साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कौसी खेतीसँगै पाएको आत्मसन्तुष्टि

काठमाडौँ  ।   भनिन्छ मान्छेले इच्छा जगायो भने हरेक काम पूरा गर्न सक्छ र सफलता पनि हात पार्न सक्छ । त्यसैको उदाहरण हुनुहुन्छ, हाल काठमाडौँको तारकेश्वर नगरपालिका–४ मा बसोबास गर्दै आउनुभएका ४७ वर्षीय पुरुषोत्तम अधिकारी । आजभोलि कौसी खेती अधिकांशका लागि नयाँ लाग्न सक्छ । कोभिड–१९ का कारण लकडाउन९बन्दाबन्दी० का समयमा धेरै मानिसले समयको सदुपयोग गर्न कौसी खेती गर्न थाले पनि अधिकारीका लागि भने यो खेती नयाँ होइन् । 

नुवाकोट जिल्लाको साबिक तारुका गाउँ विकास समिति ९हाल तारकेश्वर गाउँपालिका–२० मा जन्मनुभएका उहाँ सानैदेखि कृषि पेशामै होमिनुभयो । कृषिबाटै व्यावसायिक बन्न सकिन्छ भन्ने जानकारी पाएपछि अधिकारीले २०५८ सालबाट आफ्नै लगानीमा व्यावसायिक तरकारी खेती गरेर मनग्य आम्दानी गर्नुभएको थियो ।गाउँमै रहँदा उहाँले आफ्नो अध्ययनलाई निरन्तरता दिन नसकेपछि २०६५ सालमा काठमाडौँ आएर स्नातक तहमा इतिहास पढ्न थाल्नुभयो  । पारिवारिक  व्यवहारको दायित्व आफैँमाथि बढेकाले अधिकारीले  स्नातकभन्दा माथि पढाइलाई निरन्तरता कठिन भएपछि  सँगै नोकरी पनि गर्नुभयो तर  कृषि पेसा भने  केही समयका लागि छाड्नुभयो । 

काठमाडौँ आइसकेपछि उहाँले अर्बन एग्रिकल्चर ९कौसी खेती०का बारेमा केही जानकारी पाउनुभए पनि आफ्नै घर नहुँदासम्म त्यसलाई उपयोग गर्न सक्नुभएको थिएन । विसं २०७१ मा तारकेश्वर नगरपालिका–१० मा आफ्नै घर बनाउन सुरु गरिसकेपछि भने अधिकारीले कौसी खेती गर्ने सोचाइ बनाउनुभयो । उहाँले भन्नुभयो, “कौसी खेती गर्नका लागि साथीमार्फत थाहा पाएर छतलाई सुरुमा नै वाटरप्रुफ बनाएँ ।” विसं२०७२को भूकम्पअघि कौसी खेतीका लागि अधिकारीले छतमा माटो भरिसक्नुभएको थियो । छतमा माटो भर्दा उहाँले विभिन्न व्यक्तिबाट विभिन्न कुराहरु सुन्नुभयो । धेरैको भनाइ थियो, ‘छतमा माटो भर्दा घरले धान्दैन ।’ तर उहाँले कसैको पनि कुरा सुन्नुभएन । लगत्तै भूकम्प गए पनि घरलाई खासै क्षति पु¥याएन । 
भूकम्पपछि भने आफूले कौसी खेतीलाई निरन्तरता दिन थालेको जानकारी दिँदै अधिकारीले भन्नुभयो, “कौसीमा उत्पादन गरिएकोे तरकारीले आठजनाको परिवारलाई मज्जाले पुगेको छ, आफूसँग धेरै भयो भने साथीहरुलाई पनि बाँड्ने गरेको छु ।” 

अन्य तरकारीभन्दा च्याउ बढी उत्पादन हुने भएकाले आफूले बिक्री पनि गर्ने गरेको उहाँले बताउनुभयो । ओरेगानो पनि कौसीमा नै उत्पादन गरिएको छ । जुन पिज्जा बनाउन प्रयोग हुने र  बिक्री पनि सहजै हुँदै आएको छ । त्यसैगरी फलफूललगायत बिरुवा पनि आफूले उत्पादन गरेर बिक्री गर्दै आइएको अधिकारीले जानकारी दिनुभयो ।सामान्य खेतीभन्दा कौसी खेतीको लागत बढी हुने भएकाले बजारीकरण गर्दा लागत मूल्य पनि नउठ्ने उहाँको भनाइ थियो । बिस्तारै काठमाडौँ उपत्यकाका कौसी खेती गर्ने कृषकलाई जोडेर एउटा स्टलकै रुपमा तरकारी बिक्री गर्ने योजना बनाएको पनि अधिकारीले बताउनुभयो । 

