एनपीएलको ट्रफी सार्वजनिक

रंगशालाको विरोध : हारको आक्रोश कि पशुचेतनाको उपज ?

हुन त अग्लो रुखलाई नै हावाले हान्ने गर्दछ । पोथ्राहरु त चुपचाप बस्ने न हो । यत्तिखेर नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि यस्तै भइरहेको भान हुन्छ । आखिर प्रधानमन्त्री माथि किन यस्तो भइरहेको छ त ? हो ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएको कुरा कतिपय व्यक्ति र राजनैतिक दललाई त्यतिखेरै चित्त बुझेको थिएन । दुई ठुला राजनैतिक दल मिलेर बनेको सरकार तानाशाह हुन्छ भन्ने तर्क उनीहरूको थियो ।

विगत तीन दशकदेखि बढीमा ढेडवर्ष, नभए ६/६ महिनामा सरकार परिवर्तन हुने रोगबाट कमसेकम देशले उन्मुक्ति पाउँछ, विकासले गति लिन्छ भनेर भन्नुको साटो उनीहरूले दुई ठुला दलहरू मिलेर बनेको स्थिर सरकारलाई लोकतन्त्र मास्न,अनेक काण्डबाट बच्न बनाइएको भनेर अनेक कुतर्कहरू पेस गरे ।

उसो त सामाजिक सञ्जालमा असनको मैमत्ता साँढेझैँ गाली, विरोध र कुतर्क गरेपछि ठुलो भइन्छ भनेर लाइक, कमेन्ट र भिर्वसको पछि कुद्ने अराजक तत्त्वको पनि हाम्रो समाजमा केही बोलवाला छ । अभिव्यक्ति स्वतन्त्रताको चिर हरण गर्न उद्धत यस्ता तत्त्वहरूलाई सरकारले कानुनी दायरामा ल्याउन सकिरहेको पनि छैन ।

हो एमाले–काग्रेंसको गठबन्धन पछि सरकार बाहिर पुगेका केही तत्त्व र सामाजिक सञ्जालको दुरुपयोग गर्न उद्धत तत्त्वहरू यत्तिखेर प्रधानमन्त्री केपी ओलीको विरुद्धमा छन् । यिनीहरूको काम भनेको वर्तमान प्रधानमन्त्री केपी ओलीले खोके पनि काम पाइनस् बुहारी पोख्दै उठाउँदै भन्ने उखान चरितार्थ हुने गरी आलोचना र विरोधका स्वरहरू उचाल्नु हो ।

साफ महिला फुटबलको अन्तिमदिन खेलाडीहरूको हौसला बढाउन रङ्गशाला पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली यिनीहरूकै निशानामा पर्नुभयो । अलोचनाको शब्द नपाएपछि यिनीहरूले मैत्रीपूर्णरुपमा भइरहेको खेलमा नेपालले व्यर्होनु परेको हारलाई प्रधानमन्त्रीको उपस्थितिसँग जोडेर आफ्नो वैचारिक दरिद्रता मात्र साबित गरेनन् अन्तर्राष्ट्रिय जगतमै राष्ट्रको बदनाम गराउने काम गर्न भ्याए । खेल हो हार जित स्वाभाविक हो । जीतमा खुसी र हारमा दुःखी हुनु मानविय स्वभाव नै हो । तर अप्रयाशित हारको जिम्मा प्रधानमन्त्रीपटि तेर्साएर गरिएको प्रायोजित प्रोप्रोगाण्डा पशु चेतनाकै उपज भएको कुरामा दुईमत छैन ।

खेल जित हारका अनेक कारणहरु हुन सक्छन् तर खेल हेर्न प्रधानमन्त्री पुगेकै कारण अलच्छिन लाग्याे र खेलमा हार व्यर्होनु पर्यो भन्ने तर्क पाखण्डी तर्क हो । यो त चेतना शुन्यताको पराकाष्ठ हो । याे नितान्त शाहाकारी समूह (पशु) काे प्रायोजित पाखन्ड पन हाे ।

रंगशालामा देखिएकाे वैचारिक दरिद्रताकाे यो हदसम्मको हर्कत आधुनिक चेतनशिल मानव समाजको लागि लज्जाको विषयसमेत हो ।

हो देशले सोचे जतिको प्रगतिको बाटो अझै पकड्न सकेको छैन । कतिपय काम कुरामा सरकारका केही कमीकमजोरी पनि होलान् । तिनीहरूको तर्कसँगत विरोध गर्नु लोकतन्त्रको सुन्दर पक्ष पनि हो । अनावश्यक विरोध,गाली बेइजती, र सामाजिक सञ्जालमा मच्चाइएको स्याँल हुइयाँको भने जति निन्दा गरे पनि अपुग नै हुन्छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  २ : ११ बजे