जेल ब्रेकदेखि गोल घरसम्म

सेन्ट्रल जेलबाट मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, मोहन उप्रेती र मलाई नक्खु जेलमा सरुवा गरियो । नक्खु जेललाई राजबन्दी राख्ने जेलको रूपमा निर्माण गर्न खोजिँदै थियो । नेपाली काँग्रेस सम्बद्ध राजबन्दीहरुको ठूलो सङ्ख्या नक्खु जेलमा थियो । कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा, रामराजाप्रसाद सिंह, बोधराज काफ्ले लगायत थिए । कम्युनिष्ट नेताहरूमा निर्मल लामा, बाबुकाजी बासुकला, गङ्गालाल (लाल कम्युनिष्ट) र हामी झापालीहरू थियौँ । केही खम्पा विद्रोहसँग सम्बन्धित तिब्बतीहरू पनि थिए। 

नक्खु जेलमा पुगेपछि हिँड्डुल गर्न, छलफल गर्न र पत्रपत्रिका पढ्न निकै सहज भयो । काँग्रेस र कम्युनिष्टका अलग– अलग भान्सा थिए । ती भान्सालाई मेस भनिन्थ्यो । काँग्रेसको ठूलो मेस र कम्युनिष्टको सानो मेस थियो । जेलभित्र खेतीयोग्य जमिन पनि थियो । जेलका चौकिदार, नाइकेहरू र कामदारहरू धेरै जमिनमा खेती गर्दथे । काँग्रेस र कम्युनिष्टहरूलाई अलग–अलग जमिन बाँडिएको थियो । त्यहाँ हामीले सब्जी खेती गर्ने, पत्रपत्रिका पढ्ने, राजनीतिक छलफल गर्ने र मिटिङ्ग–बैठक गर्ने कामहरू शुरु गरियो । प्रत्येक हप्ता साहित्यिक कार्यक्रम सञ्चालन गर्न थालियो । हामी आन्तरिक रुपमा जेलबाट कसरी भाग्ने भन्ने योजनाहरू पनि बनाउन थाल्यौं । निर्मल लामाले भद्रगोल जेलबाट भाग्ने प्रयत्न गरेको कुरा हामीलाई थाहा भयो । वहाँसँग हामीले ‘तपाइँहरूले जेलबाट भाग्ने योजना कसरी बनाउनु भयो ?’ भनेर सोध्यौँ । ‘तपाइँहरू जेलबाट भाग्ने सोचाई नै नबनाउनुहोस् । अहिलेको परिस्थितिमा त्यो सिधै आत्महत्या हुनेछ’ भनेर वहाँले हामीलाई निराश बनाउनु भयो । अब हामीले वहाँसँग भाग्ने बारेमा छलफल गर्नु व्यर्थ ठान्यौंँ र आफ्नै पहलकदमी र तत्परतामा योजना बनाउन थाल्यौँ । धेरै योजनाहरू बन्दै र असफल हुँदै गए । 

नक्खु जेलको बीचमा पर्खाल बनाइएको थियो । एकातिर महिला र अर्काेतिर पुरुष बन्दीहरू राख्ने योजना बनाइएको रहेछ । बीचको नयाँ पर्खालमा प्रहरी बस्ने बुर्जा निर्माण भयो । हामी धेरै उत्साहित पनि भयाँै र बीचको पर्खाल चढेर बुर्जाबाट भाग्ने योजनाबारे छलफल गर्न थाल्यौँ । । त्यसैबेला नेपाली काँग्रेसका नेता कृष्णप्रसाद भट्टराईले के कारणले शंका गर्नु भो थाहा भएन । वहाँले भन्नुभो ‘तपाईंहरु जेलबाट भाग्नुभो भने दलसिंह थापालाई पनि सँगै लैजानुहोला ।’ 

सायद हाम्रा गतिविधि नियालेर वहाँले शङ्का गरेको हुनुपर्छ । हामी भाग्ने निर्णायक बिन्दुमा पुग्न आँटेका थियौँ । ठिक त्यसबेला बीचको बुर्जामा प्रहरीहरू बस्न थाले । त्यति मात्र होइन जेलका पर्खालमा १००० वाटका बल्बहरू राखिए । त्यसले हाम्रो भाग्ने योजना असफल बन्न पुग्यो । फेरि हामीले अर्काे योजना बनायौं । नक्खु जेलमा रामबहादुर टण्डन नामका बन्दी थिए । उनीसँग हाम्रो अत्यन्त राम्रो सम्बन्ध भयो । हामीले उनीसँग भाग्ने सम्बन्धमा लामो छलफल चलायौँ । उनले हामीलाई जेलबाट भाग्ने एउटा उपाय बताए । त्यस विषयमा हामीले राम्रो अध्ययन र अनुसन्धान थाल्याँै । हामीलाई त्यो उपाय ठिकै लाग्यो । भाग्न पैसाको आवश्यकता पर्नेभयो । हामी पैसा जुटाउने तयारीमा लाग्यौँ । जेलमा हामीलाई समयमै पैसा जुटाउन सम्भव भएन । यस्तो स्थितिमा रामबहादुर टण्डन नक्खुबाट जेल सरुवा भए । हाम्रो योजना असफल भयो । 

नक्खु जेलमा साहित्यिक कार्यक्रम सञ्चालन भई नै रहे । सबैले आ–आफ्ना लेख–रचना सुनाउने गर्दथ्याँै । बाबुकाजी वासुकलाले सुरुङयुद्ध भन्ने एउटा लेख अनुवाद गर्नुभयो । वहाँको त्यो लेख हाम्रा लागि धेरै महत्वको बन्न पुग्यो । त्यो लेख चिनियाँ क्रान्तिमा उपयोग गरिएको एउटा विधि थियो । हामी केही झापालीबीच त्यो विधि नक्खु जेलमा प्रयोग गर्न सक्छाँै कि सक्तैनाँै ? भन्नेबारे छलफल हुन थाल्यो । 

शान्ति सुरक्षा मुद्दामा रहेका कमरेड निर्मल लामा र बाबुकाजी वासुकला नक्खु जेलबाट छुट्नुभयो । जेलबाट छुट्दा कमरेड निर्मल लामाले घरबाट ल्याउनु भएको खरायो हामीलाई नै छोड्नुभयो । छुटेको २÷३ दिनपछि जेलमा हामीलाई भेट्न आउनुभयो । वहाँहरूबाट सीपी मैनाली, गौरा प्रसाई, गोविन्द न्यौपाने र तारानिधी भुर्तेल झापामा गिरफ्तार भएको खबर हामीलाई थाहा भयो । वहाँहरुको गिरफ्तारी हाम्रा निम्ति दुःखद बन्यो । गम्भिर आरोप लागेका र चर्चित नेतालाई जिल्लामा राख्न सम्भव थिएन । काठमाडाँैमा नै ल्याइने निश्चित थियो । त्यसैले जेलब्रेकबारे गहिरो अध्ययन अनुसन्धान गर्दै रह्यौँ । 

हामीले अनुमान गरे भन्दा छिटो सीपी मैनालीलाई काठमाडाँै ल्याइयो । वहाँलाई सेन्ट्रल जेलको गोलघरमा राखियो । त्यसपछि अरु साथीहरूलाई नक्खु जेल ल्याइयो । झापा आन्दोलनका प्रायः सबै नेताहरू नक्खु जेलमा जम्मा भयाँै । यो हाम्रा निम्ति उपयोग गर्न सके सुखद क्षण बन्न पनि सक्थ्यो । हामीले भाग्ने सम्भाव्य उपायहरूबारे छलफल ग¥यौँ । तर केही कमी रहन गए । जसले गर्दा रुद्र खरेलसँगको सामान्य झगडाको निहुँमा जेल प्रशासनले केपी शर्मा ओली, राधाकृष्ण मैनाली र मोहनचन्द्र अधिकारीलाई नक्खु जेलबाट सरुवा गरेर सेन्ट्रल जेलको गोलघरमा राख्यो । 

नक्खुजेल कमिटीको पुनर्गठन गरी सीपी मैनालीलाई जेल कमिटीको सचिव निर्वाचित गरियो । त्यसपछि राजनीतिक छलफल र वादविवादले गति लियो । राजनीतिलाई प्राथमिकता दिँदै जेलबाट भाग्ने कुरा हाम्रा निम्ति अत्यन्त महत्वपूर्ण थियो । हामीलाई जेलको दासत्व स्वीकार्य थिएन, बरु मृत्युवरण प्रिय थियो । जेलब्रेक गर्दा कुनै पनि अवस्थामा मर्न र मारिन सक्छौँ भन्ने कुरामा हामी मानसिक रूपमा तयार भयौँ । यसरी हामी नक्खुजेलको सम्पूर्ण परिस्थितिलाई काबुमा राख्दै भाग्ने निर्णयमा पुग्यौँ । 

जेलका बन्दीहरूसँगको हाम्रो सम्बन्ध सुमधुर थियो । नेपाली काँग्रेससँगको सम्बन्ध पनि राम्रो बनेको थियो । यो सम्बन्धलाई अझ सुमधुर बनाउन साझा प्रयत्न थाल्याँै । हामी बीच भाग्ने कुरामा सहमति थियो । तर कुन उपायबाट भाग्ने भन्ने कुरामा सहमति हुन सकेको थिएन । पर्खाल नाघेर भाग्ने पक्षमा केही साथी थिए भने कोही मूलगेटबाट हतियार खोसेर भाग्ने पक्षमा थिए । सुरुङ खनेर सुरक्षित उम्कन सक्छौँ भन्ने हाम्रो सोचाई थियो । हामी बीच विवाद हुँदाहुँदै पनि सुरुङबाटै भाग्ने कुरामा ध्यान केन्द्रित ग¥यौँ । बन्दीहरूसँगको सम्बन्धलाई अझ सुमधुर बनाउन भटमासको दुध बनाएर खिर पकाएर खुवाउन थाल्यौँ । बाटो बनाउने, बगैँचा लगाउने काम पनि सुरु गर्यौँ । त्यति मात्र हैन भलिबल खेल्ने, साँस्कृतिक कार्यक्रम सञ्चालन गर्ने काम पनि गर्न थाल्यौँ । यसले नेपाली काँग्रेससंग बाटो बनाउने, बगँैचा बनाउने, साँस्कृतिक कार्यक्रम गर्ने प्रतिस्पर्धा नै सुरु भयो । बाटो बनाउने नाममा इँटा लिन हामी जेल बाहिरसम्म गयौँ । हाम्रो उद्घेश्य इँटा ल्याउने भन्दा पनि जेल उत्तरको भौगोलिक अवस्था बुझ्नु थियो । हामीले जेलको सबै स्थितिको अवलोकन गर्यौँ ।  

