एमाले ‘एमाले’ जस्तो नहुँदाको सङ्कट

सिद्धान्त,विचार व्यवहारका दृष्टिले एमाले पार्टी देश र जनताको भाग्य भविष्यमा केन्द्रित छ । नमुनाको नौमहिने सरकार र ओली नेतृत्वका दूरगामी महत्वका धेरै काम यसका उदाहरण हुन् । प्रथम महिला राष्ट्रपति विद्या भण्डारीले मदन भण्डारी फाउन्डेशन कोशी प्रदेशको एक कार्यक्रममा पनि बताउनु भयो । उहाँका अनुसार पूर्व माले एमाले पार्टी र नेतृत्वका कारण जनताका आकर्षित भएको पहिलो घटना रहेको बताउनु भयो ।

एमालेले उहिल्यैदेखि देशभक्त प्रगतिशील तथा लोकतान्त्रिक प्रतिस्पर्धी समानान्तर विपक्षको चाहना गरेको थियो । अहिले पनि स्वस्थ्य प्रतिस्पर्धी विपक्षको खोज एमालेले गरिरहेको देखिन्छ । सत्ता र सरकार पाल्ने र फाल्नेमा केन्द्रित संसदीय चरम विकृति विरुद्धको प्रतिपक्ष एमालेको उत्कट चाहना हो । यसो हुँदा मुलुकको उत्थान सहज हुन्थ्यो भन्ने सोच जननेता र मदन भण्डारी र जबजकै रहेको हो । यस्ता चाहनाका खातिर गरिएका अनेक अभ्यासबाट कुनै प्रतिफलको संकेत पाइएको छैन । यस्तै खेलभित्र पस्न बाध्य एमाले स्वस्थ्य संसदीय परम्परा सुरु गर्न एमाले लागिपरेकै छ । तर सामान्य राजनीतिक चेतका अभावमा कतिपय नेता र कार्यकर्ता समेत एमालेको संसदीय अभ्यास र प्रयोगबारे कुहिराको कागजस्तै भएको देखिन्छ । चारजना दुर्जनसित एक जना सज्जनले सधैँ संगत गर्दा उक्त सज्जनप्रति समाजको हेराई नकारामक बन्छ तर एमाले तिनै चार जनालाई सच्याउन र सुधार्न लागेको हो भन्ने वास्तवकिता नबुझेर अधिकांश नेता र कार्यकर्ता हैरान देखिन्छन् ।

एमाले आम श्रमजीवी जनताको भरमा मात्र निर्भर छ । पार्टीमा तथा मोर्चा संगठनहरुमा आबद्ध तमाम नेता र कार्यकर्ता मात्र यस पार्टीका मूल आधार हुन् । यसैका जगमा यो पार्टी सबल र सशक्त बन्न सक्छ । किनभने यस पार्टीलाई तहसनहस पार्न भित्री र बाहिरी अनेक शक्ति लागिपरेका छन् । स्वतन्त्र भनिएको न्यायालय समेत ऐनमौकामा एमाले र यसको सरकार विरुद्ध रहेका धेरै उदाहरण पाइन्छ । यस्ता चुनौति फेरि पनि बारबार आउनेछन् ।

तसर्थ एमालेका तमाम नेता,कार्यकर्ता र समर्थक समेत विचारक,संगठक र प्रचारक हुनैपर्छ । यसरी परिचालित हुने हो भने सय थुकी नदी हुन्छ । अहिले पनि पार्टी र मोर्चा संगठनले राष्ट्रिय अभियानका रुपमा सामाजिक सञ्जालमार्फत् एकै समयमा एक्कै पटक पार्टीका पक्षमा सामाजिक सन्जाल मार्फत् प्रचार प्रसार गर्नुपर्छ । अहिले अधिकांश मिडिया र सामाजिक सन्जाल मार्फत् एमाले र ओली विरुद्ध गलत न्यारेटिभ वा भाष्य प्रवाह गरिएको छ । यस्ता भड्काउ विषय र समाचार हरेकका घरघर र कानकानमा सजिलै पुगेपछि एमाले र यसका समर्थक नै भड्किएको भान हुन्छ । सबै यसै भन्छन् भन्दै कान नछामी कागका पछि दगुरेको देखिन्छ ।

