शहीद  चिनियाँ काजी स्मृति दिवस कसरी होला सार्थक ?

आज कार्तिक २० गते प्रजातन्त्रोत्तर कालका प्रथम विद्यार्थी शहीद चिनिया काजीको स्मृति दिवसको दिन हो । प्रजातान्त्रिक आन्दोलनलाई पूर्णता नदिई बिचैमा सम्झौतामा टुङ्ग्याउने काम दिल्ली सम्झौता मार्फत गरिए पछि आम सचेत जनतामा व्यापक असन्तुष्टि थियो । त्यसले जन विरोध निम्त्याई रहेको थियो । राणा शासनको संक्रमण कालीन सरकार बनेको थियो ।  त्यो  राणा–काँग्रेसको संयुक्त सरकार थियो । यस सम्बन्धमा नेपालको युवा—िविद्यार्थीआन्दोलन नामक सानो पुस्तिकामा कमरेड पुष्पलालले लेख्नु भएको छ – ‘‘२००८ साल कार्तिक २० गते घृणित दिल्ली सम्झौता तथा  सरकारका गैर–प्रजातान्त्रिक कदमहरूको विरोधमा विशाल जनसभाको आयोजना भएको थियो । काठमाडौं भूगोल पार्कमा हज्जारौंको संख्यामा विद्यार्थीहरू भेला भए । तत्कालीन राणा–कांग्रेस संयुक्त सरकारको निर्देशनमा पुलिसले गोली चलायो । नेपालका युवा–विद्यार्थी समुदायको रगतले कोरिएको गरिमामय क्रान्तिकारी इतिहासमा नयाँ अध्याय थपियो । पुलिसको गोलीले विद्यार्थी नेता चिनियाँ काजी शहीद भए र अरू धेरै विद्यार्थीहरू घाइते भए । चिनिया काजी पद्मोदय हाईस्कूल काठमाडौंमा अध्ययन गर्ने प्रगतिशील विचारले ओतप्रोत भएका विद्यार्थी थिए ।

स्थिति तनावपूर्ण थियो । विद्यार्थीको शव सरकारले परिवारलाई दिन मानिरहेको थिएन । विद्यार्थी शहीदको शवसँग राणा–काँग्रेसको संयुक्त सरकार डराएको थियो । स्थितिलाई चर्किन नदिन र मत्थर पार्न काँग्रेसको तर्फबाट गृहमन्त्रालयको नेतृत्व गरिरहेका बिपी कोइरालाले स्थितिको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए । तर आन्दोलन मत्थर भएको थिएन । आन्दोलनकारी विद्यार्थीका साथै जनताले प्रधानमन्त्रीकै राजीनामा मागिरहेका थिए । यस सम्बन्धमा उक्त पुस्तिका कमरेड पुष्पलाल थप लेख्नु हुन्छ –‘‘शहीदको शवलाई हस्तान्तरण गर्न पनि विद्यार्थीहरूले सङ्घर्ष नै गर्नु पर्‍यो । शवयात्रामा ठुलो संख्यामा जनता तथा विद्यार्थीहरूले भाग लिएका थिए । नेपाल कम्युनिष्ट पार्टी, प्रजापरिषद्‌ सहित अन्य पार्टीहरू र जनवर्गीय सङ्गठनहरू आफ्नो दलको तर्फबाट औपचारिक रूपमा शवयात्रामा सामेल भएका थिए । स्मरण–रहोस्, नेपाली कांग्रेस, जसका नेता तत्कालीन राणा–कांग्रेस संयुक्त सरकारमा गृहमन्त्री थिए, ले पनि शवयात्रामा भाग लिएका थियो ।’’

शव यात्रामा सहभागीहरूले लगाएको नारा र मागबारे उक्त पुस्तिकामा कमरेड पुष्पलालले थप लेख्नु भएको छ –‘‘शहीदको शवलाई लिएर हाम्रा शहीद–अमर रहुन्, शहीदको इच्छा–साकार पार्छौं, दिल्ली सम्झौता – धोका हो, जनविरोधी ऐन–खारेज गर, विद्यार्थी हत्यारा राणा–काँग्रेस संयुक्त सरकार–मुर्दावाद भन्ने नारा लगाउँदै जुलुसले काठमाडौं सहर परिक्रमा गर्‍यो । पछि सभाको रूपमा परिणत भई यस ऐतिहासिक जनसभाले प्रत्येक वर्ष कार्तिक २० गते विद्यार्थी शहीद दिवस मनाउने निर्णय ग¥यो–विद्यार्थी शहीद चिनियाँ काजीको स्मृतिमा ।

