अछामका ७७ वडामा एमालेको प्रतिनिधि छनोट

अछाम । नेकपा एमाले अछामले जिल्लाका ९१ वटा वडा मध्ये ७७ वटा वडामा सर्वसम्मत प्रतिनिधि छनोट गरेको छ । 

मङ्गलसेन नगरपालिकाका १२, साँफेबगर नगरपालिकाका १३, कमलबजार नगरपालिकाका ८, पंन्चदेवल विनायक नगरपालिकाका ६ वडाबाट जिल्ला अधिवेशनका लागि प्रतिनिधि टुङ्गो लागेको बताइएको छ ।

यस्तै, तुर्माखाद गाउँपालिकाका ८, मेल्लेख गाउँपालिकाका ८, रामारोशन गाउँपालिका ७, ढकारी गाउँपालिकाका ६, बान्निगढी जयगढ गाउँपालिकाका ६ र चौरपाटी गाउँपालिकाका ३ वटा वडामा टुङ्गो लागेको एमाले अछामका कार्यालय सचिव लिलाराज केसीले जानकारी दिनुभयो। 

बाँकी १४ वडामा प्रतिनिधि छनोट कार्य जारी रहेकाले आजसम्म टुङ्गो लागिसक्ने कार्यालय सचिव केसीले बताउनुभयो ।

नेकपा एमाले अछामको आठौँ जिल्ला अधिवेशन पौष २३ गतेबाट सुरु हुँदै छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ७ : ३५ बजे