बाणिज्य बैंकहरुको ध्यान शेयर बजारमा, १३ खर्बभन्दा बढी लगानी

काठमाडौं । वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म शेयर बजारमा (धितोपत्रमा ) १३ खर्ब ३० अर्ब १३ करोड रुपैयाँभन्दा बढी लगानी गरेका छन् ।

गत वर्ष यस अवधिसम्म वाणिज्य बैंकहरुले धितोपत्रमा गरेको लगानी रकम १२ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी रहेको थियो । गत वर्षको तुलनामा यस वर्ष कुमारी बैंकले सर्वाधिक प्रतिशत शेयर लगानी बढाएको छ । ४७ प्रतिशतले बढाएर कुमारी बैंकले यस वर्ष धितोपत्रमा ९५ अर्ब २९ करोड रुपैयाँभन्दा बढी लगानी गरेको हो । गत वर्ष यस अवधिसम्म कुमारी बैंकले ६४ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी धितोपत्रमा लगानी गरेको थियो ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले धितोपत्रमा लगानी गर्न पाउने व्यवस्था बमोजिम कुनै पनि एक संगठित संस्थाको शेयर ऋणपत्र र सामूहिक लगानीकोषको इकाई खरीद गर्दा कुल प्राथमिक पूँजीको १० प्रतिशतको सीमा तोकेको छ । त्यस्तै सबैं संगठित संस्थाको शेयर, ऋणपत्र र सामूहिक लगानी कोषमा प्राथमिक पूँजीको ३० प्रतिशत मात्रै शेयर खरीद गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

संगठित संस्थाको शेयर तथा ऋणपत्रमा लगानी गर्दा लगानी हुने संस्थाको चुक्तापूँजीको १० प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था समेत रहेको छ । लगानी गर्दाको अवस्थामा तोकिएको अवस्थामा तोकिएको सीमाभन्दा बढी लगानी गरेको भएमा त्यसरी बढी लगानी भएको रकम बराबर पूँजीकोष गणना गर्दा प्राथमिक पूँजीबाट घटाई पूँजीकोष कायम गरिने जानकारी समेत राष्ट्र बैंकले दिएको छ ।

तर प्राइभेट इक्विटि तथा भेन्चर क्यापिटलको शेयरमा गरिएको लगानी रकमलाई पूँजीकोष गणना गर्दा भने प्राथमिक पूँजीबाट घटाई पूँजीकेष कायम गर्न अनिवार्य नहुने व्यवस्था समेत रहेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  १ : ४७ बजे