आज वर्षाको सम्भावना

प्रा.डा.सुरेन्द्र  केसीका विश्लेषणको संपरीक्षण                  

यो लेख प्रा.डा. सुरेन्द्र केसीको राजनैतिक विश्लेषक साङ्गोपाङ्ग संपरीक्षणमा केन्द्रित रहेको छ । पाठकहरू पनि सामान्य, सचेत तथा विज्ञ  हुन्छन् । तर चुरो पाठक कम हुन्छन् । तिनले पनि हर विषयको संपरीक्षण र समीक्षण गरिरहेकै हुन्छन् । तिनले  सार पक्षलाई महत्त्व दिन्छन् । प्रायः पाठकहरू सतही विषय र प्रस्तुतिलाई मन पराएको देखिन्छ । सकार र नकार छुट्टाएर सही र सटिक समीक्षक कम देखिन्छन् ।  हरेक रचना र विचारका सार रूप दुई पक्ष हुन्छन् र सार पक्षको सर्वोपरि महत्त्व हुन्छ । विश्लेषणका नाममा नकार मात्र फैलाउनु जाती मानिन्न । जीवन जगत् प्रति  आशा र आस्था सञ्चार गर्नु नै बुद्धिमानी हुन्छ । जीवनमा  जतिसुकै चरम निराशा उत्पन्न भए पनि जिजीविषा जीवनको सार पक्ष हो । आशाको त्यान्द्रो समाएर भए पनि कुनै पनि देश र समाज तथा व्यक्ति  सुख समृद्धिको नजिक पुग्न सक्छ  । एउटी चरम अभावग्रस्त अवस्थामा पनि  आमाले लालाबालालाई भात पकाउने भाँडामा  ढुङ्गा राखेर आशा जगाउने काम गरे जस्तै पनि गर्नु पर्ने हुनसक्छ तर नेपालमा त अहिले  प्रायः राजनैतिक विश्लेषणका नाममा प्राय चरम निराशा मात्र फैलाउन भरमग्दुर प्रयत्न गरिएको देखिन्छ । के देशमा १९ र २० को पनि अन्तर छैन ?  प्रसिद्ध लेखक तथा विश्लेषकहरू सौरभ,प्रा.डा. भाष्करदत्त पन्त,पी खरेललगायत विश्लेषकहरू मेहनतपूर्वक समसामयिक राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा व्याख्यान गरिरहनु हुन्छ । तर कतिपय चाहिँ दन्तबजान गर्नकै लागि मिडियामा आइरहेको देखिन्छ । देश र जनतामा चरम निराशा फैलाउन आतुर र व्यग्र देखिन्छन् । टिके प्रधानमन्त्री बनाउन अपहत्ते गर्ने कथित प्रा.डा. नामका दुई सिङे वकिलको अझै मति बुद्धि आएको देखिन्न । अर्का नेपाल थरी मुखमा आए जति बोल्न कत्ति पनि लाज सरम नमान्ने पनि कथित  विश्लेषक पनि देखिन्छन् । अर्काथरि दीक्षित र दाहालले पनि मिडियामा बारबार अमर्यादित  बेतुकी  रूपमा थुतुनो बजाइरहेको देखिन्छ । यतिका व्यक्तिले आफूले  बोलेका कुरा पानीका फोका झैँ छिनछिनमा फुट्ने विश्लेषणका नाममा बोलेर के हुन्छ । तर अहिले विश्लेषककै लहरमा देखा पर्नु भएका  प्रा.डा.केसी अहिले यस लेखको केन्द्रमा हुनुहुन्छ । उहाँको समीक्षा निर्मम हुनसक्छ । किनभने सिकारु,सिर्जनशील र ज्येष्ठ र श्रेष्ठ भएका र भनिएकाहरूलाई समान ढङ्गको समीक्षा हुन सक्तैन र हुनुहुँदैन । 