शव यात्रामा सहभागीहरूले लगाएको नारा र मागबारे उक्त पुस्तिकामा कमरेड पुष्पलालले थप लेख्नु भएको छ –‘‘शहीदको शवलाई लिएर हाम्रा शहीद–अमर रहुन्, शहीदको इच्छा–साकार पार्छौं, दिल्ली सम्झौता – धोका हो, जनविरोधी ऐन–खारेज गर, विद्यार्थी हत्यारा राणा–काँग्रेस संयुक्त सरकार–मुर्दावाद भन्ने नारा लगाउँदै जुलुसले काठमाडौं सहर परिक्रमा गर्‍यो । पछि सभाको रूपमा परिणत भई यस ऐतिहासिक जनसभाले प्रत्येक वर्ष कार्तिक २० गते विद्यार्थी शहीद दिवस मनाउने निर्णय ग¥यो–विद्यार्थी शहीद चिनियाँ काजीको स्मृतिमा ।

राष्ट्रिय विद्यार्थी फेडरेशनको गठन 

     यसरी आन्दोलन चर्किएको र सरकारप्रति असन्तुष्टि बढे पछि त्यसलाई त्यसलाई सही दिशा र गति दिन विद्यार्थी संगठन गठन गर्ने तयारी पनि हुन थाल्यो । यसरी आन्दोलन बढ्दै गए पछि राणा – काँग्रेसको त्यो मन्त्रीमण्डल नै विघटन भएको थियो । त्यसबारेमा क. पुष्पलालले लेख्नु भएको छ –‘‘२००८ सालमा राणा–काँग्रेस संयुक्त मन्त्रीमण्डल भङ्ग भई मातृका प्र. कोइरालाको प्रधानमन्त्रीत्वमा नयाँ मन्त्रीमण्डल गठन भयो । नयाँ सरकारले युवा–विद्यार्थी समुदायबाट दिल्ली सम्झौतालाई समर्थन गराउन राजश्वको ठुलो रकम खर्च गरी एक सभाको आयोजना ग¥यो । घृणित दिल्ली सम्झौताको विरोधमा जनआन्दोलन तीव्र हुँदै गइरहेको थियो । यस सभामा दिल्ली सम्झौता विरोधी युवक–विद्यार्थीहरू नै भारी संख्यामा उपस्थित भएका थिए । सभा उद्घाटन गर्न गएका प्रधान मन्त्री मातृका र शिक्षा मन्त्री शारदा शम्सेर राणाले दिल्ली सम्झौता धोका हो भन्ने गगनभेदी नारा र कालो झण्डाले स्वागत पाए । उनीहरूलाई आफैले आयोजना गरेको सभाबाट भाग्नु प¥यो । यसै विद्यार्थी भेलाले ‘राष्ट्रिय विद्यार्थी फेडरेशन’ गठन भएको घोषणा ग¥यो । विद्यार्थीहरूको यस बृहत् एकतामा आँच ल्याउन तत्कालीन काँग्रेसी सरकारले ‘विद्यार्थी सङ्घ’ गठन गर्न लगायो ।’’

प्रगतिशील बिद्यार्थीहरुले सङ्गठित रूपमा अगाडि बढ्न थालेपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका जल्दा बल्दा विषयहरू पनि उठाउन थाले । उनीहरू नेपाल कम्युनिष्ट पार्टीको पहलकदमी र सक्रियतामा बनेको जातीय जनतान्त्रिक मोर्चामा पनि सम्मिलित भएर बाह्य हस्तक्षेप र  आन्तरिक गडबडीका विरुद्ध संगठितरुपमा आवाज उठाउन थाल्दछन् । यस सम्बन्धमा कमरेड पुष्पलालले लेख्नु भएको छ – ‘‘नेपाल राष्ट्रिय विद्यार्थी फेडरेशन (ने. वि. फे.) को गठन पछि नेपालका विद्यार्थीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका सवालहरूमा अझ सक्रिय भूमिका खेल्न थाल्दछन् । २००८ सालमा नेपाल कम्युनिष्ट पार्टी र प्रजापरिषद्‌काे बिच गठन भएको जातीय जनतान्त्रिक संयुक्त मोर्चामा युवा विद्यार्थी समुदायका महत्त्वपूर्ण भूमिका रहेको हो । किसान आन्दोलनलाई दबाउन भारतीय सशस्त्र सेनालाई पुनः नेपालमा निम्तायो ।’’

