जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्यमा एमाले अघि बढिरहेको छ : अध्यक्ष ओली 

​​​​​​​​​​​​​​काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा लिएर एमाले जनतामाझ गएको बताउनुभएको छ ।

नयाँ वर्ष सन् २०२२ को अवसरमा स्वदेश र विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताका शुभकामना व्यक्त गर्नुहुँदै उहाँले एमालेले लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सम्पूर्ण आवश्यकता र अधिकार परिपूर्तिको जीवन मूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रूपमा अघि सारेको बताउनुभयो ।

अध्यक्ष ओलीले आपसमा निराशा बाँडेर बस्ने हाम्रो सामाजिक प्रवृत्तिलाई नेकपा (एमाले)को सरकारले सुशासन र समृद्धि तर्फको बहसमा केन्द्रित गर्न सफल भएको बताउनुभयो ।  

एमालेले नेतृत्व गरेको सरकारले विकासका केही दूरगामी योजनाहरू थालनी गरेको भन्नुहुँदै उहाँले जनताको जीवनमा प्रत्यक्ष परिवर्तन महसुस गराउने केही आयोजनाहरू सम्पन्न समेत गरेको बताउनुभयो । 

“हामी हाम्रा देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा लिएर जनतामाझ गएका छौँ ।”, उहाँले भन्नुभयो । 

एमाले नेतृत्वको सरकारले राज्य सञ्चालन गरेका बेला जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनमुक्त, गरिबीरहित, सुशिक्षित, आधुनिक, समृद्ध र सुविधा सम्पन्न बनाउने काम अघि बढाएको बताउनुभयो । 

“हामीले थालनी गरेका दूरगामी महत्त्वका कामहरू बहुसङ्ख्यक जनताको दैनिक जीवनका साझा राष्ट्रिय उपलब्धिका रूपमा रहेका छन् । मुलुकको नवनिर्माणको यस अभियानलाई हामी अझ असाधारण र द्रुतगतिमा अघि बढाउन चाहन्छौँ ।”, उहाँले भन्नुभयो ।  

उहाँले समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्यमा एमाले अघि बढिरहेको बताउनुभयो  । 

समृद्ध नेपाल, सुखी नेपालीको यस राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सुस्थिर राजनीति अपरिहार्य रहेको उहाँले भनाई छ  । 

मुलुक निर्माणको प्राथमिकताबाट विमुख व्यक्ति र समूहहरूका निजी दुराकाङ्क्क्षाहरुले सिर्जना गरेका अवरोधहरूलाई छिचोल्दै राष्ट्रको यस साझा आकाङ्क्षा पूरा गर्ने बाटोमा नेकपा (एमाले) अविचलित निष्ठासाथ अघि उहाँले बढिरहेको बताउनुभयो । 

उहाँले अनुचित दुष्प्रयासहरूले अवरोध पुर्‍याएर थाती रहन पुगेका राष्ट्रिय समृद्धिका पाइलाहरूलाई उचाइमा पुर्‍याउने नेकपा (एमाले)को अभियानमा सबैको साथ रहने बताउनुभयो । 

 

 

 

 

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ७ : ५६ बजे