हाम्रो मेस १७ जनाको थियो । सुरुमा हामीले १४ जना बीच भाग्ने कुरामा छलफल चलायाँै । पछि १५ जना सम्मलाई जानकारी दियाँै । पहिले अशोक न्यौपानेलाई जानकारी दिइएको थिएन । अशोकले हाम्रा गतिविधि नियालेर शङ्का गर्नु भएछ । हामीले अशोकलाई भन्नैपर्ने परिस्थिति उत्पन्न भयो । तर १७ जनामध्ये मोहन उप्रेतीलाई अन्तिमसम्म पनि जानकारी गराइएन ।
 
जेलबाट भाग्नु सजिलो कुरा थिएन । जेलको भित्री प्रशासन मात्र होइन, प्रहरीहरू पनि हामीले सुरुङ खन्ने स्थानको पश्चिमतिर सुत्ने गर्थे । बीचमा भलिबल ग्राउण्ड थियो । हामीसँग निर्मल लामाले छोडेका ३÷४ वटा खरायो थिए । अरु ४० वटा खरायो किनेर पाल्ने योजना हामीले बनायौँ । हामी १७ जना बीचमा कामको बाँडफाँड ग¥यौँ । अशोक न्यौपाने र मोहन उप्रेतीलाई खरायो चराउने जिम्मा दियौँ । सूर्य कन्दङ्वाले अशोक र मोहनको निगरानी गर्नुहुन्थ्यो । हर्क खड्कालाई नाइकेहरूको रेखदेख गर्ने र मूलगेटको अवस्था बुझ्ने जिम्मा थियो । वीरबहादुर लामा, माधव पौडेल, नारद वाग्ले, भिष्म धिमाल र जीवन मगरलाई सुरुङ खन्ने र प्रदीप नेपाललाई साँस्कृतिक कार्यक्रमको नेतृत्व गर्ने जिम्मा दिइयो । सीपी मैनाली, नरेश खरेल, घनेन्द्र बस्नेत, कामेश्वर हलुवाई, राजेन राजवंशी, गोपाल शाक्य र धर्म घिमिरेले विभिन्न जिम्मेवारीलाई परिवर्तन गरी पूरा गर्ने कामको दायित्व थियो । 

हामी सुरुङ खन्नुपूर्व सुरुङ खन्दा निस्कने माटोलाई सुरक्षित रुपमा कसरी लुकाउने, ढुङ्गा भेटिए के गर्ने, सुरुङ भासिए के गर्ने आदि समस्या र तिनको समाधानबारे निष्कर्ष सहित सुरुङ खन्ने निर्णयमा  पुग्याँै । हाम्रो निम्ति सबैभन्दा ठूलो समस्या सुरुङको मुख बनाउने र त्यो मुखलाई सुरक्षित गर्ने थियो । लामो छलफल र मिहिनेतपछि सुरुङको मुख निर्माणमा हामीले उपयुक्त योजना तयार गर्यौँ । १ नम्बरको भुइँतलाको सानो घरको एउटा कोठामा म र नारद वाग्ले बस्थ्याँै । अर्को कोठामा भिष्म धिमाल र धर्म घिमिरे बस्नुहुन्थ्यो । २ नम्बरको माथिल्लो तलामा हर्क खड्का र जीवन मगर बस्नुहुन्थ्यो । सूर्य कन्दङ्वा र मोहन उप्रेती भुइँतलामा बस्नुहुन्थ्यो । जेलको उत्तर ४ नं. कोठाको माथिल्लो तलामा सीपी मैनाली, प्रदीप नेपाल, माधव पौडेल, वीरबहादुर लामा, राजेन राजवंशी, गोपाल शाक्य, घनेन्द्र बस्नेत र अशोक न्यौपाने बस्ने ठूलो कोठा थियो । भुइँतला खालि थियो । त्यही खालि ठाउँको पूर्व कुनामा हामीले मिहिनेतपूर्वक सुरुङको मुख निर्माण गर्ने योजना बनायौँ ।

वि.स. २०३३ साल फाल्गुण १० गते बिहान सुरुङ खन्ने कामको थालनी गर्यौँ । सुरुङ खन्ने कामको थालनी माधव पौडेल र वीरबहादुर लामाले गर्नुभयो । करिब २ फूट तल घोप्टे जस्तो वरपर सर्ने घर्रा लगाउने बनायाँै । तल ६÷७ फिट गहिरो ठूलो खाडल निर्माण ग¥यौँ । त्यो घर्रा लगाएर राम्ररी इँटा मिलाउँदा पहिलेकै जस्तो अवस्था देखिने भयो । त्यो सुरुङ खनेको ठाउँ नयाँ मान्छेले सहज रूपमा छुट्याउन नसक्ने स्थितिमा पुग्यो । सुरुङको मुख निर्माण गर्न सकेकोमा हामी धेरै उत्साहित भयाँै । अब त्यो सुरुङलाई अरु सुरक्षित र भरपर्दाे बनाउन हामीले त्यसको वरिपरी गारो लगाएर खरायोको खोर निर्माण गर्यौँ । करिब ४० वटा खरायो अटाउने खोर निर्माण गरेपछि सुरुङको मुख सुरक्षित बन्न पुग्यो । त्यसपछि हामीले सुरुङ खन्दा अझ सावधानी अपनाउन थाल्यौँ । उत्तरतिर प्रहरी र कामदारहरू घुम्दा सुरुङ नखन्ने तर माटो तान्ने गर्न थाल्याँै । हाम्रो उच्च सर्तकताले राम्रो परिणाम निस्कँदै गयो ।  

जेलको सबैभन्दा ठूलो अपराध जेलबाट भाग्न खोज्नु नै हो । जेलको पर्खाल नियालेर हेर्दा मात्र पनि ‘भाग्न पर्खाल नाप्तै छस् कि के हो ?’ भन्ने आरोपमा कैदीहरुले यातना भोग्नुपथ्र्यो । हामी यस्तो जोखिमपूर्ण कामको थालनी गरिरहेका थियौँ । मृत्यु हाम्रा प्रत्येक पाईला–पाईलामा नाचिरहेको थियो । हाम्रो मुटुको धड्कन बढिरहेको थियो । हामी आपसी एकता, धैर्य र साहसलाई अझ उच्च बनाउँदै सुरुङ निर्माणमा तीव्रता दिइरहेका थियौँ । 

सुरुङ खनेपछि निस्किएको कालो माटोलाई बाटो बनाउने ठाउँमा गहिरो खाडल खन्दै पुर्न थाल्यौँ । राती खनेको माटो दिनभरमा लुकाई सक्नुपर्दथ्यो । यसरी हामीले ९/१० फिट सुरुङ खन्यौँ । सुरुङ खन्दा सुरुमा मैनबत्ती प्रयोग ग¥यौँ । यसो गर्दा एक दिन अक्सिजनको अभावले सुरुङभित्र माधव पौडेल बेहोस हुनुभयो । हामी ठूलो सङ्कटमा पर्यौँ । धन्न वहाँ सुरुङबाहिर निकालेको केही छिनमा नै होसमा आउनुभयो । त्यसपछि हामीले बिजुलीको तार सुरुङभित्र पुर्यायौँ । हामीले रातो, निलो र सेतो ३ वटा बल्व राख्याँै । रातो बल्दा काम बन्द गर्ने, रातो बत्ती ३ चोटी बले बाहिर निस्कने, निलो ३ चोटी बलेर अनि सेतो बत्ती बले ढुक्कसँग काम गर्ने, सेतो मात्र बले सामान्य ढङ्गले काम गर्ने । बत्तीको सङ्केत अनुसार नै सुरुङ खन्ने र माटो तान्ने काम हुने गर्दथ्यो । 

सुरुङभित्र अक्सिजनको सङ्कट बढ्दै गयो । हामीले सुरुङको उत्तरतिर लसुन रोप्न बारी तयार ग¥यौँ र लसुन बारीमा बाँस गाडेर एउटा प्वाल बनाएर हावा छिर्ने भ्यान्टिलेशन बनायौँ । यसले हामीलाई सुरुङ खन्न अझ सहज बनायो । तर अर्काे समस्या भने हाम्रा अगाडि खडा भयो– सुरुङ भासिन थाल्यो । दुईतिरबाट इँटाको गाह«ो लगाएर, भात पकाउन ल्याएका दाउरा प्रयोग गरेर सुरुङलाई अड्याउने काम गर्यौँ । हामीसँग खन्ने औजारका नाममा एउटा फलामको पन्यूँ, एउटा भाँचिएको छाताको डण्डी र एउटा सानो डाडू थियो । सुरुङ् खन्ने क्रममा ठूला–ठूला ढुङ्गा भेटिन थाले । अब के गर्ने ? भन्ने समस्या खडा भयो । जेलको झ्यालमा भरुवा बन्दुकको दबासो /नाल–(बन्दुकको पछाडीको काठ ) लाई रडको रुपमा प्रयोग गरिएको थियो । हामीले एउटा निकाल्याँै र भात पकाउँदा आगोमा पोल्दै पिट्दै गरेर तीखो बनायाँै । त्यो हाम्रा निम्ति अर्काे महत्वपूर्ण औजार बन्न पुग्यो । हामी सबै एकैचोटि खाना खान्थ्यौँ र भाँडा माँझ्न जाँदा भाँडाभित्र माटो लिएर जाने गर्दथ्यौँ । 

