प्रतिनिधिसभा बैठक बस्दै, थारु आयोगको वार्षिक प्रतिवेदन पेस हुने 

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठक आज दिउँसो १ः०० बजे  प्रतिनिधिसभा बैठक बस्न लागेको हो 

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले “थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आ.व.२०७७/०७८” पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रतिनिधिसभा बैठकको कार्यसूचीका लागि सभामुख अग्निप्रसाद सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बिहान साढे ११ः०० बजेका लागि बोलाउनुभएको छ । 

यसअघि, पुस ७ गतेको बसेको प्रतिनिधिसभा बैठकले नेकपा (एमाले)को विरोधका बीच नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ स्वीकृत गरेको थियो ।

​​​​​​​

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ९ : ०२ बजे