आज देशभरको मौसम अनुकूल रहने

जनतामा फैलिरहेको निराशालाई अन्त्य गर्न सरकार सक्षमः मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारका देखिएको निरासा अन्त्य गर्न सररकार सक्षम रहेको बताउनुभएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गुरुङले राजनीतिक स्थायित्वको लागि दुई दलको सहकार्य भएको र मुलुकमा स्थायित्व कायम भएको बताउनुभयो ।

रेडियो नेपालद्वारा बुधबार यहाँ आयोजित कार्यक्रममा मन्त्री गुरुङले सो कुरा बताउनुभएको हो । पूँजीगत खर्च गर्ने हैसियतको सरकार वर्तमान सरकार रहेको उहाँले बताउनुभयो । ‘कुनै पनि ठेकेदारले काम गरेबापत पैसा पाएन भन्ने गुनासो यो सरकारले आउन दिँदैन’ मन्त्री गुरुङले भन्नुभयो, “विकासको कामले रफ्तार लिएको छ, सरकारले इमान्दारितापूर्वक काम गरिरहेको छ ।”

दुई दलको सहकार्यमा सरकार बनेपछि विकास खर्च तिव्ररुपले भइरहेको भन्दै मन्त्री गुरुङले सरकारको काममा सहयोग गर्न सम्बद्ध सबै पक्षसँग आग्रह गर्नुभयो । जनतामा फैलिरहेको निराशालाई अन्त्य गर्न सरकार सक्षम रहेको उहाँको भनाइ छ । रातारात परिवर्तनभन्दा पनि क्रमशः परिणाम आउने उहाँले बताउनुभयो । समाजको द्वन्द्व व्यवस्थापन गर्नका लागि पनि समानता आवश्यक रहेको बताउनुभयो ।

रेडियो नेपालले असोज ३० देखि दनुवार भाषाको समाचार प्रशारण सुरु गरेको छ । सो कार्यक्रमको उदघाटन मन्त्री गुरुङले गर्नुभएको कार्यकारी निर्देशक अमरध्वज लामाले बताउनुभयो । भाषा संरक्षणको अभियान रेडियो नेपालले राम्रो गरिरहेको उहाँले चर्चा गर्नुभयो ।

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले रेडियो नेपालले समावेशी कार्यक्रम र समाचार बुलेटिन प्रशारण शुभारम्भ गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
आजदेखि दनुवार भाषाको कार्यक्रमको शुभारम्भ मन्त्री गुरुङले गर्नुभएको र यसले विविधताको पक्षमा भूमिका खेल्ने बताउनुभयो । विभिन्न भाषिक कार्यक्रमले रेडियोप्रति पाठकको अपनत्वबोध गराउने विश्वास व्यक्त गर्नुभयो ।

गोरखापत्रले ४४ भाषाको पृष्ठ प्रकाशन गरिरहेको, नेपाल टेलिभिजनले ७ भाषाको समाचार बुलेटिन र १४ कार्यक्रम गरिरहेको सचिव अर्यालले बताउनुभयो । त्यसैगरी राससले पनि पछिल्लो समय नेवारी र मैथिली भाषाको बुलेटिन सुरु गरेको उहाँले बताउनुभयो । सरकारी सञ्चार माध्यमले सुरु गरेको भाषिक कार्यक्रमले सबै समुदायलाई सरकारी सञ्चारमाध्यमप्रति आत्मबोध गराउने उहाँले चर्चा गर्नुभयो ।

मन्त्रालयका सचिव अर्यालको सभापतित्वमा भएको कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले अतिथिहरुलाई स्वागत गर्दै कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले दनुवार भाषामा रेडियो नेपालबाट समाचार र कार्यक्रम आउनु खुशीको कुरा भएको बताउनुभयो ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ४ : ४९ बजे