सुरुङ खन्ने काम तीव्र गतिमा बढिरहेको थियो । एकदिन जेलको नाइके नरबहादुर लिम्बुले जेलको पर्खाल घुम्ने क्रममा राती खन्दा निस्किएको आवाज सुनेछ । ऊ पर्खाल वरिपरी घुम्दा पर्खालमा कान राखेर सुन्दो रहेछ । बिहान जेलका भाइ चौकिदार फत्तेबहादुर सापकोटाले हामीसँग रिसाउँदै भने ‘तपाइँहरू भाग्न सुरुङ खन्दै हुनुहुन्छ भन्ने रिपोर्ट छ ।’ जेलरले अञ्चलाधिशलाई खबर गरिसके भनेर हामीसँग रिसाए । हामीले ‘त्यस्तो केही गरेको छैन’ भन्यौँ । तर उनको यो सूचना हाम्रा निम्ति वरदान साबित भयो । 

हामीले सुरुङबाट बाहिर निकालेको माटो फेरि सुरुङभित्रै लुकायौँ । सुरुङको मुखलाई सुरक्षित बनायौँ र खरायो राख्याँै । नभन्दै प्रहरीको ठूलो जत्थाले जेल घेराउ गर्यो । जेलको खान तलासी सुरु भयो । हाम्रो मुटुको गति बढिरहेको थियो । हामीले आफूलाई  सम्हाल्यौँ । उनीहरुले धेरै खोज तलास गरे । सुरुङ् खनेको कोठामा पनि धेरै खोजतलास गरे । तर, पत्ता लगाउन सकेनन् । जेल खानतलासीको कमाण्डरले गलत सूचना भएको कुरा बुझ्यो होला । खानतलासी सकेर उनीहरु हिँडे । तत्कालका लागि हामी सङ्कटबाट मुक्त भयाँै । 

जब हामी पर्खालको छेउमा पुग्यौँ, अर्काे सङ्कट हाम्रो सामुन्ने उपस्थित भयो । पर्खाललाई तोड्न बल प्रयोग गर्दा आवाज आउने भएकोले सुरुङलाई हामीले अझ गहिराइतर्फ लग्यौँ । सुरुङमा पानी आउन थाल्यो । पानीमा भिजेर नै सुरुङ खन्ने काम भयो । भिजेका कपडालाई सुकाउने र सुरक्षित गर्ने अर्काे समस्या थपियो । खन्ने क्रममा ढुङ्गा भेटिए । माटो निकालेर ढुङ्गालाई त्यही दबाउने काम गरियो । यसरी ठूलो मेहनतले १० फिट भन्दा चौडा भएको पर्खालको जगमुनिबाट हामी बाहिर पुग्न सफल भयाँै । पर्खाल बाहिर पुगेपछि हामीले सुरुङलाई अलि उचाइतर्फ लैजाने काम ग¥यौं । झण्डै हामी पर्खाल बाहिरको प्रहरीले गस्ती गर्ने बाटोमा निस्केछाँै । त्यसपछि तेर्सो खन्न थालेपछि रुखका जराहरू भेटिन थाले । सास फेर्न सहज हुन थाल्यो । हामी जेल परेपछिको जेलबाट भाग्ने सपना साकार हुनै लागेको थियो । यो सफलतामा हामी रमाउँदै थियौं । तर धेरै खुशी भइहाल्ने स्थिति अझै थिएन । हाम्रा अगाडि अझै ठुल्ठूला सङ्कट खडा थिए । 

वि.स.२०३३ साल चैत्र ११ गते हामीले समयमै सुरुङ खन्ने काम स्थगित गर्यौँ । हामी १२ गतेको प्रतीक्षामा लाग्यौँ । १२ गते २÷३ घण्टा खन्दा सुरुङबाट निस्कन सक्ने अनुमान हामीले गर्यौँ । भाग्ने सम्पूर्ण तयारी पूरा गरियो । समयमै खाना खाएर सूर्य कन्दङ्वा र मोहन उप्रेतीलाई सुत्ने कोठातर्फ बिदा गर्यौँ । सुरुङ खन्न माधव पौडेल र वीरबहादुर लामा जानुभयो । सबैले भाग्दा लैजाने बन्दोबस्तीका समान तयार पार्यौँ । सुरुङको मुख खुलेपछि सबभन्दा पहिलो काम बिजुली निभाउनुपर्ने हुन्थ्यो । त्यसपछि सीपी मैनाली पहिले निस्कने, ७ जना पठाएर म निस्कने र अन्तिममा घनेन्द्र बस्नेत निस्कने योजना बन्यो । रात प¥यो । हामीले आफ्ना आफ्ना ओच्छ्यानमा झुल टाग्याँै । मान्छे सुतेजस्तै सबैका ओछ्यान मिलायौँ । पुलिस र कामदारले हेर्दा सबै सुतेको जस्तो,  निदाएको जस्तो लाग्थ्यो । हामी भाग्न तत्पर भएर बस्यौँ । ठिक त्यसैबेला सुरुङको मुख खुलेकोे खबर आयो । हामी बिजुली सर्ट गर्ने प्रयत्नमा लाग्यौँ । 

पहिलोपल्ट आएको हावा हुण्डरीले सजिलै बत्तीको फ्यूज उडाइदियो । जेल अन्धकारमा डुब्यो । ‘खबरदार ! खबरदार !!’ आवाज गुञ्जन थाल्यो । हामी सुरुङभित्र पस्यौँ । त्यसैबेला माधव पौडेल सुरुङबाट बाहिर निस्कनु भयो । तर तुरुन्त झलमल्ल बत्ती बलिहाल्यो । हामी निकै अतालियौँ र सुरुङबाट फेरि जेलभित्रै पस्यौँ । पटक–पटकको बिजुलीको फ्यूज जलाउने प्रयास असफल भयो । हामी निकै निराश भयौँ । सुरुङभित्रैबाट सीपी मैनालीले अन्तिम प्रयास गर्ने खबर गर्नुभयो । फेरि हामीले आफ्नो साहसलाई बढायाँै र बत्ती निभाउन प्रयास जारी राख्यौँ । यसको लागि ट्वाइलेटमा ठूलो तारको खोजीमा लाग्यौँ । मैले प्रहरी, नाईकेको निगरानी गरँे । २ घण्टाको प्रयत्नपछि नारद वाग्ले र अशोक न्यौपानेले साहसका साथ ट्वाइलेटको मोटो तार जुधाउनुभयो । विशाल आवाजको साथ ट्रान्सफर्मर विष्फोट भयो । जेल साँच्चै अन्धकारमा डुब्यो । ३२ दिनको एकताबद्घ प्रयास र कठोर मिहिनेतपछि ६४ फिट लामो सुरुङ खनेर खुल्ला संसारमा निस्कने ढोका खुल्यो । 

रातको अन्धकारमा ताराहरू टिल्मलाइरहेका थिए । जेलको रखवारी गरिरहेका प्रहरीहरू र नाइके कामदारहरू खबरदारीको चर्को आवाजले जेललाई गुञ्जायमान बनाइरहेका थिए । हामी हतार–हतार सुरुङभित्र पस्ने क्रम शुरु भयो । निकै साथीहरू निस्किसकेका थिए । म सुरुङभित्र पसेँ र घसँ्रदै बाहिर निस्कँे । हामीले एक ठाउँमा जम्मा हुन तयार गरेको सङ्केतको डोरी चुँडिएर बेपत्ता भइसकेको थियो । खेतका केही गह«ा पार गरेर म अघि बढेँ । म गएतिरैबाट त्यसैबेला सङ्केतको आवाज आयो । म संकेत आएतिरै अघि बढेँ । सीपी मैनाली र राजेन राजवंशी बारीको डिलमा बसेर साथीहरुलाई संकेत गर्दै जम्मा गर्न लाग्नुभएको रहेछ ।

हामी सुरुङबाट भाग्ने सम्भावित ठाउँमा बाँडिएर साथीहरूलाई जम्मा गर्दै बागमती र नक्खुको दोभानतिर लाग्यौँ । त्यो हाम्रो जम्मा हुने निश्चित गरिएको ठाउँ थियो । तर, हामी सुरुङबाट निस्केका सबै साथीहरू भेला हुन सकेनौं । फेरि साथीहरुलाई खोज्नतिर लाग्यौँ । खोज्दै जाँदा सुरुमै निस्केका माधव पौडेल ‘हरेक काममा आदेशहरू पालना गर्दछौं’ भन्ने गीत गुनगुनाउँदै आउनुभयो । हामी फेरि बागमती दोभान पुग्यौँ । तर, गोपाल शाक्य र नारद वाग्लेसँग सम्पर्क भएन । फेरि वहाँहरुलाई खोज्न थाल्यौँ । उता ‘खबरदार ! खबरदार !!’ भन्दै पुलिस र कामदारहरु चिच्याइरहेका थिए । त्यतिबेला जेलको बिजुली बनाउन विद्युत अफिसको गाडी जेलतिर हान्निएर आयो । गाडीको लाईटको उज्यालो जेलका पर्खालहरू नाघ्दै टाढा टाढासम्म फैलियो । हामी सतर्क भयौँ । हामीले खनेको सुरुङ्को प्वाल पो देख्ने हो कि ? फेरि हामी बागमती नदीको दोभानमा भेला भयौँ ।

अब गोपाल शाक्य र नारद वाग्लेलाई खोजिरहन सम्भव भएन । हामी १३ जनाको टोली भैँसेपाटीको सैंबु हुँदै गावाल्दा पुग्यौं । त्यसपछि बकैपौवाको उकालो चढेर बाँसबारीको फर्पिङ्ग जाने मोटर बाटो समात्यौँ । रातको अन्धकारमा अत्यन्त अप्ठ्यारो पहाडहरू छिचोल्दै हामी अगाडि बढ्यौँ । कैयौँ ठाउँमा हात्तिवारका तीखा काँडाहरूको रोपाई सहँदै र पन्छाउँदै हामी अघि बढ्यौँ ।

 

