सत्तारुढ दलको बैठक

फौजदारी घटनामा न्यायिक छानबिन भइरहेका बेला अदालत बाहिरको प्रदर्शन अनुचित भएको निष्कर्ष

काठमाडौँ। सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरुको आजको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्धामा समान धारणामा साथ एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकमा लोकतान्त्रिक पद्धति, विधिको शासन, सुशासन र जनतामा सेवा प्रवाहका विषयमा सरकार स्पष्ट भई दृढताका साथ काम गरिरहेको अवगत गराइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सय दिन पुगेको अवसरमा आज दिउँसो ३ बजे सिंहदरबारबाट समग्र कामको उपलब्धिबारे सम्बोधन गर्नेबारे बैठकलाई जानकारी गराइएको छ । बैठकमा गृहमन्त्री रमेश लेखकले सहकारी अनियमिततासम्बन्धी संसदीय छानबिन समितिबाट सर्वसम्मतरुपमा तयार गरेको प्रतिवेदन कार्यान्वयनका क्रममा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमेतलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको जानकारी गराउनुभयो ।
उहाँले फौजदारी घटनामा न्यायिक छानबिन भइरहेका बेला अलादल र सरकारलाई दबाब दिने हिषाबले भइरहेका विरोध प्रदर्शन उचित नभएको बताउनुभएको थियो । यस्ता घटनाका विषयमा सत्तामा रहेका दलहरुले आफ्ना आफ्ना तर्फबाट वक्तव्य जारी गरी न्यायिक छानबिन र लोकतान्त्रिक पद्धतिलाई निष्पक्षरुपमा अगाडि बढाउन आग्रह गर्ने भन्नेमा बैठकमा समझदारी भएको छ ।
सरकारको हालसम्मको काम र आगामी योजनालगायत विषयमा यही कात्तिक ९ गते शुक्रबार दिउँसो ३ बजे अर्को बैठक गरी साझा धारणा सार्वजनिक गर्ने पनि आजको बैठकबाट तय भएको सत्तारुढ नेकपा ९एमाले० का महासचिव शङ्कर पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री ओलीले सत्ता समीकरणमा रहेका दलहरु एकता र एकढिक्का भएर प्रस्तुत हुनुपर्नेमा जोड दिँदै लोकतान्त्रिक पद्धति, मूूल्य र मान्यताप्रति आफूहरु प्रतिबद्ध रहेको स्पष्ट गर्दै राष्ट्रिय सद्भाव र हितको रक्षाका प्रश्नमा कुनै सम्झौता नहुने बताउनुभयो । “हामी लोकतन्त्रका लागि लडेका हौँ । हामीलाई लोकतन्त्र मात्रै स्वीकार्य छ । अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य छैन । जनतालाई सार्वभौमसत्तासम्पन्न बनाउन लागि आजीवन लागेका छौँ । हाम्रो यो प्रतिबद्धता र दृढतामा कुनै कमी आउँदैन । यसमा हामी स्पष्ट छौँ ।”

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १२ : १७ बजे