आफ्ना अगुवालाई परेको सङ्कटमा समर्थकलाई चित्त दुख्नु स्वाभाविकै हो । तर यस्तो चित्त दुखाइका नाममा गलत भाष्य निर्माण गर्ने वा अरूलाई लाञ्छित गर्ने प्रवृत्ति समाजका लागि किमार्थ उचित होइन । २०५१ सालमा रहस्यमय दासढुङ्गा दुर्घटनामा नेकपा एमालेले आफ्ना अगुवा गुमाउँदा थामि नसक्नु पिडा भएर तत्कालीन परिवेशमा नारा जुलुस लगाएको थियो । आन्दोलन त्यतिबेला नै मन्थर भै हाल्यो तरपनि यो रहस्य अहिलेसम्म पनि रहस्यकै रूपमा छ । दरवार हत्याकाण्ड यस्तै प्रकृतिको अर्को आक्रोशजन्य परिस्थितिको द्योतक थियो । कुनैं पनि मृत्यु पछि सच्याउन वा पुन प्राप्त गर्न नसकिने किसिमको अपुरणीय क्षति हो । तर अहिले रवि लामिछाने यसरी अल्पिएको अवस्था पनि होइन ।
संसदले रवि लामिछाने नेतृत्वको दलको समेत सहभागिता रहने गरी संसदीय छानविन समिति बनायो । यसले गहन अध्ययन पछि सर्वसम्मत रूपमा प्रतिवेदन तयार गरी पेश गर्यो । अहिले यही प्रतिवेदनको सिफारिस र सहकारी पडितहरूले गरेको उजुरी समेतका आधारमा रवि लामिछाने सहित १४ जना व्यक्तिहरूलाई एकैपटक अदालतबाट अनुमति प्राप्त गरेर छानविनको क्रम अघि बढाएको देखिन्छ । सहकारीमा अपचलन गरेवापत अरु व्यक्तिहरूलाई पनि यसरी नै पक्राउ र अनुसन्धान हुँदै आएको छ ।
अनुसन्धानको दायरामा जो कोही व्यक्ति पर्न सक्छन् । तर अदालतले दोषी प्रमाणित गरेपछि मात्र खासमा उ दोषी हुन्छ । तथापि नेपालको पत्रकारिता र सामाजिक सञ्जालमा भने कुनै व्यक्तिको गल्ति नै नभए पनि बफवाह फैलाउने प्रचालन छ । अझ अनुसन्धानको दायरामा कोही तानिए भने तत्कालै उसलाई अपराधी करार गर्ने तछाड मछाड नै गरिन्छ । यसरी अरूलाई विनाकारण वदनाम गर्ने वा तीललाई पहाड बनाउने कामको नेतृत्व नै वाकपटुक पत्रकार रवि लामिलानेको विगत हो ।
घटना वा अवस्थाका बारेमा भएको विवरण जनतालाई सुसुचित गर्नु पर्ने सत्र्चार क्षेत्रको मूल मर्म हो । तर आफैँ न्यायाधिस जसरी घटना तोडमोड गर्ने र आफ्नो अभीष्ट लादेर समाचारका पानामा ‘स्वघोषित फैसला’ छाप्ने वा प्रशारण गरी पाठक, स्रोता वा दर्शकलाई गुमराहमा राख्ने कामको एकजना सफल नेतृत्वकर्ता हुन् रवि लामिछाने । व्यक्तिपूजक संस्कार, अस्थिर राजनीति, द्वन्द्वको चपेटासँगै राजनीतिक दलहरूले पूरा गर्न नसकेका जनअपेक्षाको चौबाटोमा रविले नकारात्मकता र अविश्वासको विषवृक्ष रोपे । अरुलाई नाहकमा वा आशंकाकै भरमा हिजो जे जे भनियो र नियोजित तर्क गरियो अहिले आफूलाई पर्दा आफैले हुर्काएको समाचार सम्प्रेषण शैलीको असर पहिचान गर्न सके व्यक्तित्व उचा हुने थियो । तर सामाजिक सञ्जालमा प्रस्तुत रवि शैलीले सुधारको कुनै सङ्केत दिएको देखिएन ।
वास्तवमा रवि नेपाली राजनीतिमा काण्डै काण्डको पोको र घृणामा मौलाएको अपसंस्कृति हो । यो अपसंस्कृतिबाट सभ्य नागरिकले बढी अपेक्षा गर्न सक्दैन । तथापि प्रविधिको दुरुपयोग, गालिका पर्रा र आरोपको पोखरीमा पौडिदै मौलाएको अपसंस्कृतिका पिछलग्गु र सुकिलाहरूको झुण्डलाई सरल नेपाली जनताप्रति विश्वासघात गर्ने छुट दिन पनि मिल्दैन ।
