मेरो ठेगानामा हुलाकबाट चिठ्ठी आयो । चिठ्ठी नखोल्दै अनुमान लगाएँ, ‘यो प्रवासी नेपाली सङ्घ (भारत) को केन्द्रीय कार्यालयबाट आएको हुनुपर्छ ।’ चिठ्ठी खोलेपछि मेरो अनुमान सही रहेछ भन्ने पुष्टि भयो । चिठ्ठीमा तिथि—मिति समेत उल्लेख गरी पाल्पा, तानसेनमा हुने नेकपा एमालेको राष्ट्रिय परिषद्को बैठकमा उपस्थित हुन भनिएको थियो । यो वि.स.२०५१ सालको कुरा थियो । त्यस समयमा म भारतको मध्य प्रदेश राज्यमा सङ्गठनको नेतृत्वमा थिएँ । बसाइ भोपालमा थियो ।
पञ्चायत कालको भूमिगत अवस्थादेखि नै भारत प्रवासमा तत्कालीन नेकपा (माले) निकट सङ्गठन निकै सशक्त थियो र व्यापक रूपमा सङ्गठनात्मक गतिविधि हुने गर्दथे । देशभित्रबाट नेता—कार्यकर्ताहरूको आउजाउ पनि निकै बाक्लो हुन्थ्यो ।
मलाई प्राप्त चिठ्ठीका बारेमा मैले सङ्गठनको सचिवालय स्तरका साथीहरूलाई जानकारी गराएँ । परिषद् बैठकमा सहभागी हुनका लागि भोपालबाट नेपालतर्फ प्रस्थान गरेँ । मुम्बईबाट गोरखपुर हुँदै विहारतर्फ जाने रेल साँझखेर आउँथ्यो । त्यसमा सवार भएर रातभरिको यात्रा गर्दै बिहान ५ लखनऊ पछिको ठुलो स्टेशन गोण्डा पुगेँ । गोण्डा ओर्लेर र बढनी, कृष्ण नगर जाने छोटी लाइनको रेलमा बसेँ । मेरो घर कपिलवस्तु बाणगंगा भएकोले त्यो बाटो हुँदै जाँदा पुग्न छिटो हुन्थ्यो । साथी कोही थिएनन्, म एक्लै थिएँ ।
बैठकपूर्व र बैठकपश्चात् ३–४ दिन घरमा बस्न मिल्ने फुर्सद मिलाएको थिएँ । परिवार स्वदेश घरमै थियो । घर नगएको लामो समय भएको थियो । लामो समयदेखि घर नगएकोले परिवारसँग कतिखेर भेटौँ भन्ने भइरहेको थियो । रेलको सिटमा बसेर यात्रा गरिरहेको अवस्थामा मभित्रको मन उडेर परिवासँग पुगिसकेको थियो र मन खुसी र उत्साहित थियो । रेल हिँड्दा उत्पन्न हुने आवाज गीत—सङ्गीत बनेर मेरो कानमा मीठो गरी गुञ्जिरहेको थियो । त्यही स्वर घरबाट परिवार छोडेर प्रवास फर्किदा बैरागिलो हुन्थ्यो ।
दिउँसो १२:०० बजेतिर रेलले बढनीमा ओराल्यो । वारि भारतको बढनी, पारि नेपालको कृष्ण नगर पर्दछ । नजिकै रहेको सीमा नाकामा तैनात भन्सारका नेपाली कर्मचारीले हेपाहा अन्दाजमा ‘झोलामा के के छ खै ?’ भन्दै झोला खोल्न लगाए । झोला खोलेर सबै सामान निकालेर देखाउन खोज्दा ‘भो, भो, सबै खोल्नु पर्दैन, चियापनीको लागि यसो मिलाए हुन्छ’ भने । म पनि के कम, राजनीति गर्ने मान्छे न थिएँ । थोरै टाठो छु भन्ने घमण्ड पनि थियो ।
मैले आँखा जुधाउँदै भने, ‘के तपाईँलाई सरकाले तलब दिँदैन? यसो भनेपछि उनले पनि अलिक चर्को बोलीमा बोल्दै भने, ‘जानुस्, जानुस् ।’
केही परगएपछि बुटवल जान तयार भएको बसमा चढेँ । बसको ड्राइभरले नेपाली लोकगीतको टेप चालू गरेपछि मन मस्त हुन थाल्यो । सिमापार गरी नेपाल प्रवेश गरेपछि हरेक दृश्यहरू, बोली, भाषा, जनजीवनका गतिविधिहरूले आफ्नो देश नेपालमा छु भन्ने अनुभूति हुन थाल्यो । झ्याल बाहिरको दृश्यहरू हेर्दा मेरो मनमा नेपालीपन चार्ज भइरहेको थियो । धेरै टाढा मैलो मैलो देखिने हरिया पहाडहरू देख्दा त झनै मन भावुक हुन्थ्यो ।
मेरो नेपाल आगमनको खास उद्देश्य पार्टीको राष्ट्रिय परिषद्को बैठकमा भाग लिनु थियो । म भोपालबाट हिँडेको पाचौं दिनका दिन बिहान घरबाट तानसेनका लागि प्रस्थान गरेँ । तानसेनदेखि तल वर्तुङदेखि उँधो लागेपछि ठाउँ ठाउँमा राष्ट्रिय परिषद्को बैठकमा पुग्नेहरुका लागि स्वागतका रातै ब्यानरहरू झुण्ड्याइका देखिन्थे । तानसेनलाई दुलही जस्तै सजाइएको थियो । त्यस्तै ३–४ बजेको हुँदो हो, म तानसेनको बस ट्याण्डमा पुगेँ, बसबाट ओर्लेर सम्पर्क स्थलमा पुगे ।
