आज देशभरको मौसम अनुकूल रहने

पुष्कर कडेल

शिक्षा समृद्ध भविष्यको ढोका खोल्ने कुञ्जी हो


ललितपुर ।
“शिक्षा स्वतन्त्रताको कुञ्जी हो, स्वतन्त्रता शान्ति र समृद्धिको राजमार्ग हो।”

“आजको शिक्षाले भोलिको बाटो तय गर्छ।” यो मान्यताका साथ हामीले शिक्षा प्रणालीमा आमूल परिवर्तन गरेर लगानी बढाउनु पर्ने भएको छ किनभने शिक्षाले हाम्रो मनस्थितिसँगै समाज अर्थात देशको भविष्यको परिस्थिति कस्तो बनाउने भन्ने कुरा निर्धारण गरिरहेको हुन्छ। त्यसैले भनिएको हो, “शिक्षाले व्यक्तिको मात्र होइन, समाजको व्यवहारमा पनि सकारात्मक परिवर्तन ल्याउँछ।” हामीले स्वीकार गर्नुपर्छ, सकारात्मक परिवर्तनको मुख्य आधार नै गुणस्तरीय शिक्षा हो। आज देशले त्यो खालको शिक्षा प्रणाली खोजेको छ।

शिक्षा र गरिबीलाई लिएर फ्रान्सकी शिक्षाविद् डा. मार्याम नदेर अर्चुनान भन्छिन्, “गरिबी उन्मूलन गर्न सबैलाई गुणस्तरीय शिक्षा पाउने अधिकार छ।” आज मार्यामको भनाईको सारलाई बुझेर शिक्षालाई गुणस्तरीय बनाउँदै समाजमा देखिएको आर्थिक तथा बौद्धिक गरिबी हटाउन औपचारिक तथा अनौपचारिक अभियान चलाउनु पर्ने भएको छ। शिक्षा गुणस्तरीय बनाउन के के गर्नुपर्छ? यो प्रश्नमा केन्द्रीत भएर बहस चलाउनु पर्छ। तर हामी भने अझैपनि अस्वभाविक रूपमा राजनैतिक तथा संवैधानिक मुद्दाहरूमा अल्झिएका छौं। अनि त समस्या एकातिर छ, समाधान अर्कातिर खोज्दैछौं।

“साक्षरताले सामाजिक कल्याण, आर्थिक समृद्धि र जीवनमा अवसर उपलब्ध गराउँछ।” (डन ग्रीन, बोर्ड सदस्य, विश्व साक्षरता फाउण्डेशन) डन ग्रीनले भने जस्तै साक्षरतामार्फत सामाजिक कल्याण, आर्थिक समृद्धि र जीवनमा अवसरहरू सिर्जना गर्ने हो भने हामीले उच्च स्तरको साक्षरता सीपको विकास गर्न पनि आजको शिक्षा प्रणालीबाट मात्र सम्भव छैन्। त्यसैले यतिबेला हामीले शिक्षा प्रणालीलाई पूर्वीय विश्वदृष्टिकोणको जगमा विकास गर्दै अन्य विश्वदृष्टिकोणहरूलाई सन्तुलित रूपमा प्रयोग पनि गर्नुपर्छ। मतलब माध्यम भाषाका रूपमा स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय भाषाको सन्तुलित र व्यवस्थित प्रयोग गर्न भाषिक नीति पनि बनाउनु पर्छ किनभने “भाषाहरू वंशानुगत उपहार मात्र होइन, यो त सामाजिक उपहार पनि हो।” (फ्र्यान्क स्मिथ, क्यानेडियन मनोभाषाविद्)

यो लेखकको ठम्याई छ, “यदि हामीले हाम्रा भाषाहरू गुमायौं भने, हामीले हाम्रा विश्वदृष्टिकोण, ज्ञान, विज्ञान र कलाहरू पनि गुमाउने छौं।” त्यसैले शिक्षा, सञ्चार र प्रशासनमा भाषाहरूको प्रयोग बढाउनु पर्छ। घरभित्र सबैले एकआपसमा आफ्नै भाषामा कुराकानी गर्ने बानी बसाल्नु पर्छ। आधारभूत शिक्षामा बहुभाषिक शिक्षालाई प्रभावकारी कार्यान्वयन गर्ने वातावरण बनाउनु पर्छ। यसका लागि अन्तर्राष्ट्रिय संघसंस्था, विज्ञ र विकास एजेन्सीहरूसँग सहकार्य गरेर बहुभाषिक शिक्षाको आवश्यकता र प्रभाव स्थानीय सरोकारवालाहरूलाई बुझाउँदै प्रभावकारी कार्यान्वयनमा जानुपर्छ।

