आज देशभरको मौसम अनुकूल रहने

तिलगङ्गाका चिकित्सकद्वारा बङ्गलादेशमा घाइते भएकाको आँखाको उपचार

काठमाडौँ । बङ्गलादेशमा केही महिनाअघि भएको आन्दोलनका क्रममा आँखासम्बन्धी समस्या भएका बिरामीको तिलगङ्गा आँखा प्रतिष्ठानका चिकित्सकले उपचार गरेका छन् । आँखाको नानी च्यातिएका, गहिरो चोट लागेका, आँखाको पर्दा च्यातिएका बिरामीको तिलगङ्गा आँखा प्रतिष्ठानका चिकित्सकले उपचार गर्नुभएको हो ।

ती बिरामीको उपचारार्थ बङ्गलादेश सरकारको पहल र नेशनल इन्स्टिच्युट अफ अप्थाल्मोलोजी, बङ्गलादेशको निमन्त्रणामा सेवा फाउण्डेशन, बङ्गबन्धु शेख मुजीब मेडिकल र इशापानी इश्लामिया आँखा अस्पताल बङ्गलादेशसँगको सहकार्यमा प्रतिष्ठानको प्रतिनिधित्व गर्दै आँखाको पर्दा रोग विशेषज्ञ डा रबा थापा नेतृत्वको टोलीले उपचार गरेको हो ।

टोलीमा नेपालबाट डा थापासँगै लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान का डा सुशीला पटेल र डा सविता ढकाल सहभागी हुनुहुन्थ्यो । आँखामा गम्भीर चोट लागेका, दुर्घटनाबाट भएका मोतिबिन्दु र अन्य चोट, विशेषतः गोलीले क्षति पुगेका आँखामा जतिसक्दो चाँडो उपचार आवश्यक परेकाले ‘केराटोप्लास्टी’ र ‘ग्लोब–सेभिङ’ प्रविधिमा विशेषज्ञता भएका ‘भिट्रेओ रेटिना सर्जन’ र ‘कोर्निया’ विशेषज्ञहरूको मागअनुसार उहाँहरु उपचारमा सहभागी हुनुभएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले यस किसिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक उत्तरदायित्व पूरा गर्ने उपचार सेवाले द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने विश्वास गरेको छ । बङ्गलादेशमा भएको आन्दोलन र त्यसपछिको नयाँ सरकारले हाल आन्दोलनका घाइतेहरुको उपचारलाई प्राथमिकतामा राखेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ९ : ५१ बजे