काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अरू पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नगर्न सुझाव दिनुभएको छ।
नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गा लिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि महासचिव पाेखरेलले साे कुरा बताउनु भएको हाे ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्ताहरूले एमालेको भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक सञ्जालमा अनेकन् सुझाव दिइरहेको भन्दै एमालेले गरेका निर्णयहरूको कटु आलोचना नगर्न आग्रह गर्नुभएको छ।
उहाँले लेख्नुभएको छ-
यतिवेला फरक पार्टीका नेता र कार्यकर्ताहरुले नेकपा(एमाले)को भविष्यका वारेमा चिन्ता गर्दै सामाजिक संजालमा अनेकन् सुझाव दिइरहेका छन् र उस्ले गरेका निर्णयहरुको कटुआलोचना गरिरहेका छन् । राजनीति गर्नेहरुले आ आफ्नो पार्टी राम्रो बनाउन लागेत अरुका वारेमा चिन्ता गर्नै पर्दैन नि ।
नेकपा (एमाले)लाई कस्तो बनाउने नेकपा (एमाले) जनलाई नै छोडिदिनु न । जनता के चाहन्छन् ? राष्ट्रको आवश्यकता के हो ? नेकपा (एमाले) लाई राम्ररी थाह छ । जनस्तरका सुझाव ग्रहण गर्नका लागि नेकपा (एमाले) ले मिसन ग्रासरुट र मध्यपहाडी लोकमार्ग आधारित झुलाघाट चिवाभंज्याङ यात्रा गरेकै हो । भविष्यमा पनि जनस्तरमा पुग्ने योजना बनाएकै छ ।
जनताका वीचमा पुगेर तथा जनताको सुझाव ग्रहण गरेरनै नेकपा (एमाले) आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रीत छ । समृद्ध नेपाल सुखी नेपालीको नेपाली जनताको आकांक्षा पुरा गर्नका लागि बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको छ ।
तसर्थ, कुन पार्टी कस्तो भन्ने कुराको परिक्षण त सामाजिक संजालले होइन आवधिक निर्वाचनले गर्ने हो । त्यसका लागि नेकपा (एमाले) हरदम तयार छ ।
प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार १ : ०९ बजे
प्रतिक्रिया