सुगम नगरको दुर्गम बस्ती

उपराष्ट्रपति यादव अस्पताल भर्ना

‘दैजी–छेला औद्योगिक क्षेत्रको काम अगाडि बढाइने’

कञ्चनपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैजी–छेला औद्योगिक क्षेत्रको काम सरकारी, निजी र दातृनिकायसँग सहकार्य गरी अगाडि बढाइने बताउनुभएको छ ।

आज महेन्द्रनगरमा दैजी–छेला औद्योगिक क्षेत्रका बारेमा आयोजित छलफलमा बोल्दै उहाँले औद्योगिक क्षेत्रका नीतिगत, प्रक्रियागत समस्या हल गर्न वनमन्त्रालय र उद्योग मन्त्रालयबीच मन्त्रिस्तरीय छलफल भई समस्या समाधान गर्ने सहमति भएको जानकारी दिनुभयो ।

औद्योगिक क्षेत्रका काम अगाडि बढाउन स्थापना भएको कार्यालयमा अधिकृतस्तरको कर्मचारी खटाउने तयारी भएको उहाँले बताउनुभयो । औद्योगिक क्षेत्रका लगत सङ्कलन गरिएका रुख काट्ने काम अगाडि बढाइने उहाँको भनाइ छ ।

राजस्व चुहावट रोक्न र दायरा बढाउन मन्त्री भण्डारीले कर्मचारीहरुलाई निर्देशन दिनुभयो । लागुऔषधको सीमापार क्षेत्रबाट हुने ओसारपसार रोक्न निगरानी बढाउनुपर्ने मन्त्री भण्डारीको भनाइ छ ।

कार्यक्रममा सहभागी पूर्वसंविधानसभा सदस्य कृपाराम रानाले दैजी–छेला औद्योगिक क्षेत्रका काम तत्काल सञ्चालन गर्न माग गर्नुभयो । “कुनै पनि बहानामा विलम्ब गरिनु हुँदैन”, उहाँले भन्नुभयो, “काम सुरुगरी उद्योग स्थापनाको वातावरण सिर्जना गर्नुपर्छ ।”

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १० : ०३ बजे