‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

विदेशमा ८८ प्रतिशत नेपालीले कोभिड विरुद्धको पूर्ण डोज खोप लगाए

लण्डन । नेपालबाहिर बसोबास गर्ने नेपालीमध्ये ८८ प्रतिशतभन्दा बढीले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएका छन् । 

गैर आवासीय नेपाली सङ्घका अनुसार विदेशमा ५१ देशमा बसोबास गर्दै आएका नेपालीमध्ये ८८ प्रतिशत भन्दा बढीले खोपको पूर्ण डोज पाएका हुन् ।

गैर आवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाका अनुसार अष्ट्रेलिया, न्युजिल्याण्ड, हङकङ, माल्दिभ्स, अमेरिका, क्यानडा, युके, मलेसिया, बहराइन, अफिक्रा, दक्षिण कोरिया लगायतमा रहेका नेपालीले खोप लिएका छन् । तर भारत, बङ्गलादेश जस्ता देशमा भने ७० प्रतिशतभन्दा कम नेपालीले पूर्ण मात्रा खोप लगाएका छन् ।  

न्यूनतम खोप उपलब्ध भएका देशमा घाना, नाइजेरिया, दक्षिण अफ्रिका, तान्जानिया, युगान्डामा सामान्य जनसङ्ख्याको ३० प्रतिशतभन्दा कमले खोपको सुविधा प्राप्त गरे पनि त्यहाँस्थित ९० प्रतिशत नेपालीले भने खोप पाएका छन् ।

स्वास्थ्य समितिलाई प्राप्त जानकारी अनुसार नेपालबाहिर रहेका नेपालीको खोप लिने दर उच्च छ ।

कोरोना विरुद्धको तेस्रो खोप(बुस्टर डोज) सबै देशमा उपलब्ध नभए पनि उपलब्ध भएका देशमा भने नेपालीले तेस्रो खोपसमेत लगाउन थालेका छन् । अहिलेसम्म बेल्जियममा ९० प्रतिशत नेपालीले बुस्टर डोज लिइसकेका छन् । 

बेलायतमा रहेका ६० प्रतिशत भन्दा बढी नेपालीले बुस्टर लिएको संयोजक डा.सापकोटाले बताउनुभयो।

समितिका अनुसार विदेशमा कार्यरत नेपाली स्वास्थ्यकर्मीले समेत तेस्रो खोप प्राप्त गरिसकेका छन् । हाल विश्वको कुल जनसङ्ख्याको ५१ प्रतिशतले पूर्ण रूपमा खोप लगाएको तथ्याङ्क छ ।

कोरोना महामारी सुरु भएयता गैर आवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिले विदेशमा रहेका नेपालीको स्वास्थ्य अवस्थाको बारेमा तथ्याङ्क सङ्कलन गर्ने, स्वास्थ्य सम्बन्धमा जनचेतना कार्यक्रम गर्दै आएको छ ।

सङ्घको स्वास्थ्य समिति अन्तर्गत विदेशमा विभिन्न स्वास्थ्य केन्द्रमा कार्यरत २ सयभन्दा बढी चिकित्सकले तथ्याङ्क सङ्कलन र जनचेतना कार्यक्रम सम्पन्न गर्न सघाइरहेका छन् । 

स्वास्थ्य समितिद्वारा जारी पछिल्लो तथ्याङ्क सङ्कलन गर्न डा सागर पौडेल (भारत), डा नीतेश अर्याल, लक्ष्मी गिरी (बहराइन), रोशन थापा, कृष्ण भट्ट (अफ्रिका), डा बोधराज सुवेदी (युरोप), एलिजा केसी (जापान) , गोविन्द खरेल (बेलायत), गोकर्ण ढकाल (हङकङ), र लोक दाहाल (युरोप) लगायतले सहयोग रहेको स्वास्थ्य समितिले जनाएको छ । 

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ७ : २४ बजे