एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालले थाइल्यान्डलाई पराजित गर्दै प्रतियोगतामा सुखद सुरुआत गरेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई)को द सेभेन क्रिकेट रंगशालामा सम्पन्न खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको उद्घाटन खेलमा सुखद सुरुआत गरेको हो ।

नेपालले प्रस्तुत गरेको एक सय तीन रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ३५ रनमै समेटियो । थाइल्यान्डका लागि अपिसरा सुवान्चोरथीले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि रचनाकुमारी चौधरी एक्लैले चार विकेट लिइन् भने कप्तान पूजा महतो र रिया शर्माले समान दुई/दुई विकेट लिइन् ।

त्यसैगरी, करिश्मा गुरुङ र मनिषाकुमारी उपाध्यायले समान एकरएक विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय दुई रनको योगफल तयार पारेको थियो । नेपालका लागि पूजा महतोले सर्वाधिक ३५ रनको योगदान दिइन् । उनले ४० बलमा तीन चौका र एक छक्काको मद्दतले ३५ रन जोडेकी हुन् ।

यसैगरी, सीमाना केसी र सोनी पाख्रिनले समान १९/१९ रन बनाइन् ।

थाइल्यान्डका लागि चारुकन साइमाले दुई तथा सुनिसा बोङ्कोडफोंगम्पाईले एक विकेट लिइन् ।

यही कात्तिक २९ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् ।

सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुनेछ । नेपालले भोलि आफ्नो दोस्रो खेल कुवेतसँग खेल्नेछ ।

विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १० : १३ बजे