साफ यू–१७ च्याम्पियनसिप आजदेखि

चाँगुनारायणको दशौँ नगर सभा सुरु, सवा ६ करोड राजस्व सङ्कलन

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले दशौँ नगर सभा सुरु भएको छ ।

पालिकाले आइतबार वडा नम्बर ७ स्थित तपादम्फोको बहुउद्देश्यीय सभा हलमा नगर सभा सुरु गरेको हो । 

आइतबारदेखि सुरु भएको नगर सभामा उपमेयर बिना बास्तोलाले चालू आर्थिक वर्ष २०७८/०८९ को समीक्षात्मक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

उहाँले चालू आवमा नगरपालिकाको कूल १ अर्ब ९० करोड ६४ लाख ८४ हजार २५४ रुपैयाँ विनियोजन भएको जानकारी दिनुभयो । 

यस अवधिमा २८ करोड ८४ लाख ५ हजार आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकोमा ६ करोड ९६ लाख सङ्कलन भएको बताउनुभयो । 

उहाँले नगरपालिकाको गौरवको आयोजनाको रूपमा रहेको मेयर उद्यमशीलता विकास कार्यक्रममा हालसम्म ७३ जना सहभागी भई सहुलियतपूर्ण ऋण लिएको र २७ जना कर्जा प्राप्तिका लागि अन्तिम चरणमा पुगेको बताउनुभयो  । 

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत १२ जना महिलाहरूलाई पाँच दिने आधारभूत साबुन बनाउने तालिम, १८ महिलालाई अचार बनाउने तालिम दिइएको उल्लेख गर्दै उपप्रमुख बास्तोलाले भौतिक पूर्वाधार विकास अन्तर्गत कूल ४८६ वटा योजना रहेकोमा १५७ वटा योजना गत आर्थिक वर्षबाट दायित्व सरेर आएको बताउनुभयो।

उहाँले चालू आर्थिक वर्षमा २० लाखभन्दा बढीका ३९ वटा योजनाको ठेक्का आह्वान हुनुपर्नेमा २३ वटा योजनाको ठेक्का सम्झौता भएको उल्लेख गर्नुभयो। 

उहाँले उपमेयरसँग महिला उद्यमशीलता कार्यक्रम अन्तर्गत मखमली जुत्ता बनाउने तालिम, कम्प्युटर तालिम, आधारभूत मन्टेश्वरी तालिम र एडभान्स मन्टेश्वरी तालिम सम्पन्न भएको जानकारी दिँदै सिलाई, कटाए तालिम र बेतबाँसको सामग्री तालिम चालू रहेको उल्लेख गर्नुभयो ।

बालमैत्री स्थानीय शासनअन्तर्गत नीतिगत कार्यान्वयनका लागि अवलम्बन तथा घोषणा सम्बन्धी वडास्तरीय अभिमुखीकरण, बालमैत्री वडा सहजकर्ताहरूको नियुक्ति, बालमैत्री  सहजकर्ताहरूलाई क्षमता विकास प्रशिक्षण भएको उल्लेख गर्दै बालमैत्री स्थानीय शासन कार्यान्वयन घोषणा र दिगोपनाका लागि २६२ वटा बाल समूह गठन, १० वटा बाल सञ्जाल गठन भएको जनाउनुभयो । 

उहाँका अनुसार नगरपालिकाको ९ वटै वडामा बालमैत्री कक्ष व्यवस्थापन गरी तीन सय  सार्वजनिक स्थलमा बालमैत्री आचारसंहिता, सावधान बोर्ड, बालश्रम विरुद्धको पम्प्लेट राखिएका छन् । सो कार्यक्रमका लागि ९८ लाख रुपैयाँ विनियोजन भएकोमा हालसम्म २२ लाख ६८ हजार रुपैयाँ खर्च भएको उहाँको भनाइ छ ।

मेयर सोमप्रसाद मिश्रले आफ्नो कार्यकालमा विकास निर्माणको कार्यमा सबै राजनीतिक दलका जनप्रतिनिधिले साथ  दिएको र विकास निर्माण कार्य सहयोग गरेको बताए । उहाँले अबको बाँकी कार्यकालमा पनि सबै जनप्रतिनिधिले सोही अनुरूप सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले नगरवासीलाई हालसम्म ९५ हजार २४ जना कोभिडविरुद्ध खोप लगाएको र खोप लगाउने उमेर समूहका सबै नागरिकलाई आगामी माघ मसान्तसम्म कोभिड विरुद्धको भ्याक्सिन लगाउने लक्ष्य रहेको बताउनुभयो  । 

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ८ : ३० बजे