नेपाली समाज विकासको विश्लेषण गर्दा यो मूलभूत रूपमा सामन्तवादी राज्य संरचनाको प्रभाव रह्यो । यसभित्र जातिवाद, छुवाछूत लगायत अनेकौं भ्रमद्वारा जनतालाई विभाजित गर्ने र उनीहरूको श्रमको शोषणको परिपाटी चलाइयो । अशिक्षा, अन्धविश्वास, कुरीति र कुसंस्कारहरूको माध्यमबाट भ्रम छर्ने; स्वर्ग, नर्कको काल्पनिक चित्रण गरेर जातीय स्तरीकरणसँग मान—सम्मान र प्रतिष्ठाका विषय जोडिए । कामको आधारमा पहिचान बनाएको जातीय वर्गीकरणलाई जन्मका आधारमा जात बनाई विभेद र शोषण गरिँदै आयो । ममताकी खानी मातृ शक्ति नारीलाई अबलाको बिल्ला भिराउने काम भयो । अवैज्ञानिक, असामाजिक र अमानवीय स्वरूपका संरचनाहरू निर्माण गरिए र सदिऔँसम्म समाजलाई ‘फुटाऊ र शासन गर’को व्यवहार गरी अन्धकारमा राखियो, पछाडि पारी पछौटेपनको सिकार बनाइए । यही अन्यायमूलक, उत्पीडनयुक्त, अमानवीय र असन्तुलित समाजमा जनताबीच रहेको अचेतना र भ्रमहरूलाई चिर्दै विभिन्न कालखण्डमा यस्ता प्रवृत्तिका विरुद्ध विद्रोह भए ।
यस्ता विषयहरू नेपाल कम्युनिष्ट पार्टी र यसका विभिन्न घटकहरूले उठाउँदै आएका हुन् । पछिल्ला दशकमा नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह र ठुलो राजनीतिक शक्तिको जिम्मेवारीका हिसाबले नेकपा एमालेले यी विषयहरूलाई उठाउँदै आएको छ । यसका सचेतनापूर्ण र योजनाबद्ध अभियानहरूले सामन्तवादका अवशेषहरूलाई भत्काउन जनपरिचालनहरू भए । कहिले मेची —महाकाली अभियान, कहिले सङ्गठन शुद्धीकरण र सुदृढीकरण अभियान, पार्टी स्कुलमार्फत स्कुलिङजस्ता कामहरूले सैद्धान्तिक वैचारिक स्पष्टता ल्याउने काम गरिँदै आयो र समयसापेक्ष विश्लेषण, रणनीति र योजना निर्माण गरेर नयाँ ढिपीमा नेपाली समाजमा व्याप्त कुरीति, कुसंस्कार, अन्धविश्वास र गलत मान्यताहरू धमाधम भत्काउने कामको अगुवाइ नेकपा (एमाले)ले गर्दै आएको छ । कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरूले वर्गीय न्याय, समानता र समता स्थापित गर्न गाउँ गाउँ र बस्ती बस्तीमा गई चेतना भर्ने काम निरन्तर रूपमा गरिरहेको विषय सर्वविदित नै छ । सरकारको नेतृत्व गरिरहँदा चुनावी घोषणापत्र उल्लेखित ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई छोटो अवधिमा बहुसङ्ख्यक नेपाली जनताको मानसपटलमा गहिरो छाप छोड्न सक्षम भएको छ ।
भौतिक विकास र समृद्धिको मोडेललाई कृषि, शिक्षा, स्वास्थ्य, यातायात लगायत अनगिन्ती क्षेत्रमा प्रगति भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको दूरदृष्टि र योजनाहरू सर्वसाधारण जनताले बोल्ने भाषाबाट एकै पटक लाखौँ जनताका बीचमा गरिएका सम्बोधनहरूले आर्थिक–सामाजिक रूपान्तरण गर्न, समृद्धिको सपना पूरा गर्न, सामाजिक सांस्कृतिक कुरीति कुसंस्कारलाई द्रुत गतिमा भत्काउने काममा पनि प्रभावकारी रूपमा प्रस्तुत हुँदै आएको छ ।