कौसी खेतीले रासायनिक तरकारी विस्थापन गर्ने विश्वासमा रहनुभएका उहाँले कौसी खेतीका लागि तापक्रमअनुसार कुन मौसममा कुन तरकारी लगाउन सकिन्छ भन्ने जानकारी पहिले नै लिनु आवश्यक रहेको जानकारी दिनुभयो । “कौसीमा तरकारी खेती गर्न कोकोपिट, माटो र कम्पोस्ट मलको उपयोग मिलाएर मात्र लगाउनु उपयुक्त मानिन्छ”, अधिकारीले जोड दिनुभयो, “तरकारीका लागि आवश्यक कम्पोस्ट मल आफैँले घरमै उत्पादन गर्न सकिन्छ, त्योे पनि सुरुमा कसरी बनाउने भन्ने जानकारी लिनु आवश्यक छ ।” 

हाल उपत्यकाका सयौँ रोपनी जग्गा खाली ९कौसीको क्षेत्र० रहेको उहाँको आङ्कलन थियो । कौसीलाई मात्र उपयोग गर्न सके उपत्यकामा पर्याप्त मात्रामा प्राङ्गारिक तरकारीे बजारीकरण गर्न सकिने अधिकारीले बताउनुभयो । काठमाडौँ उपत्यकाको तापक्रम तरकारी खेतीका लागि उपयुक्त भएकाले कौसी खेती यहाँका बासिन्दालाई स्वरोजगारको बलियो माध्यम हुने पनि उहाँको जिकिर थियो । 

आजभोलि उपत्यकामा कौसी खेतीको लहर नै चलेको छ तर त्यसलाई व्यावसायिकरुपमा थोरैले मात्र अगाडि बढाएका छन् । राम्रोसँग खट्न सके कौसी खेतीबाटै मासिक ५० हजारभन्दा बढी आम्दानी गर्न सकिनेमा विश्वस्त अधिकारीले भन्नुभयो, “छतलाई नै व्यवस्थित बनाएर विभिन्न खालका फलफूलका बिरुवाहरु जस्तै ः ड्रागन फ्रुट, ओरिगानो, पपितो मेलनलगायत बिरुवाहरु बिक्री गर्न सके श्रम गर्न विदेश नै जानुपर्छ भन्ने छैन ।”

कौसी खेतीमा पोख्त भइसक्नुभएका उहाँले हालसम्म तालिम भने सञ्चालन नगरे पनि  कौसी खेती गर्न चाहने साथीभाइहरुलाई जाने जति सिकाउनाका साथै आवश्यक परेमा आफूले तालिम पनि दिने सोचाइ बनाउनु भएको छ । कौसी खेतीलाई प्रोत्साहन गर्न नेपाल सरकारले समेत अनुदान उपलब्ध गराउँदै आए पनि त्यसको उपयोग टाठाबाठा मानिसहरुले मात्र गरेको गुनासो गर्नुभएका अधिकारीले भन्नुभयो, “कौसी खेतीका लागि त्यति धेरै लागत नपर्ने भएकाले  आफ्नै लगानीमा पनि सुरु गर्न सकिन्छ ।” 

“कौसी खेती परिवारमा खुसियाली साटासाट गर्ने बलियो माध्यम पनि बनेको छ,” उहाँले भन्नुभयो, “ठूलो फर्सी फले पनि घरमा खुसियाली छाएको छ । त्यस्तै, ठूलो पातको साग अनि घिरौँला फले पनि त्यसले परिवारमा खुसी बढाएको छ ।” काठमाडौँ उपत्यकामा हरियाली वातावरण देख्न धेरै मुस्किल हुने गरेकामा आफ्नै कौसी खेतीले त्यो वातावरणको अनुभूत घरमै गर्न पाइएको बताउनुभएका अधिकारीले गर्नुभएको कौसी खेती हेर्न धेरै मानिस पुग्ने गरेका  र यसबाट घर फोहोर हुने भए पनि त्यसले छुट्टै खालको आनन्द दिने बताउनुभयो  ।
काठमाडौँ उपत्यकामा हरियालीका लागि स्थानीय सरकारले कौसी खेतीको अवधारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभएका उहाँले घर बनाउँदादेखि नै मानिसहरुले कौसी खेतीका योजना बनाउनुपर्ने र यस्ता व्यक्तिलाई सरकारले आवश्यक व्यवस्था मिलाइदिने व्यवस्था भए आयातीत तरकारीबाट छुटकारा पाइन्थ्यो भन्नुभयो ।  

हाल अधिकारीले  कौसीमा विभिन्न थरीका साग, ब्रोकाउली, बन्दा, लसुन, ड्रागन फ्रुट, पपितो मेलन, आलुलगायत नगदेबाली लगाउनाका साथै  मलका लागि केही कुखुरा पनि पाल्दै आउनुभएको छ । कौसी खेती गर्ने किसान तथा उद्यमशील जो कोहीलाई जैविक मल तथा  मूल बीउ निःशुल्क वितरण कार्यक्रम छिट्टै सञ्चालन गर्न लागेको पनि उहाँले जानकारी दिनुभयो । जैविक मल एकपटक तयार बनाएपछि वर्षौंसम्म जीवित रहने हुँदा किसानमा  रासायनिक मलखादमा हुने खर्च बचत र जैविक खेतीबाट मानव स्वास्थ्यलाई फाइदा हुने देखिन्छ । 

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ३ : २२ बजे