नेपाली समाजको सामाजिक मूल्य मान्यतामा तीव्र गतिमा फेरिएका अपसंस्कृतिका रङहरूलाई मौलिकपनको पुनरुत्थानले सच्याउन आवश्यक छ । नेपाली जनताले समृद्धि र विकास चाहेका हुन् । समृद्धि र विकासको गतिका बारेमा वहस गर्न सकिन्छ । तरपनि यति चाहि ढुक्कले भन्न सकिन्छ कि, नेपाली समाजले सूचना प्रविधि, यातायात, शिक्षा, स्वास्थ्य, समावेशीता र समग्र भौतिक क्षेत्रमा हासिल गरेको उपलब्धि निकै चाख लाग्दो छ । राजनीतिक स्थिरता कायम भएको भए र स्वदेशमा नै रोजगारी सिर्जना हुन सकेको भए हाम्रो अवस्था योभन्दा धेरै माथि पुग्ने थियो ।
अहिले ध्यान केन्द्रित गर्नु पर्ने मुख्य विषय कानुनको शासन कायम गर्ने र वास्तविक लोकतन्त्रान्त्रिक संस्कारको विकास गरी समृद्रधि हाँसिल गर्ने हो । तर स्थापित व्यक्तित्व र संस्थाहरूबाट मौजुदा नीति, कानुनको अवज्ञा गर्ने र संगठित अपराध गर्ने प्रवृतिले जरा गाड्दै छ । यस्तो अपराधलाई राजनीतिक रङ दिएर जनअपेक्षामा सौदाबाजी गर्ने टाठाबाठाहरूको खहरे भेलबाट मुलुकलाई जोगाउन आवश्यक छ ।
जतिसुकै गालि वा अविश्वास गरेपनि, मुलुकको राजनीति परिवर्तनका लागि लडेर इतिहास बनाएका राजनीतिक दलहरू र खारिएको नेतृत्वलाई लोकलज्जाको हेक्का भएको देखिन्छ । अहिलेसम्म मुलुकका तीन ठूला दलहरूका ठूलै नेताहरू भ्रष्टाचारमा मुछिएका छन् । तर अहिले रविको पक्षमा जस्तो नाङ्गो बचाउ कसैले गरेको देखिएन । नेकपा एमाले एकजना सचिव अहिले पनि जेलमा रहेको अवस्था छ । नेपाली काङ्ग्रेसका पूर्व गृहमन्त्रीहरू र माओबादीका उपाध्यक्ष नै भष्टाचारको मुद्दा खेपि रहेका छन् । तर यी दलहरुले औपचारिक निर्णय गरेर उनीहरूको पक्षमा समर्थकालाई सडकामा उतारेका छैनन् ।
तर रवि र उनको नवस्थापित दलले बनाउन खोजेको भाष्य मुलुकका लागि निकै हानिकारक देखिन्छ । अन्य दलहरूको आलोचना गरेर नथाकने नयाँहरू अझ विकृत सोचले ग्रस्त देखिन्छन् । आफ्नो पक्षमा नजिजा ल्याउन वा जनताको ‘ सेन्टिमेन्ट’ प्राप्त गर्न गरिरहेको गलत हर्कत रोकिन जरूरी छ । हिजो शुद्धता देखाउन ढाकाप्रसादहरूलाई बर्साउन सक्ने २४ घण्टे कारबाहीको डण्डा अदालतको आदेशबाट पक्राउ परेका रविका नाममा नलाग्नु अझ बचाउमा सडक प्रदर्शन समेत गर्नु भनेको यो समूह राजनीतिक दल नभएर मुकुल ढकालले भने झैँ रविको क्लब मात्र रहेछ भन्ने देखिन्छ ।
तर्थ मुलुकको वुद्दिजीवि वर्ग, सञ्चार जगत, अभियन्ता र सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले पनि यस्ता विययमा स्रोता, दर्शक वा समर्थक बढाउने मात्र उद्देश्य राख्नु उचित देखिन्न । सुशासन, कानुनी शासन र जनहितका लागि सच्चा खवरदारी नगर्ने तर भीड र भ्युजका पछि लागेर कुण्ठा पोख्ने र आफ्नो विद्वताको कद घटाउने छुट कसैलाई छैन । संगठित अपराध र संगठित अराजकताले पेलिरहेको वर्तमान सामाजिक परिवेशमा सुधार गर्न हामी सबै जिम्मेवार हुनुपर्दछ ।
प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार २ : ३७ बजे
प्रतिक्रिया