शिक्षामा सार्थक परिवर्तन किन?

“शिक्षा जीवनको तयारी होइन; शिक्षा नै जीवन हो।” (जोन डेवी)

देश कस्तो भन्ने कुरा नागरिकदेखि नेतृत्व कस्ता भन्ने कुरामा भरपर्छ। नागरिकदेखि नेतृत्व कस्ता छन् भन्ने कुरा त्यो देशको शिक्षा कस्तो छ भन्ने कुराले निर्धारण गर्छ। आज जे देखिदैछ र भोगिदैछ, सारमा त्यो खराब शिक्षाको परिणाम हो। तर हामी भने राजनैतिक तथा संवैधानिक व्यवस्थामा मात्रै समस्या देख्ने भ्रममा परिरहेका छौं। जबकि समस्याहरू शिक्षा व्यवस्थासँगै प्रशासनिक, न्यायिक र आर्थिक व्यवस्था र नीतिमा पनि छ।

राजनीति राम्रो बनाउन राम्रो विचार र नेतृत्व चाहिन्छ। राजनीतिक विचार र नेतृत्व राम्रो बनाउन राम्रो शिक्षा चाहिन्छ। राम्रो शिक्षा बनाउन राष्ट्रिय दृष्टिकोण, लक्ष्य, नीति, कानुन, पाठ्यक्रम, शिक्षक, शिक्षण सिकाइका सामाग्री र शिक्षालयहरू पनि राम्रो चाहिन्छ। लगानी पनि पर्याप्त हुनुपर्छ। यतिबेला हामीले बुझ्नुपर्छ, “शिक्षाको गुणस्तर नागरिकको जीवनशैली अनि सार्वजनिक सेवाहरूको स्तरले सम्पन्नताको संकेत गर्छ। जसले धनी र गरीबबीचको खाडल पनि कम बनाउँछ। जुन दिगो भविष्य निर्माणको मुख्य आधार हो।”

शिक्षा क्षेत्रका सरोकारवालाहरूले बुझ्नैपर्ने कुरा के हो भने “विद्यार्थीहरूले शिक्षा लिनु भनेको ज्ञान प्राप्त गर्नु मात्र होइन। शिक्षाको आफ्नै धर्म छ। यसले विद्यार्थीहरूमा अहंकारलाई कम गर्नुपर्छ, उनीहरूलाई नम्र बनाउनु पर्छ, उनीहरूमा डर र अनिश्चिततालाई हटाउनु पर्छ अनि मात्र उनीहरूमा परिपक्वता ल्याउँछ र अन्ततः उनीहरूलाई खुशीतर्फ लैजान्छ।” अब प्रश्न उठ्छ, के हाम्रो शिक्षा व्यवस्थामा ति चरित्रहरू विद्यमान छन् त? यहाँ यतिबेला विश्व साक्षरता सम्मेलनका निर्देशक ग्रेगोरी जेरालिड्सको भनाई मनन गर्नुपर्छ, “शिक्षा महत्त्वपूर्ण छ। साक्षरताले शिक्षा समुदायलाई मात्र मद्दत गर्न सक्दैन, तर यसले सिकाउने सबैलाई मद्दत गर्न सक्छ।” किताब, दिमाग र छाताहरू बन्द हुँदासम्म त्यसले काम गर्दैन, त्यस्तै शिक्षाले विद्यार्थीहरूको क्षमता विकास गर्न सकेन भने त्यो शिक्षा काम लाग्दैन ।