यसरी हिँड्ने क्रममा हामी सेतीदेवी भञ्ज्याङ्गमा पुग्यौँ । भञ्ज्याङ्गको गल्ँिछडोबाट मोटर बाटोलाई दायाँ छोडेर फर्पिङ्गबाट निस्कने बाटोतर्फ लाग्यौँ । केही समय ओरालो लागेपछि फेरि हामी लामा गाउँको उकालो चढ्न बाध्य भयौँ । त्यसपछि मोतेटाडे भन्ने मान्छेको पसलमा पुग्यौँ । मध्यरातमा मस्त निदाएका ती पसलेलाई उठाएर चिउरा र सख्खर किन्यौँ र अगाडि  बढ्यौँ । फेरि उकालो चढ्नैपर्ने भयो । उकालो केही समय हिँडेपछि भने भञ्ज्याङ्गमा पुग्यौं । निरन्तरको हिँडाइले हामी लखतरान परेका थियौँ । अशोक न्यौपानेलाई हिँड्न निकै कठिनाई भइरेहको थियो । कहिलेकाँही बोक्नुपर्ने अवस्था पनि बन्यो । तर पनि कठिनाईको कुनै परवाह नगरी हामी आफ्नो गन्तव्यतर्फ अगाडि बढ्यौँ र ओरालो झर्दै र उकालो चढ्दै हामी फाखेल छेउमा पुग्यौँ । भालेको डाँकोसँगै गाउँलेहरु उठ्न र मेलापात हिँड्न थाले । मान्छेको चहल पहल सुरु भयो । त्यसैले हामी फाखेलको चौर पुग्न अगावै दुलालको घर खोल्सीको जङ्गलै जङ्गल उकालो लाग्यौं र विश्राम गर्ने निधो गर्यौँ ।

 

त्यसपछि परिस्थितिको मूल्याङ्कन गर्दै फाखेलको खोसिन्डोल भन्ने घनाजङ्गलमा रातभरको थकान मेटाउन पालैपालो आराम गर्ने निधो गर्यौंँ । पानी पर्न थाल्यो । हामी पानीले भिज्यौँ ।  केही छिनमा हेलिकेप्टर आकाशमा उड्न थाल्यो । उड्दैउड्दै  हामी बसेको जङ्गलमाथि उड्न थाल्यो । हामी सतर्क भयौँ र रुखका स्याउलाले छोपिएर आपूmलाई सुरक्षित बनायौँ । संयोग नै भनौँ हेलिकप्टरबाट हाम्रो खोजी गरिरहेका प्रहरीहरूले हामीलाई देख्न सकेनन् । हेलिकप्टर अर्कोतर्फ मोडियो । हामी सुरक्षित भयौँ । अझ सतर्क भएर जङ्गलभित्र रातभरको थकान मेटायौँ । राती किनेर ल्याएको चिउरा र सख्खरले भोक मेटायौँ । अनि अब कसरी सुरक्षित रूपमा जनताबीच पुग्ने भन्ने बारेमा छलफल ग¥यौँ । हामीले आफ्ना नामहरू पनि परिवर्तन गर्यौँ । चन्द्रप्रकाश मैनालीको नाम जय राखियो । प्रदीप नेपालको दिनेश, नरेश खरेलको कमल, घनेन्द्र बस्नेतको सुन्दर, माधव पौड्यालको हेमन्त आदि नाम जुराएर हामी ओरालो लाग्यौँ । 

झमक्क साँझ पर्दा हामी खोलाको किनारमा पुग्यौँ । कुलेखानीबाट फर्कंदै गरेका केही मान्छेसँग हाम्रो जम्काभेट हुन्थ्यो । उनीहरू खोलाको किनारै किनार लागे । हामी खोलो तरेर उकालो लाग्यौँ । फेरि पानी पर्न थाल्यो । हामी पानीमा भिज्दैभिज्दै हिड्यौँ । त्यही नजिकै वीरबहादुरको काकाको गोठ रहेछ । हामी पानीबाट ओत लाग्न त्यही गोठमा पस्यौं । हामी त्यहीँ गाउँमा सुरक्षित रहने सोचसहित वीरबहादुर लामा र प्रदीप नेपाल गाउँका साथीहरूसँग सम्पर्कका लागि जानुभयो । हामी ११ जना त्यही गोठमा आराम गर्दै बस्यौँ । वहाँहरू गाउँ हिँडेको केही छिनमा वीरबहादुरका काका दुई तीन जना मान्छे लिएर गोठमा आए । उनले हामीलाई गोठबाट निक्लन भने । हामी गोठबाट बाहिर निस्क्यौं । ‘तिमीहरु जेलबाट भागेर आएको हुनुपर्छ । साहेबहरू आएका छन् । पल्लो गाउँमा ठुल्ठूला कुकुर पनि लिएर आएका छन् । हिँड त्यहीँ जाउँ’ उनले भने । हामी अर्कै बाटो जङ्गल पस्यौँ । त्यो गाउँबारे केही जान्ने माधव पौडेल हामीबाट छुट्नुभयो ।

हामी सबै अपरिचित मान्छे छरपस्ट ढङ्गले जङ्गलभित्र पस्यौँ । सङ्कटले हामीलाई घे¥यो । हर्क खड्का र मसँगै थियौँ । वहाँले मलाई भन्नुभयो ‘हामी २ जना मात्र हिडौँ ।’ मैले त्यसो गर्नुहँुदैन भनेँ । तर वहाँ हामीलाई छाडेर हिँड्नुभएछ । वीरबहादुर, प्रदीप नेपाल गाउँले साथीहरू लिएर आउनुभएछ । गोठमा हामीलाई नभेटेपछि वहाँहरुले हामीलाई जय, सुन्दर, कमल भनी बोलाउनुभयो । सङ्केत गर्नुभयो । हामीले पनि सङ्केत गर्यौँ र वहाँहरुलाई भेटायौँ । फेरि हामी काकाको गोठमा भेला भयौँ । त्यो घटनाका सम्बन्धमा छलफल गरयौँ । त्यो रात जङ्गलमै बस्ने निधो भयो ।

भोलि दिनभरको गतिविधि हेरेर बेलुका सम्पर्क गर्ने निधो गर्यौँ । वहाँहरूले ल्याउनुभएको भुटेका मकै र गुन्द्रुकको अचार खाँदै हामी माधव पौडेल र हर्क खड्कालाई खोज्दै र बोलाउँदै उकालो लाग्यौँ । ३/४ घण्टाको उकालो चढेपछि हामी गजबहादुर तामाङ्गको खालि गोठमा बास बस्न पुग्यौँ । उज्यालो हुनु अगावै हामी त्यहाँबाट अझ उकालो चढ्यौँ र सलमले भन्ने डाँडामा पुग्यौँ । त्यही डाँडाको अग्लो रुखमा चढेर गाउँ हेर्न खोज्दा माधव पौड्यालसँग फेरि भेट हुन पुग्यो । हर्कसँग पनि भेट हुन्छ कि भनेर धेरै खोजी ग¥यौंँ, तर वहाँसँग भेट भएन । आपसी छलफल र स्थितिको मूल्याङ्कन गर्दै दिन बितायौँ । ५ बजेपछि म र वीरबहादुर लामालाई गाउँको स्थिति बुझ्न साथीहरूले पठाउनुभयो ।

हामी सतर्क हुँदै गाउँतर्फ लाग्यौँ । हामी निकै तल झरिसकेका थियौँ । त्यत्तिकैमा गाउँबाट अष्टमान नाम गरेका भाइ आत्तिँदै दगुर्दै आए र हामीलाई जङ्गलमै गएर लुक्ने सुझाव दिए । उनले भने ‘अहिले गाउँमा घेराउ गरिँदैछ । वीरबहादुरका काका लगायत २/३ जनालाई गिरफ्तार गरिसकेकाछन् । तपाइँहरु जङ्गलमै लुकेर बस्नोस् । भरे राती हामी खाना लिएर आउँछौँ’ भनेर उनी गाउँतर्फ लागे । 

हामी गाउँमा आएको कुरा प्रहरीहरुलाई जानकारी भइसकेको थियो । हाम्रो सोचाइ त्यही गाउँमा लुक्नेछिप्ने थियो । हाम्रो योजना असफल बन्न पुग्यो । त्यसैले हामीले उत्पन्न नयाँ परिस्थितिको मूल्याङ्कन गर्दै त्यो ठाउँ छोडेर अन्यत्र जाने योजना बनायौँ ।  

हामी त्यहाँबाट भालुखर्क हुँदै अलि तलको गाउँमा पुग्यौँ । वीरबहादुरले चिनेको घरमा माधव पौडेलसहित गएर कुरा बुझेपछि हामीलाई समेत लिएर घरभित्र जानुभयो । हाम्रो मन खुशीले रमायो । हामीले सोच्यौँ ‘अब आश्रय पाउने भयौँ ।’ वीरबहादुरले तामाङ भाषामा लामो कुरा गर्नुभयो । त्यो घरका हर्कबहादुर तामाङ्गले हामीलाई सुरक्षा गर्न नसक्ने सङ्केत गर्दै खाना खुवाउनुभयो । केही क्षण आराम गरेपछि त्यहाँबाट हिँड्यौँ । हामी अत्यन्त विकट र कहालीलाग्दो ओरालो झ¥यौँ । घिस्रँदै खरका साना बुट्यानको साहारा लिँदै अत्यन्त कष्टकर र मिहिनेतपछि हामी तल खोलामा पुग्यौँ । जतिसुकै दुःखकष्ट र थकान भए पनि हामी उकालो चढ्नै पर्ने थियो । हामी हिँडिरह्यौँ । त्यसपछि टोड्के भन्ने ठाउँमा पुग्यौँ । त्यहाँ वीरबहादुर लामाको मामा पर्ने मान्छेको घर रहेछ । त्यहाँ सुरक्षित बस्न सकिन्छ कि भनेर प्रयत्न ग¥यौँ । त्यहाँ पनि सुरक्षित रूपमा टिक्न सक्ने कुनै सम्भावना रहेन । अब त झन् विकट उकालो र पहिरो पारगर्दै अगाडि बढ्नुपर्ने अवस्था आयो । गौरी पाखाको उकालो पारगर्दै सुरक्षित आश्रय पाउने अभिलाषा बोकेर वीरबहादुर लामाको मामाको घरलाई आश्रयको केन्द्र बनाएर हिँड्न थाल्यौँ । हिँड्दा हिँड्दै मिर्मिरे उज्यालो हुन लाग्यो । घाँस—दाउरा गर्नेहरूसँग हाम्रो जम्काभेट भयो ।

