हिंसामुक्त, विभेदमुक्त र समन्यायिक समाज आजको पहिलो सर्त  

धर्तीमाथिको दाबी पुस्तक लेख्नका लागि डा.बिन्दा पाण्डेले ७९ वटा नेपाली र अङ्ग्रेजी पुस्तकलाई सन्दर्भ सामग्रीका रूपमा प्रयोग गरेकी छन् । पुस्तक लेखनका लागि गरिएका खोजी, अध्ययन र त्यसको परिणामबाट आएको प्रतिफल नै ‘धर्तीमाथिको दाबी’ पुस्तक हुनसक्छ भन्ने मेरो ठम्याइ हो ।

पुस्तकले प्रेरणा दिन्छ । यसले प्रोत्साहन गर्छ पाठकलाई । पुस्तक अक्षरका लहर मात्र होइनन् । शब्दका वाक्य मात्र हुन् भन्ने ठान्दिनँ म । वाक्यको संरचनागत सिर्जना मात्र पुस्तक होइन भन्ने मेरो पुरानो तर्क आजसम्म कायमै छ । 

पढिरहँदा अनौठा कुरा आउँछन् घरीघरी ! लेखन शैली रहर लाग्दो र बुझिँदो छ । अधिकारका लडाइँमा पुस्तकले बुर्कुसी मारेकै छ । कता कता बायोग्राफी पढेझैँ लाग्छ । कतै क्रान्तिकारी उपन्यास पढिरहेको भान हुन्छ । तथ्यपरक छ, तथ्याङ्क छन् प्रशस्त । पढ्न रुचाउनेलाई काफी सूचना छन्, सन्देश छन् । पढिरहँदा कुनै वाक्य हाँसो लाग्दो छ । विद्यार्थी, महिला, मजदुर र नेताका कहानी छन् । महिला हिंसा विरुद्धको अभियानमा पुस्तक कोसेढुङ्गो साबित हुने छ । परेका अनुभव छन् । पढेका कुरा छन् । पढेपछि काम लाग्छ । यही सोचका साथ ‘धर्तीमाथिको दाबी’ पढेँ । 

धर्तीमाथिको दाबी पुस्तक अधिकारको लडाइँ हो । सदियौँदेखि लडिएको तर समाधान हुन नसकेका मुद्दाका फेहरिस्त हुन् भन्न रुचाउँछु म । चाहे वर्गीय लडाइँ, चाहे समानताका लडाइँ, चाहे आर्थिक विपन्नता विरुद्धको लडाइँ वा राजनीतिक, सामाजिक, सांस्कृतिक एवं विभेद विरुद्धको लडाइँ होस्  । नेपालीहरूले समाजवादको बाटो हुँदै सबै किसिमका विभेदविरुद्ध मुक्ति खोजी रहेका छन् ।

२००७ साल अघि नेपालमा नेपालीहरू नै रैती थिए । २००७ मा प्रजातन्त्र आइसकेपछि नेपालीहरू प्रजा भए । २०६२÷०६३ को आन्दोलनपछि लोकतन्त्र र  २०६५ जेठ १५ गते गणतन्त्र आइसकेपछि नेपालीहरू जनता भएका छन् । नेपालीहरू कहिले बन्लान् नागरिक ? यो पुस्तकले नेपालीहरूलाई नागरिक बन्न उत्प्रेरित गरिरहेको छ । नागरिक आन्दोलनको उभार ल्याउन सक्ने पुस्तक ठानेको,मानेको छु मैले । 

पुस्तकमा प्रायः महिलाका अधिकार, न्याय, समानता, नागरिकता, समावेशीकरण लगायतका विषयहरू उठान गरिएका छन् । पुस्तकले यिनै विषयका इतिहाससँग सरोकार राख्छ । वर्तमानमा यसको लेखाजोखा र अधिकार प्राप्तिका निम्ति लडाइँ गरिएको छ । भविष्यमा हामी कहाँ पुग्दैछौं र हाम्रो दाबीको लडाइँ वा प्राप्तिप्रतिको चिन्ता मात्र होइन बढो गौरवमय चिन्तनहरू छन् । 

पुस्तक पढिरहँदा मोनोटोनस हुँदैन । बरु, यसले धर्ती माथिको आफ्नो दाबीलाई पुष्टि गर्ने विविध प्रमाणहरू जुटाइरहेको छ जस्तो लाग्छ । पुस्तक कतै उपन्यासजस्तो, कतै बायोग्राफीजस्तो, कतै ऐतिहासिक दस्ताबेजजस्तो, कतै कानुनको ठेलीजस्तो, कतै वीरतापूर्ण कथा सँगालो पढेजस्तै लाग्छ । पुस्तकमा यथेष्ट तथ्य,प्रमाणहरू छन् । यसमा घटेका घटनाका तिथि मितिहरू छन् । सम्बन्धित विषय वा प्रसङ्गहरूलाई प्रमाणित गर्ने तथ्य,तथ्याङ्कहरू छन् । 

पुस्तकमा बिन्दाले इमानदारिता देखाइएकी छिन् । उनले आफ्नै घरपरिवारमा आफ्नै अभिभावकहरूसँग गरेका सङ्घर्षका घटनाहरूलाई कथामा बुनेकी छिन् । आफ्नै शील स्वभावले जन्माएका कयौँ प्रश्नहरूका उत्तर पुस्तकमा समेटेकी छिन् । उनी कहिले विद्यार्थी आन्दोलन, कहिले मजदुर आन्दोलन,कहिले महिला आन्दोलन कहिले पार्टीभित्र अन्तर सङ्घर्ष गरेर नेपालीहरूलाई खास नागरिक बनाउने अभियानमा छिन् भन्दा गौरव लाग्छ । 