बढ्दो असन्तोष र त्यस विरुद्धको आन्दोलनसँगै किसान आन्दोलनले पनि सङ्गठित रूप लिन थाले पछि मातृका काँग्रेसको सरकारले भारतीय हस्तक्षेप निम्त्याएरै भए पनि त्यसलाई हत लाउन खोज्यो । त्यसै क्रममा युवा किसान नेता भिमदत्त पन्तलाई भारतीय सेना भित्र्याएर मारियो यसबारेमा अगाडि कमरेड पुष्पलाल लेख्नु हुन्छ –‘‘ किसान आन्दोलनको नेतृत्व गर्ने युवा किसान नेता भीमदत्त पन्त भारतीय तथा नेपाली सेनाको संयुक्त सशस्त्र कार्यवाहीबाट शहीद हुनुभयो । ने. वि. फे. को नेतृत्वमा विद्यार्थीहरूले किसान आन्दोलनलाई सक्रिय सहयोग र भारतीय सेनाको नेपाल प्रवेशको देशव्यापी विरोध प्रदर्शन गरेका हुन् । १९५० को भारतसँग भएको सैनिक सन्धि, भारतीय सैनिक मिसन नेपालमा राख्ने र नेपालको उत्तरी सीमा (नेपाल–चीन सिमाना) मा भारतीय सैनिक राख्ने सन्धिहरूको विरुद्ध ने. वि. फे. ले संघर्षमा अग्रगण्य स्थान राखेको छ ।’’

यस प्रकार नेपाल कम्युनिष्ट पार्टीका पहल र सक्रियतामा नेपालमा विद्यार्थी र किसान पनि  आन्दोलन पनि  अघि बढ्न थालेको र विद्यार्थी आन्दोलन र किसान आन्दोलन अन्योन्याश्रित भएर अघि बढ्न थालको बारेमा कमरेड पुष्पलालले लेख्नु भएको छ – ‘‘नेपाल कम्युनिष्ट पार्टीको पहलकदमीमा किसान आन्दोलन र विद्यार्थी आन्दोलन पनि किसान आन्दोलन कै अन्योन्याश्रित शक्तिको रूपमा विकास हुन थाल्यो । यस समय आन्दोलनलाई दबाउन मातृकाको कांग्रेसी सरकारले ने. क. पा. माथि प्रतिबन्ध लगाउँछ । पार्टीमाथिको प्रतिबन्ध हटाउन पनि विद्यार्थीहरूले बहादुरीपूर्ण सङ्घर्ष गरेका हुन् । यो २००८ सालको कुरा हो । पार्टीमाथिको प्रतिबन्ध २०१२ सालमा हट्यो ।’’

यसरी त्रिचन्द्र कलेजमा पढ्ने विद्यार्थी नेता महान् अमर शहीद गंगालालको पद चापलाई पछ्याउँदै शहादत प्राप्त गर्ने विद्यार्थी नेता चिनियाँ काजीको बलिबेदीमा बनेको नेपालको पहिलो विद्यार्थी सङ्गठनले नै हरेक वर्ष कार्तिक २० गते चिनियाँ काजी स्मृति दिवस मनाउने निर्णय गरेको थियो । त्यो मननयोग्य क्रान्तिकारी परम्परालाई आज अझ बढी उच्च उठाउँदै सबै प्रकारका बाह्य हस्तक्षेप तथा आन्तरिक दमन, अराजकता, अन्योल, महाभ्रटाचारका विरुद्ध युवा–विद्यार्थी आन्दोलनलाई सही दिशा र गति दिन सकेमा मात्र विद्यार्थी नेता चिनिया काजीको स्मरण गरेको सार्थक ठहरिन्छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ३ : ०० बजे