हामी १२ जना उनीहरुका आँखाबाट ओझेल पर्न सकेनौँ । विवश बनेर हामी गौरी भन्ने ठाउँका वीरबहादुर लामाका साहिँला मामाको घर छेउमा बिहानको साढे ५ बजे पुग्यौँ । मामाको परिवारले हामीलाई मिठो खाना खुवाउनुभयो । जेलबाट भागेपछि पहिलोपल्ट हामीले राम्ररी भोक मेटायौँ । अब हामीले त्यहाँ सुरक्षित आश्रय खोज्नुको कुनै अर्थ थिएन । त्यसैले हामीले मामासँग बिभिन्न सुरक्षित बाटाहरुबारे सोधखोज गर्यौँ ।

वहाँले हामीलाई कहाँ—कहाँ प्रहरी चौकी छन् ? ती चौकीलाई छलेर कसरी जाने ? भन्ने कुरा सिकाउनुभयो । वहाँका सुझावलाई मनन् गर्दै थकान र भोकलाई मेटाएर दृढतापूर्वक अगाडि बढ्ने अठोट ग¥यौँ । वहाँको घर नजिक पुग्दा मलाई मन्दिर पुगेजस्तो लाग्यो । जुन मन्दिरमा हाम्रा जीवित देवता रहेछन् । उनीहरूले हामीलाई सत्कार गरे । हाँसे, बोले, माया दिए र हामीलाई उत्साहित पारे । ती देवता अरु कोही थिएनन् ती थिए वीरबहादुरका साहिँला मामा र उनका परिवार ।

हामी छाप खोरियाको डाँडा पारगर्दै कोगटे भन्ने गाउँमा पुग्यौँ । त्यसपछि अझ अगाडि बढेर कोकटेको ३ चुलीको विशाल जङ्गलमा पुग्यौँ । अब हामी १२ जनाको टोली सँगै हिँड्नु उपयुक्त थिएन । दुश्मनले भेटे सबैको एउटै चिहान हुनसक्थ्यो । त्यसैले हामीले २÷३ जनाको सानो—सानो टोली निर्माण गर्यौँ । सीपी मैनाली, माधव पौडेल र वीरबहादुर लामा त्यही चुलीमा रहेर पार्टी सम्पर्क गर्ने, नरेश, घनेन्द्र र कामेश्वर चर्को दमन भए पनि झापामै जाने, धर्म र भिष्म मोरङ्ग जाने, राजेन राजवंशी र जीवन मगर मोरङ्गको कुलझोडातिर गएर सम्पर्क गर्ने प्रदीप नेपाल र अशोक न्यौपानेले अशोकको चिनजानको ठाउँ वीरगञ्ज हुँदै वीरगञ्ज पश्चिम जाने निधो भयो

। वीरबहादुर लामाले हामीलाई हेटौँडा नजिक पुर्याएर फर्कने र सीपीहरूकै टोलीमा सामेल हुने तय गरियो । जसरी भए पनि दुश्मनको पञ्जाबाट उम्कने र जनताबीच पुग्ने अठोट हामीले गर्यौंँ । अब हामीले लामो यात्रा तय गर्नुपर्ने भयो । साथीहरूसँग अलग—थलग हुनुपर्दा साह्रै नरमाइलो स्थिति हुनपुग्यो । सबैका अनुहार गम्भिर  थिए । जीवन र मृत्युको युद्धमा सामेल भएका कमरेडहरूसँग फेरि भेट हुने हो या होइन, केही थाहा थिएन । सबैका बोली अवरुद्ध भए । हामीले कसिला हाल मिलायौँ । बाँचे युद्ध मोर्चामा भेटौँला, मरे शहीदको मोर्चामा लामबन्द होउँला भन्ने सङ्कल्प गर्दै हामी साना टोलीमा विभाजित भएर आ–आफ्नो गन्तव्यतिर लाग्ने निर्णयसाथ अघि बढ्यौ ।

हामीलाई वीरबहादुर लामाले कोगटेको ३ चुलीको डाँडैडाँडा ओरालो लैजानुभयो । त्यसपछि बुढीचौर भन्ने ठाउँमा पुग्यौँ । निरन्तरको हिँडाई र मानसिक तनावले हामी थकित भएका थियौँ । हाम्रो दश जनाको टोलीलाई बनाएर खुवाउने किसानको सामथ्र्य थिएन । त्यसैले हामी तिर्खा र भोकले छटपटाउन थाल्यौँ । वीरबहादुरले ‘यहाँ मेरो मितबा हुनुहुन्छ, खाजा किनेर खान सकिन्छ कि म कोशिस गर्छु’ भन्नुभयो । हामी २/३ जना ती मितबा भनिने धर्मसिंको घरमा गयौँ । उनले खाजा दिने भए । तर त्यहाँ बिस्तारै मान्छे जम्मा हुन थाले । हामीलाई शंका लाग्यो । त्यहाँ बस्नु र खाजा खानु उपयुक्त लागेन । फुपुको घर नजिकै छ । वहाँलाई भेटेर आउँछौँ भनेर हामी बाटो लाग्यौँ । उनले हामीलाई शंका गरे कि भन्ने आशङ्का हामीलाई भयो । केही गरी प्रहरीहरू आइहाले भने उम्कन सक्ने कुनै सम्भावना थिएन ।

खोलाको दुवैतिर खुँडाका धार जस्ता विशाल पहरालाई पार गर्ने कुनै उपाय थिएन । हामी लगातार अघि बढिरह्यौं । भोक त कता हरायो कता ? तर तिर्खाले हाम्रा मुख सुके । पानीको आवाज सुनिन्थ्यो, तर पानी थिएन । हाम्रो शरीर आफ्नै नियन्त्रणमा थिएन । हामी यति थकित थियौँ कि त्यो कुनै शब्दमा व्यक्त गर्न सकिन्नँ । हिँड्दा हिँड्दा  मध्यरात बित्यो । हामीले आराम गर्ने निधो गर्यौंँ । खोलाको बगरमा देखिएका बयरका बोट जस्ता लाग्ने रुखको फेदमा हामी पल्टियौँ ।  पल्टने बित्तिकै प्रायः हामी सबै निदाएछौँ । करीब २ घण्टाको आरामपछि हामी ब्युझियौँ । ब्युझँदा, शक्ति आर्जन भएको महसुुस भयो । हामी फेरि आफ्नो बाटो लाग्यौँ । मिर्मिरे उज्यालो हुँदा आमभञ्ज्याङ्ग गाविसको डुम्रे कुनाको सिमल बोटको फेदमा हामी आइपुग्यौँ । हामीलाई बाटोको त्यहाँसम्म गाइड गरेर वीरबहादुर लामा हामीबाट बिदा हुन लाग्नुभो । वहाँलाई एक्लै विदा गर्न हाम्रो मन मानिरहेको थिएन । 

हामी चुनो खोलाको छेउमा दही–चिउरा खाएर दरिला हात मिलाउँदै वीरबहादुरलाई विदा ग¥यौँ । प्रदीप नेपाल र अशोक न्यौपानेको वीरगञ्जमा चिनजान भएकोले वीरगञ्ज जाने योजनाका साथ अगाडि बढ्नुभयो । राजेन, धर्म, भिष्म र जीवनको दुईटा टोलीसँगै अगाडि बढ्यो । म, घनेन्द्र र कामेश्वर बीचको बाटो समातेर अगाडि बढ्यौँ । केही क्षणसम्म हामी एक अर्कालाई देख्तै थियौँ तर साथीहरू हाम्रा आँखाबाट क्रमशः ओझेल परे । 

अब हामी तीनजनाको मात्र टोली बाँकी रह्यो । जङ्गलको गोरेटो समातेर हामी हिँड्न थाल्यौँ । बाटामा केही मान्छेहरु भेटिँदै गए । उनीहरूसँग पनि गफगाफ गर्दै र त्यस ठाउँको स्थितिको सामान्य जानकारी लिँदै हिँड्यौँ । हिँडिएको बाटो कहाँ पुग्ने हो कुनै पत्तो थिएन । बाटामा भेटिएका मान्छेसँग सोध्नु पनि उपयुक्त ठानेनौँ । 

हामी थकित थियौँ । हिँड्न कठिनाई भइरहेको थियो । रुखको शितल छहारीमा आराम गर्दै हामी हिँडिरह्यौँ । जङ्गलमा चराहरू स्वतन्त्रताका उडान उड्दै थिए । बाँदरहरू आफ्ना बच्चा च्यापेर एउटा रुखबाट अर्को रुखमा उफ्रँदै थिए । हामीहरु पनि यस्तै स्वतन्त्रता र जनताको मुक्ति चाहन्थ्यौँ । यसैका निम्ति हामी जेलबाट भागेका थियौँ । जङ्गलमा हाम्रो उपस्थितिले चराचुरुङ्गीहरूको स्वतन्त्रता बिथोलिएको जस्तो लाग्थ्यो । हामी भने आफ्नो स्वतन्त्रताका निम्ति निरन्तर हिँडिरहेका थियौं । एक बजेतिर जङ्गलबाट हामी एउटा ठूलो बाटोमा निस्कियौँ । त्यहाँ गाडीहरू मोटरसाइकल र ट्रकहरू गुडिरहेका थिए । हामी बजारभित्र पस्यौँ । बजार निकै ठूलो थियो । हामी अझ अगाडि बढ्यौँ । टाँगिएका साईबोर्डहरूबाट थाहा भयो, हामी हेटाँैडा बजारमा पुगेछौँ । हामी काठमाडौँ लागिरहेका रहेछौँ । त्यहीबाट हामी फक्र्यौं । अगाडि प्रहरी कार्यालय रहेछ । प्रहरीहरू वरपर गरिरहेका थिए ।

