गौतम बुद्धको महाभिनिष्क्रमण र अनोमा घाट

प्राचीन कोलिय गणराज्यका राजाद्वारा बनाइएको स्तूप रामग्राम स्तूप संसार भरिका लागि महत्त्वपूर्ण रहेको र त्यसबारे देशी—विदेशी निरन्तर अनुसन्धान गरिरहेकै सन्दर्भमा कोलिय गणराज्य भित्रको अर्को अनोमा घाट अर्थात् सिद्धार्थ गौतमले महाभिनिष्क्रमण (गर्नुभएको) लिनु भएको स्थान नेपालको लुम्बिनी प्रदेशको पूर्वी सीमा नवलपरासीको सुस्ता गाउँपालिकाको स्थानीय स्तरमा ठाढीघाट भनेर चिनिने अनोमा घाट हो । पूर्वमा नारायणी  (अनोमा)नदी पारी भारतको विहार प्रदेश, दक्षिणमा उत्तर प्रदेश,पूर्वमा गण्डकी प्रदेशको सङ्गम स्थल पनि हो । सिद्धार्थ गौतम बोधी प्राप्त गरी भगवानको रूपमा स्थापित बोधी प्राप्तिको प्रस्थान बिन्दुको रूपमा पनि यो स्थानलाई लिन सकिन्छ । भारतको बोधगयामा सिद्धार्थ गौतमले बोधी अर्थात् ज्ञान प्राप्त गरे पनि सो ज्ञान प्राप्तिको प्रस्थान बिन्दु अर्थात् राजा पदत्याग गरी सन्यास धारण गर्ने स्थान भएको हुँदा बोधीको प्रस्थान बिन्दु पनि हो । विश्व मानचित्रमा यो स्थान उत्तरमा अक्षाँश २७ डिग्री २२ मिनेट १९ सेकेन्ड र देशान्तर ८३ डिग्री ५१ मिनेट ९.३३ सेकेन्डमा अवस्थित छ । 

महाभिनिष्क्रमण स्थल प्राचीन कोलिय गणराज्यको अन्तिम पूर्वी सीमा अनोमा नदी((नारायणी ) को अनोमा घाट हो । जुन अहिले लुम्बिनी प्रदेश नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ६ मा पर्दछ । यसलाई यहाँ स्थानीय भाषामा ठाढी घाट भनिन्छ । ठाढी भन्ने कुरा ठढा शब्दबाट अपभ्रंस हुँदै ठाढी भएको हुनुपर्छ । जुन स्थानमा सिद्धार्थ राजदरबारबाट निस्केपछि बीचमा कहीँ पनि नरोकिन अनोमा नदी किनारमा नै पुगेर ठढा हुनु (अर्थात् उभिनु) भयो । त्यही भएर सम्भवतः त्यही बेलादेखि यो घाट ठाढी घाट भनेर चिनिँदै आएको छ ।

यद्यपि, यसको पुरातात्त्विक र ऐतिहासिक खोजको आवश्यकता छ । संसारभरिका बौद्धमार्गीका लागि पवित्र तिर्थस्थल बन्न सक्ने प्रबल सम्भावना बोकेको यो अनोमा घाट नेपाल र नेपाली मात्रै नभई विश्वको ध्यान तान्न सक्ने स्थान बन्न सक्दछ । यस रूपमा विकास गर्न सक्दा स्थानीयदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा पहिचान गराउन सक्दा यसले महत्त्वपूर्ण योगदान गर्नेमा विश्वास गर्न सकिन्छ । पुरातात्त्विक खोजले पनि हाम्रो घोषणालाई थप सार्थक बनाउन सक्नेछ । 

यस स्थानको थप अनुसन्धान तथा पहिचान गराउनुका साथै आवश्यक पूर्वाधार विकास तथा प्रचार प्रसारमा सबैभन्दा बढी जिम्मेवार देखिएको स्थानीय सरकारको रूपमा रहेको सुस्ता गाउँपालिका नै हो । बर्षाैँदेखि ओझेलमा रहेको यो ठाढीघाट विकासका लागि गाउँपालिकाले पूर्वाधारका कार्य प्रारम्भ गरेको छ, यो प्रशंसनीय कार्य हो । यसबाट यो स्थल बुद्धधामको रूपमा विकासित तथा परिचित हुन सक्नेछ । यस कार्यमा प्रदेश र सङ्घ सरकारको समेत उचित ध्यान जानु आवश्यक देखिन्छ ।  