शिक्षा भनेको परीक्षा दिने र प्रमाणपत्र लिने कुरा मात्र होइन। शिक्षा भनेको त सिक्ने, सकारात्मक र रचनात्मक सोचका साथ अघि बढ्ने, जीवनको अर्थ बुझाउने र अनुभव गराउने मुख्य माध्यम हो अर्थात नागरिकको मनस्थिति र देशको परिस्थिति सकारात्मक बनाउने मुख्य अस्त्र हो। फेरि विद्यार्थीहरूलाई असल र क्षमतावान वैश्वीक नागरिक बनाउने मुख्य माध्यम पनि शिक्षा नै हो। असल र क्षमतावान नागरिक शान्ति र समृद्धिको पहिलो आधार र पूर्वाधार हो। त्यसैले दिगो भविष्य निर्माणका लागि शिक्षामा सार्थक परिवर्तन अनिवार्य भैसकेको छ। आजको यो अनिवार्यता नीति निर्माणको तहमा रहेका पक्षहरूले अझै महसूस गर्न सकेका छैनन्। अनि त उनीहरू असान्दर्भिक प्रश्नहरूमा अल्झिएर समय, सीमित साधन र श्रोतहरूको दुरूपयोग हुँदा पनि चिन्तित देखिएका छैनन्।

यतिबेला हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने नयाँ पुस्तालाई सक्षम र सशक्त बनाउन सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्नुपर्छ। उनीहरूलाई शिक्षित र साक्षर बनाउने रणनीतिअन्तर्गत शिक्षा र साक्षरता कार्यक्रमहरूमा पुनरावलोकन अनिवार्य भइसकेको छ। भविष्यको स्वर्ण द्वार खोल्नका लागि हरेक नागरिक शिक्षित र साक्षर बन्नैपर्छ। यो यथार्थ स्वीकार गरेर हामीले विगतका अनावश्यक प्रश्नहरूमा नअल्झिइ र भ्रममा नपरी भविष्यको प्रश्नहरूमा केन्द्रीत भएर वर्तमानमा क्रियाशील हुनुपर्छ।

गुणस्तरीय अर्थात लोकप्रिय शिक्षामा सबैले समान रूपमा लेखपढ गर्ने र सिक्ने अवसर पाउँछन्। कसैले पनि आफू भाषिक, आर्थिक, भौगोलिक, सांस्कृतिक र लैंगिक रूपमा विभेदमा परेको महसूस गर्नु पर्दैन। त्यसैले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न आधारभूत शिक्षामा बहुभाषिक शिक्षा कार्यक्रम प्रभावकारी रूपमा लागु गर्ने नीतिगत व्यवस्था गरिनुपर्छ। यस सन्दर्भमा पाउलो फ्रेरेको भनाइ बढी सान्दर्भिक हुनसक्छ। फ्रेरेले भनेका छन्, “लोकप्रिय शिक्षा एक शैक्षिक दृष्टिकोण हो जसले दैनिक अनुभवहरूलाई सामूहिक र आलोचनात्मक रूपमा जाँच्छ र सबैभन्दा सीमान्तकृतहरूको हितमा राजनीतिक दृष्टिकोणका साथ अन्यायका विरुद्ध कारबाही गर्ने क्रममा आन्दोलनहरूमा संगठित हुने र संगठन निर्माण गर्ने चेतना जगाउँछ।” जुन समुन्नत र समतामुलक समृद्ध समाज निर्माणको सुरूवात हो।

हिजो रातो क्रान्ति भन्दै जंगलमा बसेर धम्कीको भाषा र हतियार प्रयोग गरेर गाउँघर जबरजस्ती खाली गराइयो। आज निलो क्रान्ति भन्दै सहर र सदनमा बसेर सञ्चार र सञ्जालहरूको दुरूपयोग गरेर देशमा अराजकता र स्वछन्दताको डढेलो लगाउने प्रयास भइरहेको छ। यदि हामीले गुणस्तरीय शिक्षा पाउन र नयाँ पुस्तालाई गुणस्तरीय शिक्षा दिन सकेको भए न हिजो हामी रातो क्रान्तिको जालमा पर्ने थियौं न त नयाँ पुस्ता निलो क्रान्तिको भ्रममा नै पर्ने थिए। त्यसैले पनि हरेक नागरिकले ठीक र बेठीक छुट्याउन सक्ने बनाउन पनि शिक्षामा सार्थक परिवर्तन गर्नुपर्ने भएको छ।

