नयाँ दिल्ली । भारतमा देशव्यापी कोभिड सङ्क्रमण बढेको जनाएको छ । २६ डिसेम्बरदेखि देशभर कोभिड सङ्क्रमित बढेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
“समग्रमा २२ राज्यमा सङ्क्रमण फैलिएको छ,” स्वास्थ्य मन्त्रालयका प्रवक्ता लुभअग्रवालले भन्नुभयो । उहाँका अनुसार भारतमा अहिले औसतमा दैनिक १० हजार सङ्क्रमित भेटिएका छन् ।
केरला र महाराष्ट्रमा कोभिडका १० हजार सक्रिय सङ्क्रमित छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १३ हजार १ सय ५४ जनामा कोभिड सङ्क्रमण देखिएको थियो ।
“पछिल्लो समयमा प्रष्ट रूपमा कोभिड सङ्क्रमित बढेको देखेका छौ । दिल्लीमा दिनहुँ दैनिक सङ्क्रमित दोब्बरले बढेका छन् । महाराष्ट्र, पन्जाब, हरियाणा, झारखन्ड, पश्चिम बंगालमा निरन्तर कोभिड बढिरहेको छ” स्वास्थ्य मन्त्रालयले भनेको छ । तर कोभिड सङ्क्रमित बढे पनि मृत्यु भने स्थिर रहेको जनाइएको छ ।
कोभिडको नयाँ सङ्क्रमण ओमिक्रोनका कारण विश्वभर कोभिड सङ्क्रमित बढेका छन् । नोभेम्बरमा दक्षिण अफ्रिकाबाट फैलिएको ओमिक्रोन भारतलगायत ९० देशमा फैलिएको छ ।
भारतमा ओमिक्रोन सङ्क्रमितको सङ्ख्या ९६१ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार महाराष्ट्रमा पछिल्लो एक महिनामा साढे तीन प्रतिशतले सङ्क्रमित बढेका छन् ।
प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार ८ : ०८ बजे
प्रतिक्रिया