‘एउटै नाउरको सिकार गर्न २३ लाख’

बुद्धको वैचारिक धरातलको परिवेश

वर्तमान नेपालको भूमिमा ५२६ ईसापूर्व तत्कालीन कपिलवस्तु गणराज्यको शासक कुलमा जन्मेका शाक्यकुमार सिद्धार्थ गौतम पछि युगान्तकारी पुरुष भए । उनले पूर्वेली दर्शनमा कालजयी योगदान दिए र तत्कालीन समयमा उनले सामाजिक शुद्धीकरणको लोकप्रिय अभियान नै चलाए । कर्मकाण्डको नाममा चल्दै आएको विकृतिका विरुद्ध उनले चलाएको अभियान नै थियो त्यो । त्यसैले उनको योगदान कुनै धर्म, सम्प्रदाय, देशमा मात्र सीमित रहेन ।

जम्बुद्वीप भनिने यस क्षेत्रमा गौतम बुद्धभन्दा पहिला पनि धेरै विचारकहरूको गहकिलो योगदान रहिआएको छ । साँचै भन्ने हो भने पूर्वेली चिन्तन प्रणाली र त्यसको विषय धेरै नै गहन रहेको देखिन्छ । उपनिषद्हरूमा देखिने वैचारिक वैशिष्ठ्यले पनि यो कुरा प्रमाणित गर्छ । बुद्ध त्यही परम्पराका एक सफल कडी हुन् । त्यो प्रवाहित हुँदै आएको चिन्तन परम्परा सुरुदेखि नै विविधतायुक्त छ । ईश्वरलाई नमान्ने चार्वाक, प्रकृतिभन्दा माथि नसोच्ने साङ्ख्य, वेद र कर्मकाण्ड नमान्ने बुद्ध पनि यहीँ छन् । आत्मवादी शङ्कर, याज्ञवल्क्य आदि पनि यहीँ नै छन् । आधुनिक जगतमा भनिने लोकतन्त्रको अभ्यास पूर्वेली चिन्तन जगतमा त्यसबेला नै रहेछ भनेर बुझ्न गाह्रो छैन ।

विचारको उत्थापनमा समकालीन परिवेश र वैचारिक परम्पराको पनि महत्त्वपूर्ण उत्प्रेरणा हुने गर्दछ । धेरैले लगभग १० देखि १५ सय वर्ष ईसापूर्वतिर भएको मानेको महाभारत युद्धले जम्बुद्वीपको सामाजिक र राजनीतिक अवस्थालाई नै प्रभाव पारेको देखिन्छ । पाँचौँ शताब्दी ईसापूर्वका गणितज्ञ वराहमिहिरले यो युद्ध २४४९ र अर्का खगोलविद् आर्यभट्टले ३१०२ ईपूतिर भएको उल्लेख गरेका छन् । 

यद्यपि, यसको समयबारे अझै धेरै मतान्तरहरू कायमै छन् । शक्तिशाली हस्तिनापुरको राज्यसत्ता हत्याउन राजवंशभित्रको आन्तरिक कलहका कारण यो भीषण लडाइँ भएको थियो । जसमा जम्बुद्वीपका अधिकांश राज्यहरूको पक्ष—विपक्षबाट सहभागिता थियो । यस युद्धले वैदिक संस्कृतिलाई तहसनहस पारेको भन्ने मत पनि कतिपय विद्वानहरूको रहेको छ । सम्भवतः लामो समयको यो निराशाजनक रिक्ततालाई यो क्षेत्रमा बुद्धको प्रादुर्भावले भर्ने काम गरेको थियो । पहिलो र दोस्रो विश्वयुद्धपछि देखिएको नैराश्यले ल्याएको रिक्तता पूर्ति गर्दै जसरी विश्व चिन्तनको क्षेत्रमा नयाँ दिशा र शैलीको प्रयोग भयो, त्यस्तै बुद्धको प्रादुर्भावमा पनि महाभारत युद्धले पृष्ठभूमिका रूपमा काम गरेन भन्ने देखिन्न ।  