वैराग्यको उदय र महाभिनिष्क्रमणः– ई. पू. ५३४
​​​​​​​बौद्ध साहित्यहरूमा बुद्धको वैराग्य र महाभिनिष्क्रमणमा पुग्ने अवस्थाबारे वर्णन पाइन्छ । जस अनुसार सिद्धार्थ २९ वर्ष पुगिसक्नुभएको थियो । एक दिन पिताको आज्ञा लिएर नगर निरीक्षणका लागि निस्कनु भयो । बाटोमा वृद्ध, रोगी, मृतक र सन्यासी देखिए । जीवनको यो उतारचढावले यस अगाडि यति गहिरोसँग छोएको थिएन । यसले विचलित बनायो । फर्किँदै गर्दा दरबारबाट पुत्र जन्मको खबर आयो । जीवनको नश्वरताबाट विचलित बनेका सिद्धार्थको मुखबाट निस्कियो– अहो, राहु उत्पन्न भएछ । अन्ततः छोराको नाम राहुल राखियो । 

सिद्धार्थले सौन्दर्यभित्रको कुरूपतालाई देख्नुभएको थियो । आकर्षणमा छिपेको रागको बन्धनलाई बुझ्नुभएको थियो । आफूलाई खुसी दिन रातभर नाचेर पनि नथाक्ने सुन्दरीहरूको विद्रूपता अपरिचित थिएन । वहाँलाई दरबार चिहान जस्तो लाग्यो । र, अवश्यम्भावी दुःखलाई पनि नदेखेझैँ गरी  रमाउने मानिसहरू मुर्दाजस्ता । मनमा दरबार त्याग्ने निर्णय निश्चय भयो ।

सारथि चन्नाले प्रिय घोडा कन्थक तयार पारे । सिद्धार्थलाई राहुलको याद आयो । वहाँले पर्दा तानेर खोपीमा चिहाउनुभयो । आमाको पाखुरालाई सिरान बनाएर सात दिनका राहुल सुतिरहेका थिए । मध्यरातमा सिद्धार्थ बाहिर निस्कनुभयो । दरबारको पूर्वी द्वारबाट सिद्धार्थ र चन्न घोडामा निस्किए । यो आषाढ पूर्णिमाको रात थियो । अभिजित् नक्षत्र पारेर दुःख र अज्ञानलाई जित्ने महान् यात्राको थालनी गर्नुभयो सिद्धार्थले । यही परिघटनालाई महाभिनिष्क्रमण भनिन्छ । 

महाभिनिष्क्रमण स्थल :
कोलिय गणराज्यको प्राचीन सीमा उत्तरमा चुरे पर्वत, दक्षिणमा पिपली वनको सीमा, पश्चिममा रोहिणी नदी र पूर्वमा अनोमा नदी थियो । सिद्धार्थ आफ्नो शाक्य राज्यबाट निस्केर कोलिय गणराज्यको सिमाको अन्तिम भाग अनोमा घाटमा पुगेर आफ्नो प्रिय सारथी चन्नालाई आफ्नो युवराजको मुकुट, तरबार र राजसी पोसाक दिँदै भन्नु भयो, ‘चन्ना, तिमि मेरो सारथि मात्रै नभई बाल्यकालदेखिको मित्र पनि हौ, यो सबै लिएर महाराज शुद्धोधनलाई दिनू र भन्नू कि युवराज अब ज्ञानको खोजीमा जानु भयो, ज्ञान प्राप्तिपछि उहाँ फर्कनु हुनेछ । अनि, मनमा उब्जेको प्रश्नको उत्तर पाउने बित्तिकै फर्किहाल्छु । महाराजसँग भन्नू युद्ध कुनै प्रश्नको हल होइन ।’

आमा प्रजापतिसँग भन्नू, ‘जन्म दिने आमा मायालाई त देखिनँ, तर तपाईँ तीभन्दा ठुली हो । उहाँले दिएको माया प्रेमको जन्मौँ जन्म ऋणी रहनेछु । मङ्गला काकीसँग भन्नू कि राज्याभिषेक त अवश्य नै हुन्छ, तर सिद्धार्थको होइन, देवदत्तको हुन्छ । देवदत्तलाई भन्नू कि बाल्यकालदेखि नै उनीबाट पाएको हरेक द्वेषसँग सङ्घर्ष गर्दै मेरो खुट्टा दह्रो—बलियो हुँदै गएको छ । मलाई थाहा छ, कि उनी मलाई स्नेह गर्छन् ।’

‘गोपा अर्थात् यशोधरासँग भन्नू कि मेरो बेथालाई उनले आफ्नो बेथा बनाएकी छिन्, यसले गर्दा उनको पनि म सधैँ ऋणी रहने छु । पतिको इच्छा र अनिच्छाको ध्यान त हरेक पत्नीले राख्छन्, तर पतिको बेथा अपनाउने कदाचित कुनै कुनै पत्नी मात्र हुन्छन् । म गइहाल्छु भन्ने थाहा हुँदाहुँदै  पनि उनले मेरो विरोध गरिनन् । यदि म आफ्नो सङ्कल्पमा सफल हुन्छु भने त्यो समग्र मनुष्य जाति उनको त्यो त्यागको ऋणी रहनेछन् ।’ क्रमशः

(लेखक अध्येता तथा अभियन्ता हुनुहुन्छ, पत्रकारिता गर्नुहुन्छ ।)

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  १० : ०९ बजे