हिमपातले अन्तर जिल्ला जोड्ने हुम्लाको एक मात्रै हवाई सेवा अवरुद्ध, जनजीवन कष्टकर

सिमकोट ।  हुम्लामा बुधवार बिहानदेखि नै नै परेको भारी हिमपात हुँदा हिमाली जिल्ला हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा अवरुद्ध भएको छ । 

नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका तारा, सिता, समिटए एयरको उडान प्रभावित भएको हो ।

हवाई उडान नहुँदा दैनिक उपभोग्य वस्तु, खाद्यान्न, तरकारी, बजार व्यवसायीहरूको सामाग्री ढुवानी नसकेको हो । भारी हिमपातले सात गाउँपालिका रहेको हुम्ला जिल्ला सदरमुकाम सिमकोटसहित जिल्लाभरको जनजीवन प्रभावित भएको छ । 

 

बुधवार बिहानदेखि नै लगातार परेको हिमपातले हुम्ला जिल्लाका डाँडाकाँडा सेताम्या भएको छ । 

उत्तरी नाम्खाको जनजीवन प्रभावित
हिमाली जिल्लाको हिमपातले हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन प्रभावित मात्र नभई पशु चरी चराउनमा समेत समस्या भएको छ । लिमी, मुचु यारीका स्थानीय बासिन्दालाई घरबाट बाहिर निस्कनै समस्या भएको छ ।

नाम्खा गाउँपालिकाको लिमि, मुचु, लगायतका क्षेत्रमा ४ फिट हिउँ जमेको यारीका स्थानीय सुनाम तामाङले बताउनुभयो । मुचुका खोलामा पानी जमेको छ । “नाम्खा गाउँ बाटो घाटो सबैतिरको पानी समेत जमेर पुरै ठोस भएको छ । जाडेले घरभन्दा बाहिर निस्कन सकिएको छैन । चिसोले खानेपानीको धारा जमेका छन्” तामाङले भ भन्नुभयो । 

 

निरन्तर रूपमा परेको हिमपातले हुम्ला जिल्ला सदरमुकाम सिमकोटमा झन्डै दुई फिट हिउँ जमेको छ । अत्यधिक चिसो र हिमपात भइरहेका कारण बिहानै देखि चहलपहल हुने गाउँहरू समेत सुनसान जस्तै देखिएका छन् । 

निरन्तर रूपमा हिउँसँगको अत्यधिक जाडोले सिमकोट आसपासको जनजीवन निकै प्रभावित बनाएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिनुभयो  । 

 

व्यवसाय सञ्चालन आगोको साहारा
सिमकोटमा रहेका व्यवसायीहरूले आगोको साहारामा व्यवसाय सञ्चालन गरिरहेका छन् । 

आगो ताप्दै पसल व्यवसाय गरिरहेको व्यवसायी रतन सुनारले बताउनुभयो। पसलहरूमा ग्राहकहरू कम उपस्थित भए पनि शरीरलाई न्यानो बनाई राख्नका लागि आगोको सहायताले दिन कटाएका सुनारले बताउनुभयो।

पानी र हिमपातसँगै हुम्ला जिल्ला भरीको सबै सामुदायिक तथा निजी विद्यालय बन्द भए । मङ्गलवारदेखि परेको हिमपातले स–साना बालबालिका विद्यालय जान नसक्नुका साथै ठुला बालबालिका विद्यालय पुग्न सके पनि चिसोले समस्या बनाएपछि विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको हो । 

सिमकोटमा रहेका सामुदायिक विद्यालयहरूमा यतिबेला अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ । 

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ७ : ४४ बजे