राष्ट्रपतिबाट नेपाल स्काउटका माष्टरलाई बधाई

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल स्काउटका बिटिसी र पिटिसी तालिमप्राप्त कर्णाली प्रदेशका स्काउट मास्टरले आज राष्ट्रपति भवन शीतल निवासमा भेट गरेका छन् । ती स्काउटकर्मीले नुवाकोटको ककनीस्थित अन्तर्राष्ट्रिय स्काउट केन्द्रमा उक्त तालिम लिएका थिए । 

राष्ट्रपति भण्डारीले ती विद्यार्थीलाई बधाई दिँदै देश विकासको यात्रामा सकारात्मक योगदान दिने र युवालाई उत्साहित बनाउने काममा सफलता मिलोस् भनी शुभकामना दिनुभएको थियो । राष्ट्रपति भण्डारीले नेपाल स्काउटको नेतृत्वसम्बन्धी मुद्दामा सर्वाेच्च अदालतले पछिल्लो समयमा गरेको फैसलाको आफूले सम्मान गर्ने पनि बताउनुभएको थियो । 

सो अवसरमा स्काउट तदर्थ समितिका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले स्काउटका गतिविधि र भावी कार्यक्रमबारे जानकारी दिँदै नेपाल सरकारले आफूलाई पदबाट हटाए पनि अदालतको आदेशबाट पुनःबहाली भई पुनः सक्रियतापूर्वक काम थालेको अवगत गराउनुभएको थियो ।

    यही पुस ९ गतेदेखि १४ गतेसम्म भएको उक्त तालिममा कर्णाली प्रदेशका ७९ स्थानीय तहबाट १८० पुरुष र ६१ महिला गरी २४१ जनाको सहभागिता थियो ।
 

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ९ : ०८ बजे