‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

वैदेशिक रोजगारीको उपज: बढ्दै छ सम्बन्ध विच्छेदका घटना

काठमाडौँ । विवाह गरेको चार वर्ष नपुग्दै सीता (नाम परिवर्तन) र सुमन (नाम परिवर्तन) सम्बन्ध विच्छेदको प्रक्रियामा हुनुहुन्छ । दुवै जनाले जिल्ला अदालत काठमाडौँबाट सम्बन्ध विच्छेदको तयारी गर्नुभएको हो । 

त्यसो त उहाँहरूको झन्डै दुई वर्षको प्रेम सम्बन्ध चार वर्षअघि मात्र विवाहमा परिणत भएको थियो । काठमाडौँकी सीता दुलही भएर दोलखा भित्रनुभएको थियो । विवाहपछि झन्डै दुई वर्षसम्म सुमनले काठमाडौँमा गाडी चलाएर गुजारा चलाउँदै आउनुभएको थियो । उहाँकै कमाइले आठ जनाको परिवार चलेको थियो । विवाहको एक वर्षपछि उहाँहरूको छोरा जन्मियो । त्यसपछि भने गाडी चलाएको भरमा घर व्यवहार चलाउन मुस्किल हुन थाल्यो । 

परिवारमा परेको आर्थिक भारकै कारण सुमन श्रीमतीकै आग्रहमा २०७६ सालमा वैदेशिक रोजगारीका लागि मलेसिया जानुभयो । उहाँ मलेसिया गएपछि सीता छोरालाई पढाउन भन्दै काठमाडौँ आउनुभयो । मलेसियामा सुमनको कमाइ पनि राम्रै थियो । मलेसियामा कमाएको पैसा उहाँले श्रीमतीकै खातामा पठाउनुहुन्थ्यो । अझै कमाइ राम्रो हुँदै गए काठमाडौँमै घर बनाउने योजना थियो उहाँहरूको । तर पारिश्रमिक नबढेपछि भने थप समयावधि थपेर बस्न मिल्ने भए पनि सुमन नेपाल नै फर्कनुभयो । 

नेपाल फर्किसकेपछि भने उहाँहरूबीच आपसी बेमेल बढ्दै गयो भने दिनहुँजस्तै झगडा हुन थाल्यो । आफन्त र घर परिवार सबैतिर यही विवाद चर्कँदै गयो । सुमन वैदेशिक रोजगारीमा रहँदा परपुरुषसँग लागेको भन्दै मानसिक तनाव दिन थालेको सीताको आरोप थियो । उहाँले चक्रपथ डटकमसँगको कुराकानीमा भन्नुभयो, “साना साना कुरामा पनि उहाँ मलाई शङ्का मात्र गर्नुहुन्छ, मैले कमाएको सबै पैसा सकिस् भन्ने आरोप मात्र लगाउँदै आउनुभएको छ । त्यसै कारण अब सम्बन्ध विच्छेद बाहेक अरू विकल्प हुनसक्छ त ?”

सुमन पनि आफू मलेसिया रहँदा नियमित रूपमा पैसा पठाउने गरेको बताउनुहुन्छ । सुमनले भने सीताले आफूले पठाएको पैसा सकेको आरोप छ । अब उहाँहरू दुवै जना एक अर्कासँग जिन्दगी बिताउन चाहनुहुन्न । त्यही कारण नै उहाँहरू पारिवारिक सल्लाहमै सम्बन्ध विच्छेद गर्दै हुनुहुन्छ । 

सुमन र सीता जस्तै अञ्जना र श्याम (नाम परिवर्तन) पनि सम्बन्ध विच्छेदकै लागि काठमाडौँ जिल्ला अदालत आइपुग्नुभएको छ । उहाँहरू दुवै जना साइप्रसबाट अघिल्लो वर्ष मात्रै नेपाल फर्कनुभएको हो । आफूहरू आपसी सल्लाहमै सम्बन्ध विच्छेद गर्न लाग्नुभएको उहाँहरूको भनाइ छ । 

श्याम भन्नुहुन्छ, “दुवै जना सँगै हुँदा भन्दा अलग रहँदै खुसी हुने भएकाले नै सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेका हौँ ।” अञ्जनाले भने सानातिना कुरामा पनि दुवै जनाएको एकमत नरहँदा सम्बन्ध विच्छेदलाई नै विकल्प बनाएको बताउनुभयो । 

जिल्ला अदालत काठमाडौँको उजुरी हेर्दा पछिल्लो समय सम्बन्ध विच्छेदको सङ्ख्या बढ्दै गइरहेको देखिन्छ । सम्बन्ध विच्छेद गर्नेहरू गोप्य रूपमा नै अलग हुन चाहेको देखिन्छ । धेरै पढेलेखेका मात्र नभई आजभोलि ग्रामीण क्षेत्रका महिला तथा पुरुषहरूले समेत सम्बन्ध विच्छेद गर्न अदालतसम्म पुग्ने गरेका छन् । 

काठमाडौँ जिल्ला अदालतमा आर्थिक वर्ष २०७५/०७६ मा दुई हजार ५ सय ५६ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको थिए भने आ.व.२०७६/०७७ मा दुई हजार ७९ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । 

त्यस्तै, आ.व. २०७७/०७८ मा दुई हजार ४ सय ९१ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । चालु आर्थिक वर्षमा भने कोभिड –१९ का कारण भएको बन्दाबन्दीले अदालती प्रक्रिया सहज रूपमा सञ्चालन हुन नसक्दा विगतका तुलनामा कमै मात्र मुद्दा दर्ता भएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ८ : ०९ बजे