मैले घनेन्द्र र कामेश्वरलाई भनेँ ‘म एक्लै अगाडि जान्छु । तपार्इँहरू मलाई हेर्दै बिस्तारै आउनुहोस् । मलाई समाते भने तपाईँहरू भाग्नुहोला । मलाई वास्ता गरेनन् भने तपार्इँहरू पनि आउनुहोस् ।’ म प्रहरी कार्यालयको छेउ हुँदै मूलबाटो छोडेर गाउँतिर लागेँ । पुलिसहरू आपसमा गफ गरिरहेका थिए । घनेन्द्र र कामेश्वर पनि मेरोपछि आउनुभयो । हामी गोरेटो हुँदै उकालो चढ्यौँ । एउटा घरमा पुग्यौँ । काम गरेर थकित भएका मान्छे आराम गर्दै बसेका रहेछन् । उनीहरूले हामीलाई चिने जस्तो गरे । हामी झसङ्ग भयौँ । बस्न आग्रह गरे, पानी खान दिए । उनीहरूलाई धन्यवाद दिएर हामी हिड्यौँ । केही समय उनीहरुले देखाएको बाटोतर्फ लाग्यौँ । त्यसपछि एउटा गोरेटो हुँदै पथलैया जाने मूलबाटोमा हामी निस्क्यौँ । त्यहाँ गाडी, ट्रक, दगुिररहेका थिए । हामीहरूबीच हिँडेर जाने कि गाडी चढेर जाने भन्ने बारेमा विवाद भयो । घनेन्द्र र कामेश्वर गाडीबाट जाने हुनुभयो । गाडी रोक्नुुभयो । वहाँहरूसँगै म पनि गाडी चढेँ । 

गाडी चढेपछि अझ सङ्कट त थपिने नै भयो । हामी सतर्क भएर गाडीमा बस्यौँ । गाडीभित्रका यात्रीहरूलाई सावधानीपूर्वक नियाल्यौँ । गाडीभित्रका सबै यात्रुहरु सामान्य जस्ता लागे । गाडी रोकिने र मान्छे चढ्ने स्टेशन÷स्ट्यान्डमा हामी धेरै ध्यान दिन थाल्यौँ । गाडी अगाडि बढी नै रह्यो । हामीलाई पथलैया नजिक गाडीले पु¥यायो । धेरै गाडीहरू लाम लागेका थिए । प्रत्येक गाडीलाई रोक्तै पुलिसले खानतलासी गरिरहेका थिए । गाडी रोकिने बित्तिकै हामी गाडीबाट ओर्लियौं । हामी गाडीबाट ओर्लिएको पुलिसले देखेनन् । पुलिसले गाडीलाई घेराउ गरे ।

हामी उनीहरूका गतिविधि नियाल्दै सामान्य बटुवाजस्ता भएर एक्लाएक्लै वीरगञ्ज जाने बाटोतर्फ अगाडि बढयौँ । पुलिसलाई छलेर उम्कन सकेकोमा हामी निकै खुशी पनि भयौँ । हामी तीनजना एक्लाएक्लै हिँडिरहेका थियौँ । घनेन्द्र अघिअघि हिँडिरहनुभएको थियो । वहाँ टक्क उभिनुभयो । ‘मलाई चिन्ने मान्छे आउँदैछ, ऊबाट छलिनुपर्ने भयो’ वहाँले भन्नुभयो । ऊबाट छलिन के गर्ने त ? हामी एउटा सानो पसलमा केही किनेर खाने सल्लाह गरेर गयौँ । पसल सामान्य थियो । चिया खाँदा ढिलो हुन्छ भनेर दही मगायौँ । पसलेले दही ल्याउन केही ढिलो ग¥यो । उत्तरतिर जङ्गल थियो । त्यतातिरको ढोका लगायो । ‘दही छैन भने हामी जान्छौँ’ हामीले भन्यौं । ‘अमिलो भएकाले चिनी लगाउँदा समय लाग्यो’ पसलेले भन्यो र हामीलाई दही ल्याइदियो । 

हामी पसलमा बसेर दही खाँदै थियौँ । ३/४ जना पुलिस देखापरे । हामी अन्योलमा प¥यौँ । भाग्ने ठाउँ थिएन । पुलिसले भन्यो ‘तपार्इँहरूलाई साहेबले एकछिन बोलाउनुभएकोछ, अफिसमा जाउँ !’ ‘किन ? हामी बाटो हिँड्नेहरूलाई साहेबले किन बोलाएको ? हामी दही खाँदैछौँ, खाइसकेर आउँछौँ । तपाईहरू जानुहोस्’ हामीले भन्यौँ । त्यसैबेला हामीलाई दही दिने पसलेले भन्यो, ‘तपाईँहरु पुलिसको कब्जामा परिसक्नु भो, खुरुक्क जानुहोस् ।’ मैले भनँे ‘ल तपाईहरू दहीको पैसा बुझाएर आउनुहोस् । म जाँदैछु ।’ म जुरुक्क उठेर हिँड्न लागेँ । प्रहरीले मलाई समात्यो । अर्को प्रहरीले घनेन्द्रलाई समात्यो । हामी मूल बाटोतर्फ अगाडि बढ्यौं । त्यसैबेला कामेश्वरले दिएको पैसा साट्न गएको मौका छोपी उत्तरतिर जाने ढोका थुनेर बसेकी महिलालाई हातमा तानेर ढोका खोलेर जंगलतिर पसेछन् । ‘भाग्यो ! भाग्यो !!’ भन्दै प्रहरी र पसलेहरूले हल्ला गर्नथाले । अब हाम्रो चुपचाप बस्ने अवस्था थिएन । हामी दुवै जनाले बल प्रयोग गरेर पुलिसको हात छुटायौँ । पुलिसको पञ्जाबाट उम्कने अन्तिम कोशिश गर्यौँ । ‘चोर, चोर’ भनेर पुलिस हल्ला गर्न थाले । चारैतिरबाट पुलिस, ड्राईभर, खलासी, बटुवाहरू समेत हाम्रो बाटो छेक्न आइपुगे । हामीमा उत्साह थियो, जोश थियो, उम्कन खोज्ने आँट थियो । तर हाम्रो शरीर यति थकित थियो कि त्यो घेरा तोडेर उम्कने कुनै सम्भावना थिएन । आपूm मरेर भए पनि साथी उम्काउने, बचाउने हाम्रो प्रयत्न थियो । बाटामा दगुरेका हामीलाई नसमाती जङ्गलमा पसेको मान्छे खोज्न जाने कुरा भएन । जङ्गलमा पच्छ्याउँदै गएको एक प्रहरीलाई कामेश्वरले एकपल्ट झम्टेपछि ऊ फर्केर  भागेछ । हामी कामेश्वरलाई उम्काउन पुलिसलाई आपूmतिर केन्द्रित गरिरहेका थियौँ । करिब २०/२५ मिनेट हामीबीच घम्साघम्सी भयो । अन्ततः प्रहरीले हामीलाई गिरफ्तार गरे र पथलैया चौकीमा पुर्याए । 

हामीलाई गिरफ्तार नगरुन्जेल कामेश्वरलाई पिछा गर्न प्रहरीको जनशक्तिले भ्याएन । चौकी रुँगने केही प्रहरीबाहेक अरु सबै प्रहरी र सेनाहरू काठमाण्डौँबाट निस्कने सम्भावित नाकाहरूलाई घेरा दिएर बसेका रहेछन् । गिरफ्तारीको सूचनापछि हाम्रो खोजीमा निस्केका सेना र प्रहरीहरू वीरगञ्जतिरबाट आउन थाले । एसपी, अञ्चलाधीश र सिडीओहरूको आगमन शुरु भयो । हामीलाई गिरफ्तार गरिएका ठाउँमा त्यहाँ बसेका प्रहरीका हातमा हाम्रा फोटा रहेछन् । फोटा हेर्ने वित्तिकै उनीहरुले हामीलाई जेलबाट भागेका हुन् भनेर चिनिहाले । हामीले सहज ढङ्गले स्वीकार गर्ने कुरो भएन । उनीहरूले हाम्रो कुइँनो र घुँडाको जाँच गरे । हाम्रा कुइँना र घुँडा सुरुङबाट निस्कँदा दरफरिएका रहेछन् । फोटो र घुँडा—कुइँनाको चोटहरूका कारण हामी जेलबाट भागेकै हौँ भन्ने उनीहरुले यकिन गरे । हामीलाई असामान्य ठानेर गिरफ्तार गर्न सहयोग गर्ने र हेर्न आउनेको ठूलो भीड जम्मा भएको थियो । 

यस्तो स्थितिमा हामीले गिरफ्तारीको सूचना सार्वजनिक गर्नु उपयुक्त ठान्यौँ र उनीहरूले ‘तिमीहरू जेलबाट भागेका कैदी नै हौ ?’ भन्दा हामीले ‘हौँ, हामी झापा आन्दोलन गर्ने कम्युनिष्ट क्रान्तिकारी हौँ । नख्खु जेलबाट सुरुङ खनेर भागेका हामी नै हौँ । निरङ्कुश राजतन्त्र र पञ्चायती व्यवस्था समाप्त गरी गणतन्त्र स्थापना गर्न जेल फोरेर बाहिर आएका हौँ’ भनेर बतायौं । हाम्रो कुरा त्यहाँ जम्मा भएका धेरै मान्छेहरूले सुने । त्यसपछि त्यहाँ जम्मा भएका मान्छेलाई त्यहाँबाट हटाउने प्रहरीले कोशिस गरे । तर त्यहाँ भेला भएका मान्छेहरू हट्न मानेनन् । स्थानीय बासिन्दाहरू हाम्रा कुरा उत्सुकतापूर्वक सुन्न चाहिरहेका थिए । त्यसपछि हामीलाई गोप्य कैदी राख्ने कोठामा लगियो । कामेश्वरलाई लखेट्न प्रहरीको टोली दगुरे । जङ्गललाई घेराबन्दी गर्ने आदेश दिइयो । एकातिरबाट सेनाको घेरा शुरु भयो भने अर्कातिरबाट प्रहरीको । सेना र प्रहरी बीचमा आपसी भीडन्त नहोस् भनेर सतर्क गराइएको समेत सुनियो। 

बारा र पर्साका चौकीहरुमा सीमित प्रहरी राखेर सबै प्रहरी र सेना काठमाडौँबाट निस्कने सम्भावित नाकाहरूलाई घेराबन्दी गर्न गएका रहेछन् । हाम्रो गिरफ्तारीको सूचना पाएपछि उनीहरू फर्कने क्रम सुरु भयो । सेना र प्रहरीले जङ्गल घेराउ गर्ने र राजमार्गतिर निगरानी अझ कडा बनाउन थाले । अञ्चलाधिश, एसपी  र सिडिओ सहितको टोली हामी गिरफ्तार भएको ठाउँ पथलैया आइपुग्यो । 

