाउने उनका डेमोक्र्याट विपक्षीहरूले उनको कदम युक्रेनको हकमा आत्मसमपर्ण गरे सरह हुने र त्यसबाट समग्र युरोपलाई नै सङ्कटमा पार्ने बताउने गरेका छन्।
उनले निरन्तर रूपमा आफ्नो प्राथमिकता युद्धको अन्त्य र अमेरिकी स्रोतसाधनमा त्यसको प्रभावलाई नियन्त्रण गर्ने गरेको बताउँदै आएका छन्।
ट्रम्पका भूतपूर्व सल्लाहकारहरूको प्रतिवेदनले ट्रम्प स्वयंका विचारलाई कुन हदसम्म प्रतिबिम्बित गर्छ भन्ने स्पष्ट छैन। तर त्यसबाट उनले कस्तो प्रकृतिको सुझाव र सल्लाह प्राप्त गरिरहेका छन् भन्ने आकलन भने गर्न सकिन्छ।
युद्ध अन्त्य गर्ने दिशामा उनको “पहिले अमेरिका” भन्ने नीति नेटोको भविष्यजस्तो रणनीतिक मुद्दामा समेत जोडिन्छ। नेटो आन्ध्र महासागर वारपारका देशहरूबीचको “एकका-लागि-सबै र सबैका-लागि-एक” सिद्धान्त बोकेको सैन्य गठबन्धन हो।
नेटो दोस्रो विश्वयुद्धपछि तात्कालिक सोभियत सङ्घविरुद्ध स्थापना भएको थियो। नेटोमा ३० राष्ट्र सदस्य छन् र ट्रम्प लामो समयदेखि नै उक्त गठबन्धनको आलोचक रहँदै आएका छन्। उनले युरोपलाई उनीहरूको सुरक्षा गरिदिने अमेरिकी प्रतिबद्धताको निःशुल्क फाइदा लिँदै आएको आरोप लगाउने गर्छन्।
मध्यपूर्व
युक्रेनको विषयमा जस्तै ट्रम्पले मध्यपूर्वमा पनि “शान्ति” ल्याउने वचन दिएका छन्। उनले गाजामा इजरेल-हमास र लेबननमा इजरेल-हिज्बुल्लाह युद्ध अन्त्य गर्न सङ्केत गरेको देखिन्छ। तर त्यो कसरी गर्ने भनेर चाहिँ उनले केही पनि बताएका छैनन्।
उनले बारम्बार भन्ने गरेको कुरा के हो भने जो बाइडनको ठाउँमा आफू राष्ट्रपति भएको भए उनको इरानप्रतिको “उच्चतम दबाव” को नीतिका कारण उक्त देशबाट आर्थिक सहायता प्राप्त गर्ने हमासले इजरेलमाथि हमला नै गर्ने थिएन।
ट्रम्प आफूले भनेको त्यस्तो नीतिमा फेरि जान सक्छन्। पहिलो कार्यकालमा उनको प्रशासनले इरानसँगको परमाणु सम्झौताबाट अमेरिकालाई अलग्ग्याएको थियो, इरानमाथि थप ठूला प्रतिबन्धहरू लगाएको थियो र इरानका सबैभन्दा शक्तिशाली सैनिक कमान्डर जेनरल कासेम सुलेमानीलाई मारिदिएको थियो।
ट्रम्पले गाजा युद्ध अन्त्य गर्न चाहेको भनेर भाषण गरेका थिए। उनको इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूसँग जटिल र कुनै बेला अप्रभावकारी समेत देखिने सम्बन्ध रहिआएको छ। तर निश्चय नै उनीसँग नेतन्याहूमाथि दबाव बढाउन सक्ने क्षमता छ।
उनको हमाससँग सम्पर्क भएका केही महत्त्वपूर्ण अरब देशहरूसँग बलियो सम्बन्ध रहेको इतिहास पनि छ।