नागरिकमा परिपक्वता ल्याउन र नागरिकलाई सबैखाले भ्रमहरूबाट मुक्त गराउन शिक्षा नै सबभन्दा बलियो माध्यम हो। “यदि कुनै शिक्षित व्यक्ति समाज रूपान्तरणमा सकारात्मक भूमिका खेल्न सक्दैन भने साँचो अर्थमा त्यो व्यक्ति शिक्षित हुनै सक्दैन।” (पाउलो फ्रेरे) अहिले नेपालमा शिक्षित भनिनेहरू नै देशका लागि मुख्य समस्या बनिरहेका छन्। हिजो डा. बाबुराम भट्टराईहरू रातो क्रान्ति भन्दै समस्या बनेका थिए भने आज डा. स्वर्णिम वाग्लेहरू निलो क्रान्ति भन्दै समस्या बन्दैछन्। अन्यथा उच्च शिक्षा र डिग्री प्राप्त गरेका मान्छेहरू देशका लागि समस्या बन्ने थिएनन्।

सत्य र प्रगतिको पक्षमा उभिनु र पैरवी गर्नु अनि सत्य र प्रगतिका बारेमा जनतालाई जागरूक बनाउनु हरेक प्राज्ञिकहरूको मात्र होइन हरेक शिक्षित र साक्षर नागरिकको कर्तव्य हो। त्यही कर्तव्य बुझेर क्रियाशील हुने नागरिक तयार गर्नु शिक्षाको धर्म अथवा चरित्र हो। तर अहिले हामी त्यो कर्तव्यबाट विमुख हुँदा खराब पात्र र खराब भाष्यले वैकल्पिक राजनीतिको नाममा समाजमा घर गर्न खोजेको छ। फौजदारी अभियोगमा जेलमा हुनुपर्ने पात्र कपालमा जेल लगाएर आफूलाई महान देखाउँदै जनतालाई भ्रमित बनाउन उद्दत देखिन्छ।

आज हाम्रो सन्दर्भमा नोअम चोमस्कीको भनाइ बढी मेल खान्छ। चोमस्कीले भनेका छन्, “कसैले पनि तपाईंको दिमागमा सत्य हाल्दिदैन। यो त तपाईंले आफ्ना लागि पत्ता लगाउनु पर्ने कुरा हो।” 

प्रतिष्ठासहित बाँच्नु र भ्रमका कारणले लोकप्रिय देखिनु र प्रतिष्ठित हुनु नितान्त फरक कुरा हो। चरित्रवान देखिनु र हुन खोज्नु पनि फरक कुरा हो। जालसाजी गरेर कमाउनु र भ्रम बेचेर लोकप्रिय देखिनु पनि एउटै हो। तर यतिबेला हामीले यसका सार र रुप पक्ष बुझ्न र छुट्याउन नसक्दा एकातिर खराब पात्र र प्रवृत्तिको मनोबल बढेको छ भने अर्कातिर भ्रमित भाष्यमा परेर गलत निर्णय गर्ने ठाउँमा हामी पुग्दैछौं। देशको आजको समस्या पनि यही हो किनभने अराजकता र स्वछन्दता सकारात्मक परिवर्तनको माध्यम हुनै सकदैन।

त्यसैले भनिन्छ नि “शिक्षाको उद्देश्य भनेको खाली दिमागलाई खुला र बौद्धिक दिमागले प्रतिस्थापन गर्नु हो।” साँचो अर्थमा शिक्षित तथा साक्षर व्यक्ति त्यो होइन जसलाई सबै प्रश्नहरूको उत्तरहरू थाहा छ, तर त्यो हो जसलाई थाहा छ कि ती प्रश्नहरूको उत्तर कहाँ पाउन सकिन्छ। शिक्षा तथा साक्षरताको काम भनेको खुला दिमाग बनाउन, ज्ञानको तिर्खा जगाउनु र सिक्ने जाँगर विकास गर्नु हो। तर हाम्रो शिक्षा तथा साक्षरता कार्यक्रमहरूमा त्यो चरित्र र क्षमता पाईंदैन। त्यसैले शिक्षामा सार्थक परिवर्तन अति आवश्यक भएको हो।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  १२ : ३८ बजे