बुद्धको समकालमा उभिएर हेर्दा जम्बुद्वीप बाहिर पनि दर्शनको क्षेत्रमा नयाँ चिन्तनको जागरुकता चलिरहेको देखिन्छ । ६०० ईपुतिर पारस (ईरान)मा जरथ्रष्ट्रको उदय, ईपू ५५१मा चीनमा कन्फुसियशको जन्म, ईपू ५३५मा ग्रिसमा हेराक्लिटसको जन्म, ४६९मा ग्रिसमा सोक्रेटिसको जन्म, ३८४मा एरिस्टोटलको जन्म र ४२७ ईपूमा प्लेटोको जन्मको समय सेरोफेरोमा सिद्धार्थ गौतमको कपिलवस्तुमा जन्म भएको छ । यी महामानवहरूले आफ्नो जीवनकालमा चिन्तनका क्षेत्रमा विश्वलाई नै गुन लगाएका छन् । चीन, ग्रिस जस्तो दुरीमा रहेका यी महामानवहरूले कसरी एक—अर्को विचारमा प्रभाव पारे होलान् भन्ने प्रश्न पनि महत्त्वपूर्ण छ ।

सिन्ध नदीको मैदानमा ईसापूर्व २६०० देखि १७०० सम्म विकसित रहेको सभ्यताको वर्तमान इराकको युफ्रेटस् र टाईग्रीस नदीको उपत्यकामा त्यसबेला विकसित मेसोपोटामियाको सभ्यतासँग व्यापारिक सम्बन्ध रहेको मानिएको छ । इराक वरपर गरिएका उत्खननमा सिन्ध घाटीमा प्रचलित रहेका केही वस्तुहरू भेटिनुले पनि दुवै सभ्यताहरूबीच आवत—जावत थियो भन्ने पुष्टि हुन्छ । पश्चिमोत्तरको हिन्दकुश पर्वत शृङ्खला पार गरेर करिब २००० ईसापूर्वतिर मध्यएशियाबाट घुमन्ते आर्यहरूको एक समूह सिन्धक्षेत्रमा प्रवेश गरेको थियो । यही समूहले समयान्तरमा सिन्ध क्षेत्रमा वैदिक सभ्यताको विकास गरेको थियो । केही भारतीय विद्वानहरू भने आर्यहरू जम्बुद्वीपका रैथाने भएको भन्ने विश्वास पनि गर्दछन् ।

वेदमा पणीहरूको उल्लेख व्यापारीहरूका रूपमा धेरै पटक भएको छ । बलराम श्रीवास्तवले आफ्नो ‘ट्रेड एण्ड कमर्स इन एन्सिएन्ट इण्डिया’ भन्ने पुस्तकमा धेरै सन्दर्भहरू उल्लेख गर्दै पणीहरू अनार्य हुनसक्ने बताएका छन् । पणीहरू हालको गुजरातमा पर्ने भरूचमा रहेको प्राचीन बन्दरगाहबाट हावाको भरमा चल्ने ठूला नौकाहरूबाट सिरिया बेविलोनसम्म व्यापार गर्दर्थे । पारसी साम्राज्य ईसापूर्व ५५०तिर अस्तित्वमा आयो र यसको फैलाव सिन्ध उपत्यकाबाट पूर्वी युरोपसम्म फैलिएको थियो । 

ई.पू. ३२६ मा युनानको मेसेडोनियाका राज तथा अरिस्टोटलका शिष्य अलेक्जेण्डर आफ्नो साम्राज्य विस्तार गर्ने अभियानमा ठुलो सेना लिएर सिंध क्षेत्रमा प्रवेश गरे । बौद्ध जातकमा पनि यो कुरा देखिन्छ ।  बाभेरु जातकमा जम्बुद्वीपका व्यापारी महाजनहरुको बेबिलोनसंगको व्यापार सम्बन्धको उल्लेख छ । सुप्पार जातकमा भारुकच्छबाट विभिन्न सात बन्दरगाह हुँदै पर्सियन खाडी सम्मको समुद्रिक यात्राको वर्णन छ । यसबाट प्राचीन जम्बुद्वीपको सम्बन्ध विश्वका नामी सभ्यताहरूसँग रहेकोमा कुनै शङ्का गर्नु पर्ने देखिँदैन । यो सम्पर्कले व्यापारिक र राजनीतिक क्षेत्रमा मात्र होइन, चिन्तनका क्षेत्रमा समेत आदान—प्रदान थियो भन्न सकिन्छ ।

