सुनको मूल्यमा नयाँ कीर्तिमान

विश्वभर कोभिड र खराब मौसमले एकै दिन विश्वभर ४ हजार ४ सय उडान रद्द

काठमाडौँ । कोरोना भाइरस र खराब मौसमका कारण क्रिसमसको याममा अमेरिकामा हवाई उडान रद्द हुने क्रमले एउटा नयाँ उच्च बिन्दु छोएको छ।

शनिवार विश्वभर झन्डै ४ हजार ४ सय उडानहरू रद्द गरिएकोमा २ हजार ५ सयभन्दा धेरै अमेरिकामा रहेको एअर ट्राफिक साइट फ्लाइटअवेरले जनाएको छ।

बिबिसीका अनुसार वायुसेवाका धेरै कर्मचारी कोभिड सङ्क्रमितको संसर्गमा आएर क्वारन्टीनमा बसिरहेका कारण समस्या झन् थपिएको हो । यात्रुहरूको त्यस्तो सङ्कटमा मध्य अमेरिकामा परेको हिमपातले अर्को सास्ती थपेको थियो ।

अमेरिकामा रद्द भएकामध्ये एक हजारभन्दा धेरै उडानहरू सिकागोको ओहेर र मिडवे विमानस्थलबाट हुने उडान थिए ।

युनाइटेड एरलायन्सले एउटा विज्ञप्तिमा भनेको छ, “आज गरिएका रद्दहरू ओमिक्रोनले कर्मचारीमा पारेको असर मौसमसँग जोडिएका कारण हुन् ।”

“कठोर मौसमको अनुमानमा हामीले पहिल्यै उडानहरू रद्द गरेका हौँ । उडानहरू रद्द भएकाको हकमा हामीले पहिल्यै अर्को बुकिङ वा अन्य योजना बनाउन मिल्ने गरी खबर गरिरहेका छौँ ।”

आइतबार धेरैजसो मानिसहरू क्रिसमसको बिदा सकेर घर फर्कने दिन थियो । शिकागोको ओुहेर विमानस्थलमा अलपत्र परेका एक जना यात्रुले एबीसी न्यूजसँग भने” निकै बेर भयो । यहाँ बस्ने र खाने ठाउँ समेत छैन ।”

डिसेम्बर २४ यता अमेरिकामा १२ हजार उडानहरू रद्द भएका छन्। वायुसेवाहरूले कर्मचारी अभावसँग जुझ्नका लागि उनीहरूलाई अतिरिक्त पैसा दिने उपाय चालिरहेका छन् । तर श्रम सङ्गठनहरूले कर्मचारीहरूमा कोभिड सङ्क्रमण हुनसक्ने र क्रुद्ध यात्रुहरूसँग झेल्नुपर्ने त्रास रहेको बताएका छन् ।

अमेरिकामा अहिले ओमिक्रोन भेरियन्टका कारण कोभिड सङ्क्रमितहरूको सङ्ख्या ह्वात्तै बढेको छ । धेरैले खोप लगाएको ठाउँ भईकन पनि न्यूयोर्कमा कीर्तिमानी सङ्ख्यामा कोभिड सङ्क्रमित पाइएका छन् । अस्पतालहरूमा अहिलेसम्म उल्लेख्य चाप नदेखिए तापनि भाइरसले प्रहरीदेखि मनोरञ्जनका क्षेत्रसम्ममा असर पुर्‍याएको छ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  १० : १६ बजे