सुनको मूल्यमा नयाँ कीर्तिमान

सुडानका प्रधानमन्त्रीद्वारा राजीनामा

एजेन्सी । सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामदोकले राजीनामा दिनुभएको छ । उहाँले आइतबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ । 

समाचारअनुसार सुडानमा पछिल्लो समय राजनीतिक संकट गहिरिँदै गएको छ । यहाँ प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचनको प्रयास भने जारी छ । राजनीतिक संकट थप बढ्दै गएका बेला उहाँले आफ्नो पदबाट राजीनामा दिनुभएको समाचारमा जनाइएको छ ।

नागरिक शासन बहाल गर्न माग गर्दै प्रदर्शन चर्किएपछि प्रधानमन्त्री अब्दुल्लाह हामदोकले राजीनामा दिनुभएको हो । टेलिभिजनमार्फत् देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री हामदोकले राजीनामा घोषणा गर्नुभएको थियो ।

देशलाई अप्ठ्यारो अवस्थामा फस्नबाट जोगाउन आफूले सक्दो प्रयास गरेको तर सहमतिमा पुग्न नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,  ‘मैले जिम्मेवारी फिर्ता गर्ने निर्णय गरेको छु र प्रधानमन्त्रीको रुपमा मेरो राजीनामा घोषणा गरेको छु ।’

सुडान एक ‘खतरनाक मोड’मा रहेको बताउँदै उहाँले संक्रमणकालीन अवधिको बाँकी कामहरु पूरा गर्न मद्दत गर्ने बताउनु भएको छ । गत अक्टोबर महिनामा सेनाले ‘कू’ गर्दै सत्ता कब्जा गरेपछि हामदोकलाई नजरबन्दमा राखेको थियो । त्यसपछि केही हप्ता अगाडि मात्रै उहाँलाई सेनाले प्रधानमन्त्रीमा पुनःबहाली गरेको थियो । तर सेनासँग सम्झौता गरी प्रधानमन्त्री बनेको भन्दै उहाँको विरोध हुँदै आएको थियो ।

सुडानका नागरिकहरुले सेनासँगको सम्झौता नमान्ने र पूर्ण नागरिक शासन बहाल हुनुपर्ने माग गर्दै आएका थिए । उक्त प्रदर्शनको क्रममा दुई जनाको मृत्यु भएको थियो । प्रदर्शन रोक्ने उद्देश्यले सरकारले हालै राजधानी खार्तुममा इन्टरनेट सेवामा रोक समेत लगाएको थियो ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १० : ३६ बजे