विश्वव्यापी कोभिड महामारीको बीचमा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले गरेको व्यवस्थापनबाट कमभन्दा कम मानवीय क्षति भएको, स्वास्थ्य सञ्जालहरूलाई कुशलतापूर्वक परिचालन गरेको विषय सामान्य थिएन । यसबाट आगामी चुनौतीहरूको सामना गर्दै अग्र गतिमा अगाडि बढाउन सक्ने शक्ति नेकपा (एमाले) हो भन्ने स्पष्ट देखिन्छ ।
बदलिँदो समाजले विज्ञान प्रविधि, सञ्चार, आधुनिक उपकरणहरूको विकास भइसकेको सन्दर्भमा हाम्रो देशको विकासको लागि छोटो समयमै धेरै विकास गर्न सकिने आधार छ, मात्र खाँचो छ कुशल नेतृत्व, व्यवस्थापन, स्पष्ट दृष्टिकोण, सोचाई, भनाई र गराइमा एकरूपताको । दसौँ राष्ट्रिय महाधिवेशनको ऐतिहासिक सफलतासँगै नेकपा एमालेको नेतृत्व जनताको अपेक्षाहरू पूरा गर्न सफल हुने विश्वास बढेको छ ।
जनता नै राज्य शक्तिको अजश्र स्रोत हुन् भने पार्टीका सदस्यहरू र कार्यकर्ताहरू पार्टीका सार्वभौम शक्ति हुन् भन्ने कुरा एमालेले सैद्धान्तिक रूपमा मात्र नभई व्यावहारिक रूपमै समेत पुष्टि गरिरहेको छ । जनताको सुख–दुःखमा साथ दिने भरोसायोग्य साथी, अभिभावक र सेवकको रूपमा काम गर्न सक्छ भन्ने कुरालाई २०७२ वैशाख १२ र २९ गतेको महाभूकम्पको पीडामा मलहम लगाउने, भारतको नाकाबन्दीको बेला राष्ट्रिय एकता र स्वाभिमान कायम गरी नेपाली जनताको शिर उँचो राख्ने, बाढी, पैह्रो, डुबान जस्ता प्राकृतिक विपत्तिमा साथ दिने, सीमा रक्षाको लागि राष्ट्रलाई एक ढिक्का बनाउन सक्ने सामर्थ्य नेकपा(एमाले)मा छ ।यसले अनेकौँ नेता—कार्यकर्ताको माध्यमबाट जनताको विश्वास जित्ने काम गरेको छ । भर्खरै मात्र सरकारको नेतृत्वबाट निवर्तमान भएका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व रहेको सरकारले झन्डै साढे तीन वर्षको कार्यकालमा गरेका कामले दूरगामी महत्त्व राख्दछ ।
हरेक पार्टीले आआफ्ना पार्टीको विगत र वर्तमानस्थितलाई हेरेर जनताले के कस्तो दृष्टिकोण बनाएका होलान् भन्ने सोच्नु पार्टीका नेता कार्यकर्ताहरूको पहिलो दायित्व हुन्छ । नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हुनुका साथै देशको सबैभन्दा ठुलो राजनीतिक दल नेकपा एमालेले पनि यस दिशामा पक्कै पनि ध्यान दिएकै हुनुपर्दछ । विगतमा अधिकार माग्ने ठाउँमा रहेका राजनीतिक दलहरू अहिले जनताका पक्षमा असल नीति, कानुन बनाउने र जनताको हितमा राज्यका साधन स्रोत परिचालन गर्ने हैसियतमा रहेको अवस्थालाई ख्याल गरेकै हुनुपर्दछ ।