अधिकांश मिडिया अहिले ओली विरुद्ध केन्द्रित नै देखिन्छन् । प्रमुख नेतालाई पछारेपछि पार्टीलाई कमजोर पार्न सकिन्छ भन्ने विरोधीको दाउ देखिन्छ । चारैतिरबाट पार्टी घेरिएको र अझ ओली विरुद्ध कृत्रिम उत्पात मच्चाइरहेका अवस्था छ । यस्तो अवस्थामा पार्टी भित्रकै उपल्ला तहका हैसियतवाला नेताको अनुशासनहीन र अराजक भन्न मिल्ने खालका अभिव्यक्तिका बारेमा मैले र नेतृ मिथिला पोखरेलले लेख लेखिरहनु भएको छ । यस्तो निरीह अवस्था किन आयो र यो कसरी भयो भन्ने विषय केलाउन यो लेख लेख्न बाध्य हुनु परेको हो ।

पार्टीले परिवर्तित उपरिसंरचनालाई पक्षपोषण गर्ने सांस्कृतिक रुपान्तरणबारे ध्यानै दिएको छैन भन्दा हुन्छ । संस्कृति विभाग बनाएर मात्र हुन्न त्यसलाई कामकाजी बनाउनुपर्छ । प्रगतिशील संस्कृतिको मूल जग प्रगतिशील कला,साहित्य,संगीत र तिनका सर्जक हुन् । तिनको मात्रात्मक र गुणात्मक संख्या एमालेमा मनग्गे छ र ती मोर्चा संगठनहरुमा पनि पर्याप्त छन् तर तिनलाई दिशा र दृष्टि दिने विज्ञ अभिभावका अभावमा ती अनाथ जस्तै छन् । तर संगठन कब्जा गर्ने धेरैजसो कुम्भ कर्णे निद्रामा छन् ।

पार्टी अध्यक्ष ओलीले नै पनि १० बुँदे नेतालक्षित विचारमा समाजवादी संस्कृति त परै जाओस् सामान्य मानवीय संस्कार पनि सिकाउन नसकेको बताउनु भएको थियो । यसले नेतृत्व तहमा नै सांस्कृतिक कमजोरी भयावह रहेको स्पष्ट हुन्छ । स्थायी समितिका सदस्य नै ब्रतबन्धको वास्तविक तात्पर्य नबुझी पचासौँ लाखको लगानीमा कथित रुढीग्रस्त ब्रतबन्ध गर्छन् । तर तिनले स्रष्टा र सञ्चार प्रचारमा एकान पनि सहयोग गर्दैनन् । जबजले संस्कार र संस्कृतिका क्षेत्रमा प्रस्तावित गर्न खोजेको विकल्पबारे नेताहरु मात्रै होइन संस्कृति विभाग नै बेखबर देखिन्छ । औपनिवेशी, भाग्यवादी, पुर्पुरोवादी मानसिक चेत रहेसम्म कुनै पनि नेताका बोली,वचन र व्यवहार समय सापेक्ष र सन्तुलित हुँदैनन् ।

नेताका मनमा जब्बर बनेर बसेको पश्चगामी सोच र चिन्तन नै अप्र्रत्यासित रुपमा प्रकट हुन्छ । माक्र्सकाअनुसार हाम्रो मन र मष्तिस्कमा पुरानै शाषक र साशन सत्ताका संस्कार, संस्कृति र विचारले डेरा जमाएको हुन्छ । यसैले कतिपय नेता काठमाडौँ जाँदा सप्तकोशीमा पैसा चढाउँछन् , बिरालोले बाटो काट्यो भनेर मूच्र्छा पर्छन् । फेरिएको परिस्थिति अनुसार आफूलाई होसपूर्वक अलिकति पनि फेर्ने कुरामा पटक्क ध्यान नदिनाका कारण यो भद्रगोल भएको हो । अझ जबजको जतिसुकै जप गरे पनि जबजको पिँध तहको मर्म र महत्व नबुझ्दाका कारण अधिकांश पार्टी नेतृत्व सतही देखिन्छन् । तिनलाई जबज अनुसार नेपाली विशेषताको समाजवाद आउन सक्छ र ल्याउन सकिन्छ भन्ने विश्वास पटक्क जगाउन सकिएको छैन ।