घनेन्द्र र मैले सल्लाह गरिसकेका थियौँ: ‘हामीलाई मार्छन् नै । जतिसुकै र जस्तासुकै यातना दिए पनि हामीले साथीहरू कता कता गएका छन् भन्ने कुरा ज्यान गए पनि नभन्ने ।’ 

जेलबाट सुरुङ खनेर भागेको, माटो लुकाएको कुरा जस्ताको तस्तै भन्यौँ । हामी शारीरिक रुपमा दुई अलग–अलग व्यक्ति थियौँ । तर मानसिक रूपमा हामी एउटै जस्ता थियौँ । हामी देश, जनता र पार्टीका निम्ति एक भएर मर्न तयार भयौँ । हाम्रा सोचाई र भावनाहरु एउटै थिए:  ‘साथीहरूलाई बचाउने, आन्दोलनलाई बचाउने ।’ यो शक्ति प्राप्त गर्न हामीलाई २१ फाल्गुणमा शहादत प्राप्त गर्ने शहीदहरूको त्याग र बलिदानले उत्प्रेरित गरिरहेको थियो । चन्द्रबहादुर डाँगी र राम प्रधानका बलिदानी आदर्शले उत्प्रेरित गरिरहेको थियो । हामीले मृत्युसँग जुझ्ने सङ्कल्प गर्दै बयान दिने योजना बनायौँ । 

रात छिप्पिँदै थियो । अञ्चलाधिश, एसपी, सेनाका अफिसरहरु हाम्रो बयान लिने ठाउँमा जम्मा भइरहेका थिए । उनीहरूले हामीलाई ‘जेलबाट भाग्ने योजना कसरी बनायौ ? सुरुङ क–कसले खन्यौ ? कुन कुन औजारले सुरुङ खन्यौ ? जेलभित्र ती औजार कसले दियो ? जेलका को को बन्दी, कैदीले सहयोग गरे ? माटो कहाँ राख्यौ ?’ आदि कुरामा बयान लिए । ‘हामी १५ जना मिलेर सुरुङ खनेको, १५ जनाभन्दा अरु कसैलाई पनि थाहा नभएको हामीले भन्यौँ । भाग्ने योजना ४/५ महिना पहिलेदेखि सुरु गरेको बतायौँ । सुरुङ खन्न एउटा सानो कुटो, पन्यूँ, छाताको भाँचिएको फलामे डण्डी प्रयोग गरेका थियौँ’ आदि सबै बतायौँ । बारी खन्न ल्याएको एउटा कुटो लुकाएर राखेको र छाताको रड बारीमा भेटेको बतायौँ । सुरुङबाट निस्केको माटो जुन ठाउँमा राखेको थियो त्यो पनि जस्ताको तस्तै बतायौँ । जेलबाट भाग्दा को कता लागे भन्ने कुरा हामीलाई थाहा छैन भन्यौँ । बन्दी, कामदार र प्रहरीको कसरी ड्युटी गरेर छक्यायाँै, नेपाली काँग्रेसका साथीहरूलाई कसरी बाटो बनाउने र साँस्कृतिक कार्यक्रम गर्न उत्साहित गर्यौँ आदि कुरा गर्यौँ । कसैले खन्ने औजार हामीलाई नदिएको, कुनै पनि बन्दीहरुलाई हामी भाग्ने कुरा थाहा नभएको कुरा हामीले आफ्नो बयानमा भन्याँै । भागेका साथीहरु को को कता लागेका छन् भन्ने कुरामा उनीहरुले हाम्रो बयान केन्द्रित गरे । ‘को को कता गएका छन् साँचो भन’ भनेर यातना दिए । हामी दुबै जनाले एउटै बयान दोहो¥यायौँ । पथलैयामा दुवै जनाको एकै ठाउँमा बयान लिएकाले पनि हामीलाई बयान दिन सजिलो भयो ।

बाहिर निकै ठूलो हल्लाखल्ला चलिरहेको थियो । प्रहरीहरूको भोजभतेर सुरु भइरहेको थियो । त्यस दिनको हाम्रो बयान सकेर षड्यन्त्रको तानाबाना बुन्न प्रशासन व्यस्त थियो । हामीलाई इच्छा अनुसारको खाना ल्याउन आदेश दिइयो । दही र जाउलो जस्तै थोरै खानेकुरा खान दिइयो । दिएको खाना खाएरै मर्ने हामीले निश्चय गर्यौंँ । 

राती ११ बजेको हुँदो हो, पथलैयालाई अन्धकार बनाइयो । अञ्चलाधिश, सिडिओ, सेना र प्रहरीका गाडीहरू लामबद्ध  थिए । हामीलाई कामेश्वरको चिन्ता लागिरहेको थियो । ‘वहाँ कहाँ पुग्नुभयो होला ? भेटेर मारे कि ?’ हामी वहाँको विषयमा चिन्तित थियौँ । 

हामीलाई हत्कडी लगाएकै थियो । फेरि डोरीले बाँधियो । पशुलाई बाँधेर ताने जसरी हामीलाई प्रहरीले तान्न थाले । हाकिमको कठोर व्यवहार देखेका प्रहरीहरू हामीसँग हिँस्रक रूपमा प्रस्तुत भएका थिए । हामीलाई गाडीमा हालियो । लामबद्ध गाडीहरू अगाडि बढे । केही तल झरेपछि गाडी जङ्गलतर्फ मोडियो । हामीले अनुमान गरेका थियौँ– अब हामीलाई मृत्युसँग साक्षात्कार गराइनेछ । सबै स्वार्थबाट मुक्त मान्छे मृत्युमाथि विजय पाउन सक्छ । हामीलाई यस्तै भइरहेको थियो । हामीले एक–अर्काका हात दह्रोसँग समातेका थियौँ । गोली हान्नुभन्दा पहिला नारा लगाउने सल्लाह गर्यौंँ । हामीलाई राखिएको गाडीको अघिल्लो सिटमा बसेकोले भन्यो, ‘साहेब यो कुन एक्सन हो ?’ अर्कोले भन्यो, ‘यो थर्ड एक्सन हो ।’ ‘पहिलो र दोश्रो एक्सन कहाँ भयो साहेब ?’ ‘पहिले इलामको सुखानीमा र दोश्रो ललितपुरका नख्खुमा ।’ यस्तै गफ गर्दै उनीहरू जङ्गलतर्फ अगाडि बढे । जङ्गलको भित्री भागमा एउटा खुल्ला र भिरालो ठाउँमा पुगेर गाडी रोकियो । हामीलाई गाडीबाट बाहिर चौरमा निकाले । उता वाकीटकीबाट उनीहरु कुरा गरिरहेका थिए । सीपी मैनाली र राजेन राजवंशीको कुरा गरे । अञ्चलाधिशले भन्यो ‘यिनीहरूलाई फर्काउनुपर्ने भयो । अब छाला काडेर सीपी मैनालीलगायतका कैदी कता भागेका छन्, सबै कुरा खुलाएर मात्र यिनीहरूलाई मार्ने हो’ भन्दै पुनः गाडीमा राख्न आदेश ग¥यो । हामी त्यसदिन यसरी मृत्युबाट बच्यौँ । हामीलाई फर्काएर पथलैया हुँदै एसपी कार्यालय पुर्याइयो । 

भोलिपल्ट बिहानैदेखि हामीसँग पुनः बयान लिन सुरु गरियो । यातनाका विभिन्न रूपहरू प्रयोग गरिए । पैतालामा कुट्ने, खुर्सानी पानी नाकबाट लगाउने, हातमा खुट्टामा घुँडामाथि पेल्ने आदि यातना दिइनै रहे । जस्तै यातना दिए पनि हामीले आफ्नो बयानलाई परिवर्तन गरेनौँ । हामी गिरफ्तार भएको दुईदिनपछि नारद वाग्लेलाई हामी बसेको ठाउँमा लिएर आए । निर्मम यातना दिइयो । म जेलबाटै टिबीले सताइएको बिरामी थिएँ । भाग्ने क्रममा औषधि नखाइकन बोकेर हिँडेको थिएँ । यातनाले सम्पूर्ण शरीर सुन्निएको थियो । म रोगले सिकिस्त थिएँ । मलाई अस्पताल पु¥याइयो । डाक्टरले मेरो मुद्दा र रोगको बारेमा सोधे । म कम्युनिष्ट कार्यकर्ता भएको र जेल फोरेर भागेका कुरा उनलाई बताएँ । म टिबीको बिरामी भएको र रगत वान्ता भइरहेको समेत बताएँ । मेरो रगत र खकारको परिक्षण गरियो । टिबीको गम्भिर बिरामी भएको रिपोर्ट आयो । डाक्टरले ममाथि दया गरेर हो वा के हो बिरामीको गम्भिर अवस्था रहेको, औषधि नियमित सेवन गर्नुपर्ने, औषधि सेवनपछि दुध, अण्डा र १०० ग्राम मासु दिनुपर्ने सिफारिस गरे । कस्टडीमा रहेको बन्दीलाई यो सुविधा उपलब्ध गराउन बजेट नभएको कुरा प्रहरीले ग¥यो । डाक्टरले ‘बिरामीको अवस्था अनुसार सिफारिस गर्ने काम हाम्रो हो’ भने । त्यसपछि ममाथि यातनाको क्रम रोकियो । घनेन्द्र र नारदमाथि यातना रोकिएन । दुई—तीन दिनसम्म मलाई भने एउटा अण्डा र एक गिलास दुध दिन थाले । घनेन्द्र र मबाट ४५/४५ रूपैयाँ पुलिसले लिएको थियो । त्यही पैसाबाट मलाई अण्डा र दुध र साथीहरुलाई चिया दिएका रहेछन् । 