नेकपा एमालेको सन्दर्भमा कुरा गर्दा २०५१ साल मनमोहन अधिकारी नेतृत्वको ९ महिने सरकार र त्यसदेखि यता पनि पटक पटक सरकारको नेतृत्व गरिसकेको छ । जनताले २०५१ सालको ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ देखि सामाजिक सुरक्षा भत्तासम्मको व्यवस्थाले गर्दा नेकपा एमालेप्रति सकारात्मक छन् । नेकपा एमाले नेतृत्वको सरकारले मुलुककै छविलाई अन्तर्राष्ट्रिय स्तरमा माथि उठाएको तथ्य पनि निर्विवाद नै छ ।
नेकपा एमाले नेतृत्वको सरकारले जनअपेक्षालाई केही हदसम्म पूरा गर्ने काम गरेको छ । “सुखी नेपाली समृद्ध नेपाल” को राष्ट्रिय आकाँक्षालाई सङ्कल्पका रूपमा अघि बढाएको नेकपा एमालेले अझै शिखरमा पुर्याउनुपर्ने कार्यभार पनि वहन गर्नुपर्ने छ । “समृद्धि सम्भव छ हाम्रै पालामा” भन्ने जनमनोविज्ञान र आत्मविश्वासलाई अझ मजबुत बनाउनु पर्ने छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा पास गरेपछि भएका दाउपेचले नक्सामा समेटिएको भूमि फिर्ता ल्याउने काम बाँकी नै छ ।
जनताले पनि जे भएको हो त्यही देखेका छन् । उनीहरू को असल ?को खराब ?भन्ने छुट्याउन सक्छन् । पार्टी जति लोकप्रिय र भरोसा बन्दै जान्छ;दाउपेच, षडयन्त्र र नकारात्मक चलखेल पनि उति नै खेप्नुपर्ने हुन्छ । यस प्रकारका सबै चक्रव्यूहलाई तोड्दै अगाडि बढ्न सानो शक्तिले हुँदैन, ठुलो शक्तिपुञ्ज निर्माण गर्नु पर्नेछ ।
हामीले थप बुझ्नु पर्ने वास्तविकता के हो भने अहिलेको कर्मचारीतन्त्रमा विगतको अस्तव्यस्त, अव्यवस्थित, अपारदर्शी, ढिलासुस्ती, नातावाद कृपावादको संस्कारले गाँजिएको संयन्त्र हो ।यस्ता विकृति विसंगतहरूलाई चिर्दै प्रगतिशील आचरणसहितको सुशासन, पारदर्शिता, छिटो छरितो सेवा प्रदान गर्ने, विकासका कामलाई द्रुत बनाउनका लागि उच्चस्तरको ज्ञान सीप, अनुभवको आवश्यकता छ । देशलाई समृद्धिको दिशामा हाँक्न सम्पूर्ण शक्ति लाग्नु पर्ने छ । श्रमिक वर्गबाट हामी सिक्नुपर्ने धेरै कुराहरू छन् । त्यसको व्यवस्थापन सही गर्नुपर्ने छ । युवा–विद्यार्थी मुलुकको उर्जाशक्ति हो । यो शक्ति जसरी राष्ट्रको सङ्कटको घडीमा सधैँ ढाल बनेर खडा हुने हुने गरेको छ, मजबुत र सुदृढ बनाउन तथा उनीहरूका समस्या समाधानका पक्षमा ध्यान दिन आवश्यक छ ।
जनताको सेवकका रूपमा निर्वाचित प्रतिनिधि वा सरकारका विभिन्न कार्यकारी पदहरूमा रहेका जनप्रतिनिधिहरू पनि विगतको जस्तै केन्द्रीकृत मानसिकता, कार्यशैली र व्यवहारबाट मुक्त छैनन् भन्ने देखिन्छ । यसलाई पनि हटाउनु अबको हाम्रो अर्को दायित्व हो । मुलुक बनाउने, समृद्ध नेपाल र सुखी नेपाली बनाउने राष्ट्रिय आकाङ्क्षा पूर्ति गर्ने दिशामा स्पष्ट सन्देश सहित अघि बढ्नु आजको महत्त्वपूर्ण अभिभारा हो ।
प्रकाशित मिति : २० पुस २०७८, मंगलबार ९ : ३१ बजे
प्रतिक्रिया