काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले छठ पर्व, २०८१ को पावन अवसरमा न्यायपूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
छठ पर्वका अवसरमा आज उहाँले जारी गर्नुभएको शुभकामना सन्देशमा विश्वभर रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको हो ।
“नेपाली विविध भाषा, धर्म, संस्कृति, परम्परा र चाडपर्वका धनी छौँ । हरेक समुदाय, जाति र क्षेत्रमा आफ्नो संस्कार एवं आस्थाअनुसार चाडपर्व मनाउनु र सबैको चाडपर्वलाई सम्मान गर्नु नेपालीको सांस्कृतिक विशेषता हो”, सन्देशमा भनिएको छ, “परिवारको कल्याण, सन्तान सुख र मनोकामना पूरा हुने विश्वाससाथ मनाइने यस पर्वले विविध जातजाति, भाषाभाषी र समुदायमा छरिएर रहेका नेपालीबीच सामाजिक–सांस्कृतिक सद्भाव, सहिष्णुता, भाइचारा र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्ने मैले विश्वास लिएको छु ।”
छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास रहेको छ । बिनाभेदभाव सम्पूर्ण प्राणीलाई समान शक्ति, ताप र प्रकाश दिने सूर्यको महिमालाई आत्मसात् गर्दै तन र मन लगाएर कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ दिएर यो चाड मनाइन्छ ।
प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार ६ : ४२ बजे
प्रतिक्रिया