राष्ट्रियसभाको निर्वाचनमा जसको जति सांसद खाली छन् त्यति नै सिट पाउने सत्ता गठबन्धनमा सहमति 

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सकिएको छ । 

प्रधानमन्त्रीको निवास बालुवाटारमा आज बिहानदेखि  बसेको कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठकले आगामी १२ माघमा हुने राष्ट्रियसभाको निर्वाचनमा सिट सङ्ख्या बाँडफाँट गरी भागबन्डा लगाएका छन् ।

आगामी २० फागुनदेखि खाली हुने राष्ट्रियसभा सदस्यको पदमा जुन पार्टीको खाली हुने हो सोही पार्टीको उम्मेदवारलाई गठबन्धनले सघाउने निर्णय भएको बताइएको छ । त्यसबाहेक एमालेबाट खाली हुने पद भने भागबन्डा गरिएको छ । 

आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका १९ सांसद बिदा हुँदैछन् ।

एमालेबाट खाली हुने सिटमध्ये तीन वटा नेपाली कांग्रेस, दुई वटा जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक–एक सिट लिने गरी सहमति जुटेको छ ।

एमालेबाट आठ जना, माओवादी केन्द्रबाट चार, एकीकृत समाजवादीबाट चार, काङ्ग्रेसबाट तीन र मनोनीत एक जना सांसद बिदा हुने क्रममा छन् ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १ : ४३ बजे