आज देशभरको मौसम अनुकूल रहने

रेडियो नेपालले सुरु गर्‍यो दनुवार भाषामा समाचार 

काठमाडौं । रेडियो नेपालले दनुवार भाषामा समाचार प्रसारण गर्न सुरु गरेको छ । 

मंगलबार नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा प्रविधि मन्त्री पृथ्वी गुरुङबाट दनुवार भाषाको समाचार शुभारम्भ गर्दै रेडियो नेपालले २५ भाषामा समाचार दिन थालेको हो । 

यस अघि विभिन्न २४ राष्ट्रभाषामा समाचार दिँदै आएको रेडियो नेपालले अल्पसङ्ख्यामा रहेका दनुवार भाषामा समेत समाचार दिन सुरु गरेको रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले बताउनुभयो । 

कार्यक्रममा बोल्नुहुँदै संचारमन्त्री गुरुङले राज्यका हरेक क्षेत्रमा समावेशी र समानुपातिक बनाउनका लागि टुक्रा टुक्रामा छरिएर रहेका मालाहरूलाई उन्नुपर्ने बताउनुभयो । उहाँले स्रोत र सत्तामा समानुपातिक मिलाउन सके मात्र देशको राष्ट्रियता मजबुत हुने बताउनुभयो । मन्त्री गुरुङले राष्ट्रिय एकताको प्रर्वद्घन गर्नका लागि सबै जातजाति, भाषाभाषी, धर्मावलम्बी र लिंग क्षेत्रलाई अधिकार सम्पन्न बनाउन आवश्यक रहेको बताउनुभयो । सङ्घीयताको मर्म भनेकै नेपालमा छरिएर रहेका विभिन्न जात, जाति भाषा, भाषी, क्षेत्र र सप्रदाय सबैलाई अधिकार दिई एउटै मालामा उन्नु रहेको बताउनुभयो । 

उहाँले दिगो सरकारले मात्र दिगो नीति ल्याई विकास निर्माणको काम गर्ने बताउनुहुँदै अहिलेको सरकारले व्याप्त निराशालाई चिर्ने काम गरेको बताउनुभयो । थिलथिलो रहेको अर्थतन्त्र केही मात्रामा चलायमान हुनु, कर सङ्कलन तथा पुँजीगत खर्चका क्षेत्रमा देखिएका उपलब्धि सरकारले हासिल गरेको उपलब्धि भएको बताउनुहुँदै छिट्टै सरकारका १०० दिनका कामहरूको मूल्याङ्कन गरिने बताउनुभयो । कार्यक्रममा बोल्नुहुँदै भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले भाषा आयोगको सिफारिसमा परेको लोपोन्मुख समुदाय दनुवार जातीको भाषालाई रेडियो नेपालले समाचार तथा कार्यक्रममा समावेश गरिनु आफूहरूका लागि निक्कै नै सुखद समाचार भएको बताउनुभयो । थोरै संख्यामा रहेको दनुवार जातिको भाषा पनि समावेश गरेर रेडियो नेपाल साँच्चिकै समावेशी आवाज हो भन्ने कुराको पुष्टि गरेको भन्दै उहाँले दनुवार भाषामा समाचार सम्प्रेषण सुरु गरेकोमा रेडियो नेपाललाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा  मन्त्रालयका सचिव राधिका अर्यालले विभिन्न भाषिक कार्यक्रमले रेडियोप्रति पाठकको अपनत्वबोध गराउने विश्वास व्यक्त गर्नुभयो ।

गोरखापत्रले ४४ भाषाको पृष्ठ प्रकाशन गरिरहेको, नेपाल टेलिभिजनले ७ भाषाको समाचार बुलेटिन र १४ कार्यक्रम गरिरहेको सचिव अर्यालले बताउनुभयो । त्यसैगरी राससले पनि पछिल्लो समय नेवारी र मैथिली भाषाको बुलेटिन सुरु गरेको उहाँले बताउनुभयो । सरकारी सञ्चार माध्यमले सुरु गरेको भाषिक कार्यक्रमले सबै समुदायलाई सरकारी सञ्चारमाध्यमप्रति आत्मबोध गराउने उहाँले चर्चा गर्नुभयो ।

मन्त्रालयका सचिव अर्यालको सभापतित्वमा भएको कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले अतिथिहरूलाई स्वागत गर्दै कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा  राष्ट्रिय समाचार समिति ९रासस० का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी, राष्ट्रिय चलचित्र बोर्डका अध्यक्ष दिनेश डिसी, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँ लगायतको उपस्थित रहेको थियो । 

रेडियो नेपालले दनुवार जागरण समितिको अनुरोध र भाषा आयोगको सिफारिसलाई ध्यानमा राख्दै बाग्मती प्रादेशिक प्रसारण केन्द्रबाट दनुवार भाषामा समाचार प्रसारणको सुरु गरेको हो। दनुवार भाषा नेपालका ६२ जिल्लामा बोलिने लोपोन्मुख भाषा हो । यो भाषा काभ्रेपलाञ्चोक, सिन्धुली, सिराहा, सर्लाही, धनुषा, लगायतका जिल्लामा बस्ने दनुवार समुदायका मानिसहरूले बोल्ने गर्दछन् । 

वि.सं. २०७८ को जनगणना अनुसार, दनुवार समुदायको जनसंख्या ८२ हजार ७ सय ८४ छ, जुन नेपालको कुल जनसंख्याको ०.२८ प्रतिशत हो।

रेडियो नेपालले भाषा, विषयवस्तु, र जनशक्ति सबैमा थप समावेशी बन्ने उद्देश्यकासाथ यो नयाँ पहल सुरु गरेको जनाएको छ । 

जनतामा फैलिरहेको निराशालाई अन्त्य गर्न सरकार सक्षमः मन्त्री गुरुङ
: रेडियो नेपालले सुरु गर्‍यो दनुवार भाषामा समाचार 

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ६ : १० बजे