बुद्धको जन्मभन्दा पहिलेदेखि नै गान्धारको सहर तक्षशिलाले सबैतिरको विचार र शास्त्रको अध्ययन—अध्यापन गर्ने शिक्षा केन्द्र रूपमा प्रसिद्धि प्राप्त गरिसकेको थियो । बुद्धको समकालका कोशल नरेश महाकौशलका छोरा प्रसेनजित, त्यहाँका सेनापति बन्धुलमल्ल, लिच्छवी कुमार महली, चिकित्सक जीवक र डाकु अंगुलीमालले पनि तक्षशिलामा शिक्षाध्ययन गरेका थिए । 

यसले पनि बुद्धभन्दा पहिल्यै अर्थात् ईसापूर्व सातौँ शताब्दी तक्षशिला शिक्षा केन्द्रको रूपमा स्थापित थियो भन्ने देखाउँछ । विश्वविद्यालय नै भनिँदै आएको उक्त शिक्षा केन्द्र कसले स्थापित गरेका थिए भन्ने विषयमा मतभेदहरू देखिन्छन् । यो आजको जस्तो व्यवस्थित विश्वविद्यालय नभएर विभिन्न स्वतन्त्र अध्ययन केन्द्रहरू र गुरुकुलहरूको एकीकृत स्वरूप थियो कि भन्ने पनि देखिन्छ । तक्षशिलामा अध्ययन गर्न युनानदेखि चीन र सिन्धपूर्वतिरबाट पनि विद्यार्थीहरू आउँथे । यहाँ दस हजार पाँच सय विद्यार्थी अध्ययन गर्दथे । कतै त्यहाँ ६० भन्दा बढी विषयहरूमा अध्ययन—अध्यापन हुने गरेको उल्लेख पनि भेटिन्छ । पण्डित मोहनलाल महतो जातककालीन भारतीय संस्कृतिमा लेख्छन् — त्यहाँ वैदिक विद्यालय, अष्टादश विद्यालय, शिल्प विज्ञान विद्यालय, सैनिक विद्यालय, ज्योतिष र आयुर्वेद विद्यालय जस्ता अन्य विद्यालयहरू पनि थिए । प्रत्येक विद्यालयमा ५–५ सय विद्यार्थीहरू अध्ययन गर्दथे । तक्षशिला शिक्षाको केन्द्र मात्र नभएर जम्बुद्वीपसँग युनान, मिश्र, सिरिया र चीनको व्यापारिक केन्द्रका रूपमा पनि स्थापित थियो । बुद्ध धर्मको प्रभाव त्यो क्षेत्रमा बढेपछि तक्षशिला उन्नतिको शिखरमा थियो । ईसाको चौथो शताब्दीमा हुणहरूको आक्रमणमा तक्षशिलाको प्रसिद्धिको पतन भयो । सन् ४०५मा चिनियाँ तीर्थयात्रीहरू फहियान र त्यसपछि सातौँ शताब्दीतिर ह्वेनसांग त्यहाँ पुग्दा तक्षशिलाले फैलाउँदै आएको ज्ञानको ज्योति निभिसकेको थियो ।

शाक्य कुल ईक्ष्वाकु सूर्यवंशी क्षत्रिय भएको उल्लेख पाइन्छ । हिन्दु सांस्कृतिक परम्परामा बुद्धको जन्म भएको थियो । त्यही धरातलबाट बुद्धको वैचारिक उदय भएको थियो । तक्षशिलाको वैश्विक विचारहरूको समागमले बुद्धलाई पनि प्रभावित गरेको थिएन भन्न सकिन्न । उनको विचारको वैश्विकरणका लागि तक्षशिला, नालन्दा जस्ता शिक्षा केन्द्रहरू र मगधका सम्राट अशोक जस्ता राजाहरूको महत्त्वपूर्ण भूमिका थियो ।  

(लेखक साहित्य र इतिहासका अध्येता हुनुहुन्छ ।)

  

 

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ११ : २१ बजे