बैठक अर्को दिनदेखि सुरु हुने थियो । राष्ट्रिय परिषद् सदस्यहरू विभिन्न कार्यक्षेत्रबाट आउन सुरु भएको थियो । भारत प्रवासबाट आउनु भएका प्रवासी नेपाली सङ्घ, भारतका अध्यक्ष झिल्लुप्रसाद तिवारी, महासचिव घनश्याम कोइराला र अन्य प्रवासी नेताहरू रामलाल काफ्ले गुरुप्रसाद शर्मा, तिल काफ्ले लगायतका नेता कमरेड र पहिला नै छुट्टीमा आउनु भएका मेरा राजनीतिक सहयात्री रबिलाल तिमिल्सिनासँग भेट भयो ।
अर्को दिन कमरेड मनमोहन अधिकारीको अध्यक्षतामा परिषद् बैठक सुरु भयो । उद्घाटन सत्रमा महासचिव माधव नेपाल लगायत वरिष्ठ नेता गणको सम्बोधन थियो । कम्युनिष्ट आन्दोलनका धरोहर पुराना नेता कमरेड तुलसीलाल अमात्य र मनमोहन अधिकारीलाई देख्न पाउँदा सिङ्गो पार्टीको अभिभावकत्वको अनुभूति भइरहेको थियो । तर, मनमनै यो बैठकमा जननेता मदन भण्डारीको अभाव खट्किरहेको थियो ।
नेता—कार्यकर्ताबीच हार्दिकता थियो । नेकपा एमाले केन्द्रीय सत्तामा गएको थिएन । सबैको मनमा एमाले सत्तामा गयो भने पक्कै पनि देश र जनताका निम्ति केही नयाँ ऐतिहासिक काम गरिछाड्छ भन्ने अटुट विश्वास थियो ।
राष्ट्रिय—अन्तर्राष्ट्रिय सन्दर्भका प्रस्तावहरू पारित गरियो । परिषद् बैठकले जोडदार नारा तय गर्यो । नारा थियो, ‘आगामी सरकार एमालेको, अल्पमतको होइन, बहुमतको ।’
परिषद् बैठक समापनको दिन भव्य आमसभाको आयोजना थियो । आमसभामा बैठकका निर्णयहरू बारे जानकारी गराइयो । सबैको मन खुसी, उत्साह र उमङ्गले भरिभराउ थियो । आमजनमानसको मन—मष्तिकमा नेताहरूप्रति सम्मानको भाव थियो । त्यस समयमा नेताहरूमा पनि त्याग—तपस्या भावना थियो । जननेता मदन भण्डारीले छोडेर गएको क्रान्तिकारी रापताप समेत सेलाएको थिएन । मेची र महाकालीको कमरेड कुनै ठाउँमा भेट हुँदा गहिरो हार्दिकता मन भित्रैदेखि आउँथ्यो ।
राष्ट्रिय परिषद् बैठक सम्पन्न भएपछि केही साथीहरूसित बुटवलसम्म आएर आआफ्नो जिल्लातिर लागियो म, पनि आफ्नो घर पुगेँ । घरमा पुगेर २ दिन बसेपछि तेस्रो दिन भारत प्रवासतिर हिँड्ने दिन आइहाल्यो । बिहानको ८ बजेको थियो !सबैको मुखमा मलिनो देखिन्थ्यो । झोला भिरेर हिँड्न थाल्दा श्रीमतीले गहभरि आँसु गराउँदै भनिन्, ‘राम्रोसँग जानुहोला ।’ सबैको मुखतिर हेर्दै नक्कली हाँसो हाँस्दै ‘चिन्ता नगर म २–४ महिनामा फेरि आइहाल्छु नि !’ भनेँ । अघिल्लो राति नै ठिकठाक पारिएको झोला बोकेर लागियो प्रवासतिर । परिवार छोडेर मुग्लानिनुको पीडासँगै आउँदो निर्वाचनमा आफ्नो कार्यक्षेत्रबाट प्रवासी नेपालीहरूलाई देश फर्काउने र ‘आगामी सरकार एमालेको—अल्पमतको होइन, बहुमतको’ सपना साकार पार्ने उत्साह बढी थियो ।
पाल्पामा सम्पन्न राष्ट्रिय परिषद् बैठकको नारापछि गएर करिब—करिब सार्थक नै हुन पुग्यो । बहुमतको सरकार नबने पनि मध्यावधि निर्वाचनमा सबैभन्दा ठुलो दल नेकपा (एमाले) बन्यो र २०५१ मङ्सिरमा अल्पमतको भए पनि एकल सरकार बनाउन सफल भयो । त्यतिबेला एमाले नेतृत्वको ९ महिने शासनकाल नेपालको राजनीतिक इतिहासमै विशिष्ट थियो ।
(लेखक सामाजिक अभियन्ता हुनुहुन्छ ।)
प्रकाशित मिति : १७ पुस २०७८, शनिबार ९ : ५२ बजे
प्रतिक्रिया