त्यसैले हामीले बुझ्नुपर्छ, “शिक्षामा पर्याप्त लगानी प्रचुर आर्थिक सम्भावनाहरूको ढोका खोल्ने मुख्य कुञ्जी हो।” आज यो कुञ्जीलाई एकातिर गुणस्तरीय बनाउनु पर्नेछ भने अर्कातिर यसमा लगानी बढाएर आम अभिभावकहरूको विश्वास आर्जन गर्नुपर्ने चुनौती थपिएको छ। तर यो अनिवार्यतालाई बिर्सेर पहिले रातो त अहिले निलो क्रान्तिको हल्ला गरेर देशलाई मुख्य मुद्दामा केन्द्रीत हुन दिइरहेका छैनौं। वास्तवमा आजको हाम्रो मूल मुद्दा “शैक्षिक क्रान्ति हो, सामाजिक-आर्थिक रूपान्तरण हो।” यसका लागि आ-आफ्ना क्षमतानुसारको योगदान गर्नु हाम्रो धर्म हो।

शिक्षाले शान्तिपूर्ण समाज निर्माण गर्नुका साथै देशलाई समृद्ध बनाउन हामीलाई प्रेरित गरिरहेको हुनुपर्छ। तर आज समाज अर्थात विश्व अशान्त भइरहेको छ, द्वन्द्व बढ्दो छ। राम्रो शिक्षा प्रणाली भएको मानिएका वैश्विक उत्तरका मुलुकहरू नै शिक्षा र शान्तिमा भन्दा द्वन्द्वमा सघाइरहेका छन्। यसले शिक्षाको चरित्र मै समस्या भएको संकेत गरिरहेको छ। तैपनि हामी समय मै शान्ति र समृद्धिमा सघाउने शिक्षा प्रणालीको विकासमा केन्द्रीत भइरहेका छैनौं। युनेस्कोकी महानिर्देशक अड्रे अजौले भन्छिन्, “शान्तिका लागि शिक्षामा सहयोग गर्नु हाम्रो दायित्व हो।” 

यतिबेला हामीले बुझ्नुपर्छ, “राजनीतिले विचार र सकारात्मक परिवर्तन खोज्छ भने परिवर्तनलाई दिगो बनाउन गुणस्तरीय शिक्षा रोज्नुपर्छ।” तर नेपालमा हिजोआज राजनीति विचारहीन, चरित्रहीन नेतृत्वको अराजकता र स्वछन्दताको आडमा निरङ्कुश व्यवस्था फर्काउन खोजिदैछ भने शिक्षामा हिजोभन्दा आज गुणस्तर हराउँदैछ। त्यसैले शिक्षामा आमूल परिवर्तन नगरी न नागरिकको मनस्थिति सकारात्मक र रचनात्मक बन्न सक्छ न त राजनीतिक, प्रशासनिक, न्यायिक र प्राज्ञिक नेतृत्वले असल र दूरगामी दृष्टिकोण दिन सक्छ। अहिले नेपालमा अव्यवस्था र अराजकता बढ्नुको मुख्य कारण खराब शिक्षा व्यवस्थाको उपज हो। तर यो सत्यप्रति हामी सरोकारवालाहरू जानकार भएर पनि निष्क्रिय बनेका र मौन भएका छौं।

यतिखेर प्राज्ञिक वर्गले सत्य, लोकतन्त्र र देशका पक्षमा खरो भएर आफ्नो उपस्थिति जनाउन नसक्दा समाज भिडको खराब भाष्यबाट प्रभावित भइरहेको छ। यसको एउटा उदाहरण प्रा. डा. सुरेन्द्र केसीको युनुस बन्ने चाहाना नै हो। यसले राजनीतिमा विचित्रको समीकरण पनि बन्दैछ। परिणामस्वरूप लोकतन्त्र जनमुखी बनाउँदै राष्ट्र र राष्ट्रियता बलियो बनाउन भन्दा बाह्य एजेण्डा बाकेको राजनीति र नेतृत्वले चर्चा पाएको छ। यसले जनतालाई भावनात्मक रूपमा भड्काउँदै परिस्थिति अराजक बन्न सहयोग गरिरहेको छ।