जनताको बहुदलीय जनवाद यी तीन शब्दको अर्थ मात्र बुझाउने हो भने पनि एमालेको मूल पहिचान स्पष्ट हुने थियो ।
अधिकांश नेताको भाषण सन्देशमूलक, शिक्षामूलक, समसामयिक र सिर्जनात्मक पटक्क देखिन्न । माथिल्लो समितिको आदेशलाई सिर्जनात्मक रुपमा लागु गर्ने कुरा पनि थाहा छैन । ब्वाइलर कुखुरो बनाए पछि त्यसले चारो खोजेर खानै जान्दैन । संविधान दिवसका अवरमा कोशी प्रदेशका जिल्ला जिल्लामा दिवस मनाएको भए यसमा पार्टी र ओलीले निर्वाह गरेको भूमिका प्रचारित हुन्थ्यो । आम मातहत कार्यकर्ता र नेतालाई पार्टी र सरकारले गरेका कामहरु सुसूचित, शिक्षित र दीक्षित गर्ने काम खास हुन सकेका छैनन् । बोली बिक्ने ठाउँमा नहुँदा कौन पुछे खेसरीका दालको स्थिति हामी नै भोगिरहेका छौँ । पार्टी र नेतालाई दिएका महत्वपूर्ण सुझाव पनि तोलाको वचन खोलामा झै भएका छन् ।

संस्कृति विभाग कोशीका संयोजक खेम नेपालीका अध्यक्षतामा चाडवाड लक्षित सांस्कृतिक रुपामन्तरण विषयक कार्यक्रममा मैले नै यस्ता दुरगामी महत्वका कामहरु पार्टी केन्द्रले केन्द्रीय संस्कृति विभागले गर्नु पथ्र्यो र यस्तो गहन र गुदीदार कार्यक्रम उहिल्यै देखि सुरु गरेको भए प्राप्त उपलब्धि प्रति यति बिघ्न वितृष्णा बढ्ने थिएन । अहिले पनि हामी एक समयदेखि एक जात,जाति,एक नश्ल र धर्म करण गरिएको दशैँ मनाइरहेका छौँ अनि वडा दशैँ र विजया दशैँ भन्दैछौँ । अनार्य,आदिवासी र जनजाति खलकको सन्तान रावणको विजय र उनको रगतमा मुछेको रातो टीका भनेर देशका विभिन्न भूभागमा भड्काउ अभियान चलिरहेको छ । त्यसैलाई मल जल परोक्ष वा प्रत्यक्ष रुपमा लागि परेको देख्दा लाज लागेको कुरा मैले गरेको थिएँ । ब्रम्हाजीका मानस पुत्र,पुलस्त्य मुनिको नाति दशमुख वा दश विशेषता,प्रतिभा र क्षमताका रावण धेरै विद्वान् र बलशाली थिए ।

तर पार्टीका हामी विज्ञहरु नै भड्काउमा रमाइरहेका छौँ । यस्ता गुदीदार विषयमा बेलैमा बहस गरौँ भन्दा नमान्ने अनि आफैँ नजान्ने हुँदा अधिकांश एमाले खोक्रा र बोक्रा देखिन्छन् । अनि ढोडको तक्माका भरमा सगरमाथा पुगिन्छ र ? पार्टीलाई गुणात्मक रुपमा फेर्ने खालको संस्कृति र सांस्केृतिक रुपान्तरण केन्द्रित प्रशिक्षण नगर्दाको परिणाम हो भन्न सकिन्छ ।

यसमा कार्यकर्ताको कुनै दोष छैन । स्कूलमा विद्यार्थी भर्ना गरेपछि उचित पठन पाठन र गृह कार्य दिनुपर्छ । विद्यार्थीलाई मात्र दोषरोपण गरेर पन्छिन मिल्दैन । त्यसैले अज्ञानी सित रिसाउनु हुँदैन र यत्तिकै भरमा अन्तिम कार्यवाही गर्नुहुँदैन । तर तलतल पनि पार्टीमा नोकरसाही प्रवृत्तिलाई निमूल नै गर्नु पर्छ । यस्ता प्रवृत्तिको सिकार म आफैँ सुनसरी जिल्लाका तत्कालीन अध्यक्षका कारण भएको छु । विकृति विरुद्ध भाग्ने होइन भिड्ने प्रवृत्तिका कारण मात्र म आफू व्याप्त विकृति सच्याउने काममा अझै लागिरहेको छु । सुनसरीमै जिल्ला सदस्य चयन र र मनोनयनमा पदीय हैसियत अलिकति पनि थाम्नै नसक्ने चरित्रका देखिए । कम्तीमा तिनलाई सपार्न प्रयत्न नै नगरेपछि तिनबाट पार्टी प्रभाव बढ्ला र ? यस्तो प्रवृक्ति अन्यत्र पनि हुनसक्ने देखिन्छ ।