उनले इजरेली नेतृत्वप्रति आफ्नो बलियो सम्बन्ध रहेको देखाउने चाहनालाई कायमै राख्दै युद्धको पनि अन्त्य गर्ने कार्यलाई कसरी मूर्त रूप दिने छन् भन्ने हाल स्पष्ट भइसकेको छैन।
चीनसँगको व्यापार
अमेरिकाको चीनसँगको सम्बन्ध उसको विदेशनीतिको सबैभन्दा महत्त्वपूर्ण रणनीतिक विषय हो। अनि त्यसको सबैभन्दा ठूलो असर विश्वव्यापी सुरक्षा र व्यापारमा पर्ने छ।
पहिलो कार्यकालमा ट्रम्पले चीनलाई “रणनीतिक प्रतिद्वन्द्वी” भनेका थिए र चीनबाट अमेरिका निर्यात हुने केही सामग्रीमा करहरू लागु गरेका थिए। त्यसको बदलामा चीनले पनि अमेरिकाबाट आफ्नो देशमा भित्रिने त्यस्तै वस्तुहरूमा कर लगाएको थियो।
ट्रम्पले चीनका राष्ट्रपति सी जिन्पिङलाई “प्रतिभाशाली” र “खतरनाक” तथा १. ४ अर्ब जनतालाई “फलामे मुट्ठी” कसेर नियन्त्रण गर्ने एक एकदमै प्रभावशाली नेता भन्दै प्रशंसा गरेका थिए। उनका विपक्षीहरूले “तानाशाह”हरूको प्रशंसा गर्ने ट्रम्पको स्वभाव भएको भनेर आलोचना पनि गरेका थिए।
वर्तमान बाइडन प्रशासनले अपनाएको चीनलाई नियन्त्रण गर्ने प्रयासमा अन्य क्षेत्रीय देशहरूसँग सुरक्षा साझेदारी गर्ने नीतिलाई नयाँ राष्ट्रपतिले अवलम्बन नगर्ने सम्भावना छ।
जलवायु परिवर्तन
जलवायु सङ्कटको मुद्दामा आयरल्यान्डकी भूतपूर्व राष्ट्रपति र संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार आयोगकी भूतपूर्व उच्चायुक्त मेरी रोबिन्सनका अनुसार “अमेरिकी निर्वाचन धेरै रूपमा प्रभावकारी” छ। उनी नेल्सन मन्डेलाले स्थापना गरेका विश्वनेताहरूको एउटा समूह ‘द एल्डर्स’की अध्यक्ष हुन्।
“त्यो उसका नागरिकहरूका लागि मात्रै नभएर समग्र विश्वका लागि नै महत्त्वपूर्ण छ किनभने जलवायु र प्राकृतिक सङ्कटको मुद्दा अत्यावश्यक विषय हो।”
“तापक्रमको डिग्रीको प्रत्येक सूक्ष्म अंशको पनि जलवायु परिवर्तनको सबैभन्दा खराब असरबाट जोगिन र मिल्टनजस्ता अति विनाशकारी आँधीबेहरी सामान्यजस्तै बन्न पुग्ने भविष्यको अवस्थालाई टार्नका लागि भूमिका हुन्छ,” उनले भनिन्।
बीबीसीकी लिस डुसेट भन्छिन्, जलवायु सङ्कटले निम्त्याएका सङ्कटकालीन अवस्थाको सामना गर्न बनाइएको वातावरणीय योजना र नीतिहरूलाई ट्रम्पले “संसारको सबैभन्दा ठूलो जालसाजी” भनेर आलोचना गरेका थिए।
उनले सन् २०१५ मा प्यारिस जलवायु सम्झौताबाट आफ्नो पहिलो कार्यकालमा अमेरिकालाई बाहिर निकालेको जस्तै कदम यो पटक पनि चाल्ने छन् भन्ने धेरैको अनुमान छ।
–बीबीसी
प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार ५ : १४ बजे
प्रतिक्रिया