राष्ट्रियसभा निर्वाचन : कर्णाली एमालेबाट ९ जनाको नाम सिफारिस

सुर्खेत । माघ १२ मा हुन लागेको राष्ट्रियसभा सदस्यको चुनावका लागि नेकपा एमालेले कर्णाली प्रदेशबाट ९ जनाको नाम सिफारिस गरेको छ । 

प्रदेश कमिटीको आज बसेको बैठकले कर्णाली प्रदेशबाट रिक्त हुने तीनजना सदस्यका लागि क्लष्टरअनुसार  ९ जनाको नाम केन्द्रलाई सिफारिस गरेको हो । 
सिफारिस गरिएकाहरुमा महिलातर्फ चन्दननाथ नगरपालिका– ७ जुलाकी गंगा थापा महत, छत्रेश्वरी गाउँपालिका–५ सल्यानकी कुन्ता बस्नेत र मुगुमकार्मारौंग गाउँपालिका–३ मुगुकी सोनाम छोइजुङ भोटे लामा रहनुभएको छ ।  

यस्तै, अन्यतर्फ वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेतका चुडामणि शर्मा, भेरी नगरपालिका–३ जाजरकोटका गोविन्दविक्रम शाह र शुभकालिका गाउँपालिका–४ कालीकोटका हिरे सुनार हुनुहुन्छ । 
त्यसैगरी अपांगतातर्फ सिफारिस हुनेहरुमा छायाँनाथरारा नगरपालिका–१० मुगुका रुपबहादुर बुढा, खाँडाचक्र नगरपालिका–३ कालीकोटका केशवराज देवकोटा र सल्यानका शेरबहादुर डाँगी सिफारिस हुनुभएको छ ।
 

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  २ : ०६ बजे