नेपालमा राजनीतिक आन्दोलन सफल भयो । हाम्रै पालामा धेरै व्यवस्थाहरू फेरिए । पञ्चायती व्यवस्था ढल्यो । प्रजातन्त्रको पुनर्स्थापना भयो । तत्कालीन माओवादी पार्टी  र शाही सरकारबीच सशस्त्र द्वन्द्व चल्यो । ज्ञानेन्द्र शाहको तानाशाही निरकुश व्यवस्था क्षणिक रूपमा टिक्यो । लोकतन्त्र आयो । गणतन्त्र आयो । तर, नेपालीहरूको आर्थिक उन्नति र प्रगतिमा खासै रूपान्तरण देखिएन । त्यसका लागि समानता, समावेशीकरणसहितका अधिकारका कुरा उठे । केही कुराको हात लाग्यो तर यसले पूर्णता पाउन सकेन । 

संविधान सभामार्फत देशको मूल कानुन संविधान बन्यो । संविधानमा महिलाहरू, राज्यका मूलधारबाट पछाडि पारिएका वर्गहरूलाई राज्यको मूलधारमा ल्याउनका निम्ति गरिएका अभ्यास र प्रयासहरू एवम् त्यसका परिणामहरू पुस्तकमा प्रतिबिम्बित छन् । यसकारण पनि पुस्तक पठनीय छ भन्दा मलाई कुनै प्रायश्चित गर्नुपर्दैन । 

पुस्तकमा महिलाका कुराहरू धेरै उठान गरिएका छन् । हुन त यो समय,महिला पहिला भन्ने मूल सन्देशसहितको हो । तैपनि राज्यका सबै अङ्गहरूमा महिलालाई यथोचित स्थान दिन नसक्दा वा महिलाहरूले लिन नसक्दाका परिणाम  संविधानमा उल्लेख गरिएको व्यवस्थालाई भरमग्दूर प्रयोग गर्न नसकेको देखिन्छ । त्यसका निम्ति बिन्दा पाण्डेजस्ता अधिकारकर्मीहरूको आन्दोलनको यात्रा अझै टुङ्गिएको छैन भन्ने प्रमाण नै यही पुस्तक हो भनेर म ठोकुवा गर्न सक्छु । 

प्रसङ्गवश शीर्ष नेताहरूले उनीहरूलाई भनेका रहेछन्, ‘तपाइँहरुलाई महिलाको चिन्ता छ । हामीलाई राष्ट्रको चिन्ता ।’ यही विषयलाई व्याख्या, विश्लेषण गर्ने हो भने हजारौँ तर्क —वितर्क आउन सक्छन् । हुन त विषयवस्तु र दृष्टिकोण पनि वर्गीय र लैङ्गिक हुँदो रहेछन् । सारमा यही भन्न सकिन्छ । 

पुस्तकमा बिन्दाले लेखेकी छिन्, ‘शब्द फेर्न तयार नहुने नेतृत्वले संस्कार फेर्न सहज छैन, समयानुसार नेतृत्वले संस्कार फेर्नुपर्छ । नेतृत्वमा पुरुषवादी संस्कार छ । कुनै पनि कुरा फेर्न उनीहरूलाई सजिलो छैन । त्यसो हुनुका पछाडि अनेकौँ कारणहरू हुन्छन् ।’  सोच, शैली र समयले नेतृत्वलाई बदल्नुपर्ने हो तर महिलाहरूका निम्ति नेतृत्व, पानी बाराबारका स्थितिमा उभिने गर्छन् घरीघरी । 

जेलको शौचालय सफा गर्ने मजदुरका रूपमा कार्यरत राममाया पोडे जसले राजबन्दीले लेखेका र तिनलाई लेखिएका पत्रका वाहकका रूपमा काम गर्थिन् । तर, आन्दोलनको सफलतासँगै गुमनाम तिनै राममाया पोडेका कुरादेखि छायादेवी पराजुली हुँदै वर्तमान राष्ट्रपति सम्मका अधिकारकर्मीहरूका सङ्घर्षमय नालीबेली यस पुस्तकमा समावेश छन् । 

हिंसामुक्त, विभेदमुक्त, समन्यायिक समाज आजको पहिलो सर्त हो । तर त्यसका लागि नेपालका राजनीतिक पार्टी, नेतृत्व बुझकी छन् ? सामाजिक दर्शन बुझ्न सक्ने नेतृत्व छन् ? आर्थिक रूपान्तरण मार्फत समाजलाई आत्मनिर्भर बनाउन सक्ने क्षमता वर्तमान सबै राजनीतिक नेतृत्वमा छ ? युग बुझ्न सक्ने दक्षता हाम्रा नेतृत्वमा हामीले पाउन सक्छौँ ? यिनै कुराको सार बुझ्न ‘धर्तीमाथिको दाबी’ पुस्तक पढे काफी हुन्छ भन्ने मेरो ठहर हो । 

(लेखक बुटवल उपमहानगरपालिकाको ‘भाषा, साहित्य, कला, संस्कृति प्रतिष्ठान’का सचिव हुनुहुन्छ ।) 

 

 

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ११ : ३३ बजे