पोखरा । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप दश दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । सोही दिनदेखि गणना हुने गरी म्याद थप भएको हाे । म्याद कात्तिक १४ गते सकिएपनि तिहार बिदा भएकाले आज म्याद थपका लागि अदालत उपस्थित गराइएको हो ।
आज कास्की जिल्ला अदालतले तेस्रो पटक म्याद थप गर्दै लामिछानेलाई थप दश दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
प्रहरीले थप २५ दिन म्याद दिन माग गरेको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । सोही दिन राति पोखरा लगिए पनि शनिबार परेकाले ४ गतेमात्रै अदालत उपस्थित गराइएको थियो । त्यतिबेला अदालतले पहिलो पटकका लागि पक्राउ परेको दिनदेखि गणना हुने गरी ७ दिन म्याद थप भएको थियो ।
रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार ४ : ०३ बजे
प्रतिक्रिया