‘एउटै नाउरको सिकार गर्न २३ लाख’

दलहरूले खेलाडीहरूलाई बुथ कब्जा गर्न प्रयोग गरे : पूर्वमन्त्री बास्कोटा 

काठमाडौं । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा खेलकुद महासङ्घका इन्चार्ज गोकुल बास्कोटाले कतिपय दलले खेलाडीहरूको दुरुपयोग गरिरहेको आरोप लगाउनुभएको छ । 

बिहीबार नेपाल खेलकुद महासङ्घले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै पूर्व संचारमन्त्री समेत रहनुभएका बास्कोटाले पञ्चायतकालामा व्यवस्था जोगाउन खेलाडीको दुरुपयोग हुने गरेजस्तै बहुदलकालमा पनि कतिपय दलहरूले बुथ कब्जा गर्न खेलाडीको प्रयोग गरिरहेको बताउनुभएको हो । ‘खेलाडी राष्ट्रका गहना होइन गौरव हुन् । पन्चायतकालमा व्यवस्था जोगाउन खेलाडी दुरुपयोग गरिएपनि शरचन्द्र शाहले खेल क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान दिए । तर बहुदल र गणतन्त्रकालमा त्यति पनि किन भएन ?’ बास्कोटाको भनाई थियो । उहाँले थप्नुभयो,‘बहुदलमासमेत दलहरूले खेलाडीलाई गुण्डाका रूपमा बुथ कब्जा गर्न प्रयोग गरे ।’

बास्कोटाले सरकार र राजनीतिक दलहरूले अझैपनि खेलाडीको सम्मान गर्न नसकिरहेको बताउनुभयो ।

बास्कोटाले केपी ओली प्रधानमन्त्री भएको बेला खेलाडीको उत्साह भर्ने काम भएको र सागमा पदकहरू पनि प्राप्त भएको बताउनुभयो । उहाँले अब खेलाडीलाई भोटिङ मेसिनका रूपमा नभएर गोल र मेडल मेसिनका रूपमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा मोर्चा विभागका इन्चार्ज भानुभक्त ढकाल,पूर्व खेलकुद मन्त्री तथा महासङ्घका पूर्व अध्यक्ष एमाले नेता पुरुषोत्तम पौडेल,दावा तामाङ,खेलकुद विभागका प्रमुख लिलवहादुर थापा,राखेपका सदस्य सचिव रमेश सिलवाल,महासङ्घका अध्यक्ष रमेश पौडेल लगायतले सम्बोधन गर्नुभएको थियो । 

 

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ४ : ५० बजे