बञ्चरेडाँडामा बढ्यो फोहर

प्रधानमन्त्री ओली नेपाल र बंगलादेशबीचको फाइनल हेर्न रंगशाला जानुहुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साफ महिला च्याम्पियनसिप, २०२४ को फाइनल खेल हेर्न आज साँझ रंगशाला जानुहुने भएको छ । 

प्रधानमन्त्री ओलीले दक्षिण एसियाली फुटबल महासङ्घक(साफ)काे फाइनल खेलको अवलोकन पछि खेलाडीहरूलाई पुरस्कार वितरण गर्ने कार्यक्रम तय भएको छ ।  साफ महिला च्याम्पियनसिपको फाइनल खेल नेपाल र बंगलादेश बीच हुँदैछ । फाइनल खेल  आज (बुधबार) साँझ ६ः ३० बजे सुरु हुनेछ । 

सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा भारत पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ ।

बङ्गलादेशमा भएको पहिलो संस्करणमा नेपाल उपविजेता बनेको थियो । तत्कालीन समयमा फाइनलमा नेपाल भारतसँग ०–१ गोलअन्तरले पराजित भएको थियो ।

सन् २०१२ मा श्रीलङ्कामा आयोजना भएको दोस्रो संस्करणमा पनि नेपाल फाइनलमा भारतसँग ३–१ गोलअन्तरले पराजित हुँदै दोस्रो स्थानमा रह्यो । सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो संस्करणमा पनि उपाधि चुम्ने नेपालको लक्ष्यमा भारत बाधक बनेको थियो । त्यतिबेला नेपाल भारतसँग ६–० गोलअन्तरले स्तब्ध भएको थियो ।

सन् २०२२ मा नेपालमा नै आयोजना भएको गत संस्करणको फाइनलमा नेपाल बङ्गलादेशसँग १–३ गोलअन्तरले पराजित भएको थियो । सोही संस्करणमा बङ्गलादेशले पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि उचालेको थियो । सन् २०१६ मा भारतमा भएको चौथो संस्ककरणमा नेपाल सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

त्यसैगरी सन् २०१९ मा नेपालमा नै आयोजना भएको पाँचाँै संस्करणको साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ३–१ गोलअन्तरले पराजित हुँदै दोस्रो स्थानमा रहेको थियो ।

जारी प्रतियोगितामा नेपालले भारत र बङ्गलादेशले भुटानलाई हराउँदै फाइनल यात्रा तय गरेका हुन् ।

नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११–० गोलअन्तरले हराएको थियो । त्यसैगरी नेपालले श्रीलङ्कालाई ६–० ले पराजित गरेको गरेको थियो ।

बङ्गलादेशले समूहको पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारतलाई ३–१ ले पराजित गरेको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ९ : ०१ बजे