यो अवस्थालाई अन्त्य गरेर देशमा सकारात्मक महोल बनाउन जनताले ठीक सूचना र ज्ञानका आधारमा धारणा बनाउन सक्नुपर्छ। राज्यले पनि जनता भ्रममा परेर भावनात्मक रूपमा भड्किन नदिन ठीक नीति र कार्यक्रमहरूमार्फत जनतामा सुशासनको अनुभूति गराउन सक्नुपर्छ। यसका लागि प्रज्ञिक वर्गले राज्यलाई बलियो र प्रभावकारी बनाउन सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ। तर हाम्रा प्राज्ञिक र प्राज्ञिक थलो विद्यालयदेखि विश्वविद्यायहरूले विश्वास गुमाउँदै गएको अवस्था छ। अभिभावक तथा विद्यार्थीहरूले आफूहरू ठगिएको महसूस गरिरहेका छन्। त्यसैले यो अवस्थाको अन्त्यका लागि शिक्षामा आमूल परिवर्तन गर्दै शिक्षालयहरूको अवस्थामा गुणात्मक परिवर्तन ल्याउन निम्न कार्यहरू गर्नुपर्छ।

·       विद्यार्थीहरूको शैक्षिक उपलब्धी विशिष्ट बनाउन शिक्षालय सुधारका अल्पकालिन र दीर्घकालिन योजनासहित लगानी पनि बढाउनु पर्छ।

·       सबै विद्यार्थीहरूको शैक्षिक सफलताका लागि सिकाइमा भएको अन्तरलाई सम्बोधन गर्ने नीति र योजना बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ।

·       विद्यार्थीहरूको आवश्यकता पूरा गर्न शिक्षक तथा प्राध्यापकहरूको क्षमता विकासको व्यावसायिक योजना बनाउनु पर्छ।

·       विद्यार्थीहरूको शैक्षिक तथा व्यावहारिक सफलताका लागि समयानुसार श्रोतहरूमा उनीहरूको पहुँच बढाउनु पर्छ। जस्तै डिजिटल विश्वको अवधारणानुसारको श्रोत र साधनहरूको व्यवस्था।

·       विद्यार्थीहरूको सिकाइ उपलब्धी उत्कृष्ट बनाउन शिक्षक तथा प्राध्यापक, विद्यार्थी र अभिभावकहरू मिलेर काम गर्ने सकारात्मक वातावरणको विकास गर्नुपर्छ।

तर यतिबेला हामी “काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर” भन्ने पाराले शिक्षामा लगानी गरिरहेका छौं। जसले गर्दा हाम्रो शैक्षिक उत्पादन न दक्ष बन्न सक्यो न त देशलाई चिन्न सक्ने भयो। बरू यसले नयाँ पुस्तालाई सस्तो श्रमिकका रूपमा विदेश पलायन हुन सघाइरहेको छ। त्यसैले आज हामीले गर्ने राजनीति जनता र देशलाई केन्द्रमा राखेर शिक्षामा आमूल परिवर्तन गर्नुपर्छ। अनि नयाँ पुस्तालाई नयाँ शिक्षामार्फत प्रशिक्षित गरेर चेतनशील र विवेकी बनाउँदै देशभित्रै उत्पादन र सेवामा रमाउने, असल र खराब छुट्याउन सक्ने बनाउनु पर्छ। 

हामीले बुझ्नुपर्छ, विचार बुझेर राजनीतिमा लागेकाहरू वैचारिक राजनीतिप्रति प्रतिबद्ध हुन्छन्। अवसर खोजेर राजनीतिमा लागेकाहरू अवसर पूरा गर्ने राजनीति रोज्छन्। भ्रममा परेर राजनीतिमा लागेकहरू भ्रममा रमाउँछन् र भ्रममा नै सकिन्छन्। यदि हामीले राम्रो शिक्षाबाट नागरिकलाई दीक्षित गर्न सक्यौं भने तिनले राजनीतिमा विचार, अवसर र भ्रममध्ये के रोज्ने हो, सजिलै विचारको पक्षमा उभिन सक्छन्। यस्तो क्षमताको नागरिक तयार गर्नु शिक्षाको मूल धर्म हो।

वास्तवमा गुणस्तरीय शिक्षा विश्व बजारमा सक्षम, दक्ष र असल नागरिक अर्थात वैश्वीक नागरिक उपलब्ध गराउने मुख्य आधार हो। यो नै समृद्ध भविष्य निमार्ण गर्ने बलियो माध्यम अर्थात कुञ्जी हो। यो आवश्यकता र अनिवार्यतालाई मनन गरेर नेपालमा शैक्षिक क्रान्ति गर्दै सामाजिक-आर्थिक रूपान्तरण प्रभावकारी र दिगो बनाउन नागरिकदेखि राज्यका सबै क्षमताहरू उपयोग गर्नुपर्छ। विस्टन चर्चिलका अनुसार, “सुधार गर्नु भनेको परिवर्तन गर्नु हो, सबभन्दा असल हुनु भनेको नियमित परिवर्तन भइरहनु हो।” यो चेत र क्षमताको नागरिक तयार गर्ने शिक्षा आजको आवश्यकता हो।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  १२ : १० बजे