धेरै दिन बसेपछि प्रहरीहरू हामीसँग प्रभावित हुन थाले । नारद र घनेन्द्र देशभक्तिपूर्ण गीत गाउँनुहुन्थ्यो । हाम्रा व्यवहार र गीतहरूले हाम्रो ड्युटीमा रहेका प्रहरीहरू हामीसँग प्रभावित हँुदै गए । वीरगञ्ज जेलमा झापा आन्दोलनका अरु साथीहरू हुनुहुन्थ्यो । त्यसमध्ये तुलसी सिलवाल मेरो आफन्त भएकोले हिरासतबाट पत्र लेखेर रु. १००।– मागेर प्रहरीको हातबाट तुलसीलाई पठाएँ । तर पत्र लिएर प्रहरी गएकाले वहाँले प्रहरीसँग कुनै सम्पर्क नै गर्नु भएन । पैसा आउने कुरै भएन । त्यसपछि हामी तीन जनाले सल्लाह गरेर मेरो पेन्ट बेच्ने र आर्थिक सङ्कट समाधान गर्ने निधो गर्यौँ । एकजना प्रहरीले मेरो पेन्ट किनिदिए । तर बेचेको दुई दिनपछि उनी पेन्ट लिएर आए र पैसा फिर्ता मागे । त्यसबेला सम्ममा हामीले ८÷१० रूपैयाँ खर्च गरिसकेका थियौँ । हामीले केही पैसा खर्च भइसकेकोले सबै पैसा फिर्ता दिन नसक्ने बतायौँ । साथै ‘पेन्ट किन फिर्ता गरेको ?’ भनेर सोध्यौं । उनले भने, ‘तपाइँहरूलाई मार्ने कुरा चल्दैछ । त्यसैले म यो पेन्ट किन्दिनँ । तपाइँहरूलाई मारेपछि मरेका मान्छेले लाएको पेन्ट कसरी लगाउने ? तपाईहरुले खर्च गरेर बाँचेको पैसा कति छ त्यो फिर्ता  दिनुहोस् ।’ हामीले आफ्नो पेन्ट फिर्ता लिएर बचेको पैसा फिर्ता गर्यौँ ।

भुवनचन्द्र भट्ट हाम्रो बयान लिन काठमाडाँबाट वीरगञ्ज पुगे । उनले पनि डर, त्रास देखाएर हाम्रो बयान लिन कोशिश गरे । हामी आफ्नो अडानबाट डगमगाएनौँ । एकजना खरेल थरका इन्स्पेक्टर थिए । उनले हामीलाई यातना दिने, अश्लिल गाली गर्ने र अपमान गर्ने गर्थे । म खरेल भएर कम्युनिष्ट भएकोमा कुलकै अपमान भएको भनेर मेरो निन्दा गर्थे । यस्तै यातना, तिरस्कार र अपमान सहेर हामीले २५/२६ दिनसम्म वीरगञ्जको एसपी कार्यालयमा बितायौँ । हामी मानसिक रूपमा मृत्युलाई कुरेर बसेका थियौँ । तर हामीले मृत्युको त्यो दुःखद स्थितिको सामना गर्नु परेन  । एउटा गाडी र केही प्रहरी हतियारसहित तैनाथ भएर बसेका रहेछन् । हामीलाई तुरुन्त तयार भएर गाडीमा बस्ने आदेश गरियो । हामीलाई कस्टडीबाट निकालियो । हत्कडी लगाइयो र डोरीले बाँधियो । गाडीमा राखियो । त्यही खरेल इन्स्पेक्टरकै कमाण्डमा हामीलाई कस्टडीबाट हिँडाइयो । कता लाने हो हामीलाई कुनै पत्तो थिएन । गाडी गुड्दै पथलैयातर्फ अघि बढ्यो । मारिदिने धम्की र गाली इन्स्पेक्टर खरेल दिइरहेका थिए । पथलैया कटेर जब गाडी हेटाँैडातर्फ अगाडि बढ्यो हामीलाई काठमाण्डौँ लगिँदै गरेको अनुमान गर्यौंँ । हामीलाई हेटौँडा हुँदै पृथ्वी राजमार्गबाट सिमभञ्ज्याङ्ग भएर काठमाडौँ ल्याइयो । काठमाडौँ आइसकेपछि डिआईजी पदमबहादुर मानन्धरले हामीलाई हेर्न चाहेका रहेछन् । हामीलाई डिआईजी पदमबहादुर मानन्धरसँग भेट गराइयो । तिनै मानन्धरले झापामा हामीलाई गिरफ्तार गरेका थिए । उनले फूर्तिसाथ भने प्रहरीहरूलाई झुक्याएर भागेछौ । प्रहरीहरूको चातुर्यले फेरि तिमीहरूलाई समाउन सफल भइयो । प्रहरीको आँखाबाट कहिल्यै उम्कन सक्तैनौ । हामीले भन्यौँ, ‘प्रहरीको चातुर्यले होइन, हाम्रो गल्ती— कमजोरीले हामी गिरफ्तार भएका हौँ । हामीलाई आफ्नो गल्ती कमजोरीप्रति पश्चात्ताप छ ।’ यस्तै कुराकानीपछि उनले हामीलाई फेरि नक्खु जेलमा लिएर जाने आदेश दिए । 

बेलुकाको तीन बजेको थियो । हामीलाई नक्खु जेल पुर्याइयो । जेलको वातावरण अत्यन्त आतङ्कपूर्ण थियो । जेल प्रशासन परिवर्तन भएको रहेछ । चन्द्रबहादुर खत्री नयाँ जेलर भएर आएका रहेछन् । जेलभित्र ड्युटी गर्ने हवल्दारको हामी भागेको कुरा सुनेर हर्टअट्याक भएर मृत्यु भएको रहेछ । भित्रको सबै जेल प्रशासन परिवर्तन भएको रहेछ । हामीलाई नेल र हत्कडी लगाएर गोलघरतर्फ लगियो । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद भट्टराई समेत सयौँ नेता—कार्यकर्ता र जेलका बन्दीहरु हामीलाई जेलमा ल्याएको लाम लागेर हेरिरहेका थिए । जेलभित्र पस्ने बित्तिकै कृष्णप्रसाद भट्टराईले ‘जेलको यत्रो सुरक्षा घेरालाई तोडेर सफलतापूर्वक सुरुङ खनेर भाग्न सक्नुभएकोमा तपाइँहरुलाई बधाई छ र पुनः गिरफ्तार हुनुभएकोमा दुःख व्यक्त गर्दछु’ भन्नुभयो । हामीले वहाँलाई एक स्वरले धन्यवाद दियौँ । हामीलाई गोलघरमा हालियो, बोल्न दिइएन । 

नक्खु जेल पुगेपछि थाहा भयो पुराना चौकिदार मकरध्वज बस्नेतलाई चरम यातना दिइएको रहेछ । यातनाबाट उनी अपाङ्ग भएका रहेछन् । हाम्रो पुनः गिरफ्तारीपछि हामी १५ जना बाहेक कसैलाई कुनै कुरा थाहा नभएको बयान दिएपछि र सबै काम गर्ने हामी हो भनेर बयान गरेपछि उनीहरूलाई यातना दिन छोडिएको रहेछ । फत्तेबहादुर सापकोटालाई पनि भाइ चौकिदारबाट हटाइसकिएको रहेछ । जङ्गबहादुर श्रेष्ठ नयाँ चौकिदार बनेका रहेछन् । उनी ठूला सामन्त र खुङ्खार कम्युनिष्ट विरोधी थिए । उनी चौकिदार भएपछि कम्युनिष्टलाई मायाँ गर्ने बन्दीहरूमाथि चर्को दमन शुरु गरिएको रहेछ । नाइके र कामदार प्रायः नयाँ रहेछन् ।

पुराना नाइकेमा महाराज तेली, छोटामियाँ, दारिवाल आदि थिए । छोटामियाँ गोलघरको नाइके थियो । उसले हामीलाई अत्यन्त थोरै खाना दिन्थे । जसका विरुद्ध हामीले आन्दोलन गर्नुप¥यो । जेलमा रहेका हाम्रा साथीहरु सूर्य कन्दङ्गवा र मोहन उप्रेतीलाई जेल बे्रकमा आफ्नो संलग्नता नभएको बयानमा छोडिएको रहेछ । हामी जेल पुगेपछि वहाँहरुको अत्यन्त महत्वपूर्ण सहयोग हामीलाई प्राप्त भयो । वहाँहरूकै सहयोगबाट नाइके दिलबहादुर भुजेलले हामीलाई खाना खुवाउन थाले । 

गोलघरमा हामीलाई धेरै मानसिक यातना दिइयो । बहुलाहा राखेर फोहोर गरेको ठाउँमा राख्ने, दाँत माँझ्न, मुख धुन र नुहाउन नदिने गरे । पटक—पटक सङ्घर्ष गरेर नुहाउने अवसर प्राप्त ग¥यौँ । हामी गोलघर रहँदा गोविन्द पोख्रेल, बलराम तामाङ, नरबहादुर तामाङ र टोकबहादुर गुरुङले हामीलाई धेरै सहयोग गर्नुभयो । सुर्य कन्दङ्गवाले गोप्य रूपमा पत्र पठाएर गोलघर भित्रको हाम्रो अवस्था बुझ्न सहयोग गर्नुभयो । 

 गोलघरमा रहँदै पार्टीसँगको सम्पर्क कायम भयो । टङ्क कार्की मेरो भाइ बनेर जेलमा भेट्न आउनुभयो । वहाँ मार्फत् पहिलो जेलब्रेकपछि पार्टीसँगको सम्पर्क कायम गरियो । गोलघरका चिसा छिँडीहरूमा नेल हत्कडीले बाँधिएका हामीहरू नेकपा (माले) गठनको समाचारले प्रफुल्ल भयौँ । हाम्रो खुसीको कुनै सीमा रहेन ।

यस्तै अवस्थामा चिनियाँ कम्युनिष्ट पार्टीका नेता देङ् स्याओ पिङ्को नेपाल भ्रमण भयो । उनको भ्रमणसँगै गोलघरबाट दिनभर हामीलाई घुमफिर गर्ने र बन्दीहरूसँग भेटघाट र छलफल गर्ने अवसर प्राप्त भयो । यो अवसरलाई हामीले राम्ररी उपयोग गर्यौँ । विभिन्न मुद्दामा आएका बन्दीहरूसँग सम्पर्क विस्तार गर्यौंँ र पार्टीको नीति अनुसार उनीहरूलाई सङ्गठित गर्ने काम गर्यौँ । यसरी हामी गोलघरमा रहेर नेल र हत्कडीले बाँधिएकै अवस्थामा पनि राजनीतिक कामलाई जारी राख्दै जेललाई पार्टी कामको एउटा इकाई बनाउने काममा निरन्तर लागिरह्यौँ । 

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ९ : १५ बजे