नलेखिएका कथा : पशुपति आर्यघाट, गहभरी आँशु, भावविह्वल मन !

पशुपतिनाथको दक्षिण गेटबाट अलिक पर एउटा शव कात्रोमा राखिएको छ । सबै मलामीहरू भारी मनकासाथ लासको वरिपरी घेरिरहेका छन् । सबै भावविह्वल देखिन्छन् । दाह संस्कारको लागि राखिएको शवमा आएका मलामी र आफन्तहरू फूलमाला र श्रद्धाञ्जलि अर्पण गरिरहेका छन् । 

आर्यघाटको ठिक पारी केही युवा—युवतीहरू हात समातेर लासलाई हेर्दै टोलाईरहेका छन् । अश्रुमिश्रित हाँसोमा प्रेमिल मनकासाथ अङ्कमाल गर्दै टाउको ठोकाउँदै गफ गरिरहेका छन् । त्यसको ठिक पारी उपस्थित भएका आफन्त र मलामी कसैको पनि आखाँको आँशुलाई परेलीको बाँधले रोक्न सकेको थिएन ।
शुक्रबार दिउँसो सभा ३ बजेको पशुपति आर्यघाटको दृष्य हो यो ।

श्रद्धाञ्जलि दिइसकेपछि केही जोसिला युवाहरू उठेर कात्रोमा बेरिएको लास काँधमा हालेर शङ्ख फुक्दै तिलगङ्गा पट्टिको मसानघाटतर्फ लागे । मलिन र स्तब्ध अनुहार लिएर जलाउन ठिक्क पारिराखेको लासलाई एकनासले हेरिराखेका थिए, करिब २७ वर्षे एक युवा । आफन्तहरूले लास जलाउनका लागि ती युवकलाई  गुहारिरहेका थिए तर उनी एकोहोरो टोलाइ मात्र रहे  । आर्यघाट नजिकै राममन्दिर जाने पुलबाट लासलाई हेर्दै आफन्तहरू विलौना गरिरहेका थिए ।

‘विवाह भएको ३ वर्ष पुग्दै छ, श्रीमतीसँग राम्रोसँग कहीँ कतै घुम्न जान पाएको छैन’ सुबोध (नामपरिवर्तन)ले विलौना गर्दै भने । ‘अब म कसको मुख हेरेर बसौँ ? एक वर्षको छोरीलाई टुहुरो बनाएर गई, हे दैव ! अब म कहाँ जाउँ ?’  उनी डाँको छोडेर छातिमा मुक्का हान्दै धेरै बेर भावुक बने ।

उनको श्रीमतीलाई हृदयाघात (हर्ट अट्याक) भएको रहेछ । बिहानै उठेर नुवाइ—धुवाइ गरी खाना समेत बनाएकी उनलाई एकाएक स्वास प्रस्वासमा समस्या आयो, परिवारले तुरुन्तै हस्पिटल लैजाँदा लैजाँदै बाटैमा उनी सधैका लागि अस्ताईन् ।

उनको डेढ वर्षको छोरी छ । छोरीलाई नर्स पढाउने आमाको ईच्छा थियो ।  ‘अब म एक्लै छोरीलाई कसरी हुर्काउँ !’ उनले विलौना गर्दै भने । ‘हिजो राती मात्र उनकै हातबाट खाना खाएको कति मिठो खाना बनाएकी भनेर जिस्क्याएको थिएँ । अब सधै यस्तै खाना बनाउँछु, भनेर उसले पनि घोचा हानेकी थिई । आज छोडेर गई’ उनले भने । ‘बुढा—बुढी अंग्रेजी नयाँ वर्षको दिन पोखरा घुम्न जाने योजना बनाएका थियौं । जाँदा प्लेनमा जाने र आउँदा गाडीमा फर्कने योजना थियो ।  आजसम्म उनले प्लेन चढेकी पनि थिईनन् । प्लेनको नयाँ अनुभव । प्लेन चढ्ने भन्ने बित्तिकै कति उत्साहित भएकी थिई ऊ, उसको प्लेन चढ्ने सपना अधुरै रह्यो’ उनले आँशु पुछ्दै भने ।

सोही दिन पशुपति आर्यघाटमा अरु दिनभन्दा फरक दृष्य देखियो । आर्यघाट कलिको मूर्ति नजिकै एउटा लास आयो । आएका मलामी र आफन्त सबैले लासलाई घेरेर श्रद्धाञ्जलि अर्पण गरिरहेका थिए । केही बेरपछि एकाएक तालीको अवाज आउन थाल्यो । पशुपतिमा दर्शन गर्न र घुम्न आएका मानिसहरू सबै रोकिए । सबैको ध्यान तालीको अवाज आएकैतर्फ खिचियो । आएका मलामी र आफन्तहरू लासलाई घेरेर श्री साईराम भन्दै ताली पड्काउँदै थिए । सँगसँगै गायत्री मन्त्र भनिरहेका थिए उनीहरू । लास पूरै नजलुञ्जेलसम्म मलामीहरू ‘साईराम’ भन्दै ताली पड्काउनमै व्यस्त थिए । त्यहीँ मलामी आएका प्रकाश (नामपरिवर्तन)लाई हामीले सोधेका थियौँ, ‘साईराम साईराम किन भन्नुभएको ?’ ‘साईराम मन्त्र जप्यो भने बैकुण्ठ लोक प्राप्ति हुन्छ यो हाम्रो परम्परा हो’ उनले भने ।

प्रकाश र सुवोध जस्तै दर्जनौ मानिसहरु पशुपतीनाथको आर्यघाटमा आफ्ना आफन्तको वियोगमा दैनिक जसो तड्पिरहेको दृश्य यहाँका लागि सामान्य नै हो  । गहभरी आशु र  आफन्त वियोगको पीडाले भावविह्वल आर्यघाट क्षेत्रको यी दृश्यले  आखिर जीवनको अन्तिम गन्तब्य  के हो  भन्ने बोध गर्न काफी हुँदैन र ?  

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  २ : ३५ बजे