सरकारलाई सफल बनाउन एमाले-कांग्रेसले बनायो ८ सदस्यीय संयन्त्र

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन आठ सदस्यीय संयन्त्र बनाएको छ ।

संयन्त्रको कार्यदलमा एमालेको तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल रहेका छन् भने कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखक र केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा रहेकी छन् ।

यसैगरी, मंगलबार बसको दुई दलीय संयन्त्रको कार्यदलको बैठकले कार्यदलको संयोजन दुई दलले एक/एक महिना पालैपालो गर्ने निर्णय गरेको छ । पहिलो महिना आजदेखि मंसिर २० सम्म नेपाली कांग्रेसका उपसभापति खड्काले कार्यदलको बैठकको संयोजन गर्नेछन् ।

यसैगरी, चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणामा आगामी डिसेम्बर महिनामा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको मित्र राष्ट्र चीनको औपचारिक भ्रमणको तयारीको संयोजन प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गर्ने निर्णय भएको छ । दुई नेताको निर्देशन अनुरुप संयन्त्रको कार्यदलले भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजिकरण गर्ने निर्णय भएको बताइएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ९ : २१ बजे