पार्टी महासचिव पोखरेलले नै हाम्रो होइन राम्रो नेता र कार्यकर्तालाई उपयुक्त स्थानमा स्थापित गर्ने कुरा केही दिन अघि व्यक्त गर्नु भयो । समस्या आउनु भन्दा पहिले नै समस्या देख्ने दृष्टिकोणले मात्र पार्टी अघि बढ्छ । ठेस लाग्दै चेत फिर्ने अवस्था हो भने सर्वनाशको स्थिति निम्तिन सक्छ । अब नेता र कार्यकर्ता र सहभागिता सन्दर्भमा टाउको मात्र गन्ने होइन बुद्धि,चेत,चिन्तन,विचार र व्यवहार पनि गन्ती गर्नुपर्छ । पिँधबिनाको लोेटा बनाएर पार्टी कहिल्यै ठिङ्ङ उभिँदैन । जबज नै नबुझी नबुझाई जबज अनुसार विकास निर्माणका प्रशिक्षणको के अर्थ हुन्छ । पार्टी र नेतृत्वका कमजोरी बारे सुझावका रुपमा म लेखि नै रहेको छु ।

अहिले नै पनि प्रायः नेताहरुमा जनमैत्री भावना खासै पाइन्न । नमस्ते र प्रणाम नगरी धेरै जसो नेता मुखाकृतिले पनि नचिनेझँै
गरेका तीतो अनुभव म आफैसित छ । आलोचनात्मक र ओली कमरेडका अन्ुसार समालोचनात्मक चेतले मलाई सिद्धान्त निष्ठ बनाएको हो । नत्र म पनि आफ्नै ज्यान पनि धान्न नसक्ने जमरा हुन्थेँ होला । हुरीहुण्डरी थाम्ने चेत र चिन्तनले मात्र हरेक प्रतिकूलतासित जुध्ने सामथ्र्य राख्छ । मदन भण्डारी र जबज नभए नेपालका कम्युनिस्टहरु अहिले पनि कुना पसेर रोइरहेका हुन्थे । एमालेमा ओली उदय नभएको भए माकुनेले यस पार्टीलाई मण्डलेकरण गरिसक्थे । गुन त गुन हो नि । राम्रो कुरालाई राम्रो त भन्न सक्नु प¥यो नि । एक समय बाबु अभिभावक हुँदा छोराले गुनासै मात्र गर्छ । अर्को समयमा छोरा अभिभावक बन्नु पर्दा उही बाबु छोरासित गुनासै मात्र गर्ने स्थितिमा पुग्नु हुँदैन । हर नेताले जिम्मेवारी पूर्वक बोल्नु र व्यवहार गर्नुपर्छ । नेता भन्दा कम ज्ञान र उन्नत चेतका मानिस यस पार्टीमा छन् भन्ने बेलैमा बुझे हुन्छ ।

पार्टी र देशकै प्रमुख र प्रभावशाली नायकलाई फेक प्रचारद्वारा समाप्त पोरपछि एकएक गरेर देशभक्त प्रगतिशील शक्तिलाई तह लगाउने नियत स्पष्ट हुन्छ । बाह्य शक्तिको मक्सद एमाले पार्टीलाई तह लगाउन पाए नेपालको स्वतन्त्र, स्वाधीन र अखण्ड अस्तित्वलाई कुनै न कुनै रुपमा खण्डित गर्न सकिन्छ भन्ने रहेको छ । एमाले आफैँ आन्तरिक रुपमा सशक्त एक ढिकका नबन्दा देशको स्वतन्त्र अस्तित्व सुरक्षित गर्न असम्भव देखिन्छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको एउटै स्वार्थ देश जनता र जनजीविकाको सर्वोपरि हित हो । उहाँको फाउ जीवन देश र जनतामा पूरै समर्पित छ । तर यसका लागि सुदृढ, सशक्त,सुसंगठित र सबल पार्टी अपरिहार्य प्राथमिकता हो । यत्तिको पार्टी र प्रभावशाली नेतृत्व पाउँदा एमालेका तमाम नेता र कार्यकर्ताले मात्र होइन तमाम नेपाली देशभक्त लोकतान्त्रिक श्रमजीवी जनताले यसमा मनन गर्ने विषय हो । यस पार्टी र नेतत्ृवमा कमीकमजोरी छन् भने विधिसम्मत रुपमा सच्याउन पहल गर्नु पर्छ तर झिनामसिना विषयका आधारमा पार्टीप्रति निराशा छर्ने काम सर्वथा गलत देखिन्छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ४ : ०० बजे