आज देशभरको मौसम अनुकूल रहने

डडेल्धुरा बस दुर्घटना अपडेट : मृतक चारैजनाको सनाखत 

डडेल्धुरा ।  डडेल्धुराको खस्रयाखानमा रात्रि बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । कञ्चनपुरबाट बैतडीको पुरचौडी तर्फ गइरहेको पबनदुत यातायात प्रा.लि.को ना. ८ ख १०७८ नम्बरको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। 

घाइतेहरूको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा मृतक चार जना मध्ये एक पुरुष, २ महिला र एक नाबालकको रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताउनु भएको छ । 

मृतकहरुमा बैतडीको पुर्चौडी नगरपालिका–३ का ४५ वर्षीय जयमती बोहरा, सोही ठाउँकी अन्दाजी २० वर्षीया कमला बोहरा, उनका नाबालक छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहरा रहेको प्रहरी निरीक्षक बमले जानकारी दिनुभयो । 

 दुर्घटनामा घाइते हुनेमा पुचौर्डी नगरपालिका–७ का २४ वर्षीय नवराज साउँद, वडा नं. ६ का २४ वर्षीय राजेन्द्र साउँद, वडा नं. ८ का ४२ वर्षीय पदम बोहरा, २४ वर्षीय बस चालक बिरेन्द्र बोहरा, वडा नं. ७ का २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी रहेका छन् । यसैगरी,पुर्चौडी नगरपालिकाकै वडा नं. १० का दामोदर महरा, धनबहादुर महरा, कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय दिनेश साउँद, वडा नं. ५ की ६५ वर्षीय धनमती साउँद, डडेल्धुरा आलिताल गाउँपालिका–१ का २१ वर्षीय मुकुन्द बोहरा घाइते भएका छन् । गम्भीर घाइते बस चालक वीरेन्द्र बोहरालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।

 बैतडी बझाङ दशरथचन्द राजमार्गबाट झण्डै तिन सय मिटर तल खसेर पोखरा बेलापुर सडकखण्डमा परेको थियो । 

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ९ : ४४ बजे