 केसीजी मिडियामा छाइरहनुहुन्छ । राष्ट्रिय स्तरका  समसामयिक विषयमा बारबार विश्लेषण गर्नु हुन्छ । अनेक विषयका बारेको सूचना पनि उहाँबाट  थाहा हुन्छ । केसीका  जे जति सकारात्मक विश्लेषण छन् तिनको प्रशंसा नै गर्नु पर्छ र गरिन्छ तर उहाँका   कतिपय विश्लेषण विषय,व्यक्ति र सन्दर्भ भने अत्यन्त हल्का देखिन्छन् । यसै क्रममा उहाँले केही दिनअघि दसैँ विषयमा व्यक्त गरेका विचार उहाँको इतिहास र संस्कृतिको औपचारिक ज्ञान अनुकूल नभएको स्पष्ट भयो । मेरो अध्ययन र खोज अनुसार नेपालीको यो चाडको नाम विजया र बडा होइन,दसैँ मात्र हो । यस चाडको प्रारम्भ कृषि युगको आरम्भ  सँगै भएको प्रमाण जौबाट थाहा हुन्छ । जौ लाई आदि अन्न भनिन्छ । ओडार र झुप्रामा बस्ने हाम्रा  पुर्खाले चराचुरुङ्गीले विस्टयाएर उम्रिएको र फलेको जौ चिने र चाखे । अनि यसको  आफ वरपरको जमिनमा रोपेर परीक्षण गरे । रोपको जौ  उम्रियो र  लहलह भयो । यस खुसीयालीमा तिनले जौ सीमा र कानमा सियुरिए ।

न्वागी खाने जस्ता पर्वले कृषिजन्य अनेक चाडलाई  प्रमाणित गर्छन् । कृषि लगायत श्रमले थाकेर र गलेर माटो भए पछि पुनर्ताजगी प्राप्त  गर्न यस्ता चाडबाड सुरु गरिएका हुन् । शारीरिक पुनर्ताजगीका लागि पोसिलो कुरा खाने र आराम गर्ने अनि मानसिक थकान हटाउन  नाचगान र रामरमितो गर्ने सन्दर्भमा प्रायः चाडहरू आरम्भ भएका हुन् । तर त्यति बेला दसैँ नामकरण भएको थिएन । दसैँ महिषासुर वधसित पनि जोडिएको देखिन्छ । देव र दानव दलको चर्चा रहेको छ । दिति र अदिति जस्ता  एउटै दिदी बहिनीका सन्तानलाई दानव र देव भन्ने कुरा नै समीक्षाको विषय हो । दसैँको  नामकरण चाहिँ  राम र रावण युद्धकालदेखि सुरु भएको मान्ने आधार पर्याप्त छन् ।

युद्ध भन्दाअघि १० दिनसम्म  शक्ति स्वरुपा   आदि माता देवी भगवती र हात हतियारको पनि  पूजाआजा,आराधना र  न्यास ध्यान गरेर रावण बध गर्ने अभियान आरम्भ गरेको र यसमा विजय प्राप्त गरेको अर्थ र  सन्दर्भसित दसैँ नामकरण प्रमाणित हुन्छ । पूजा पाठ न्यास ध्यान मनोबल उच्च बनाउने सन्दर्भसित सन्निकट छ । युद्धमा हात हतियार अपरिहार्य हुन्छ तर उच्च मनोबल पनि उत्तिकै अपरिहार्य हुन्छ । कमजोर मनोबल भए पनि शक्तिशाली र धारिलो हतियार मात्र कामयाब हुँदैन । तपाई त दसैँ लगायत चाडबाड सम्बन्धी यथार्थ सत्य कुरा आफ्नै अग्रज वा गुरुले नबताएकामा कटाक्ष गर्दै हुनुहुन्थ्यो । गुरुको पनि गुरु पुस्तक हुन् नि होइन गुरुले पनि पढेर र सोधखोज गरेर नै ज्ञान प्राप्त गर्ने हो नि । एकातिर दसैँ जस्ता चाडपर्वहरूलाई अझै पनि एक जात,धर्म र  नस्ल गरिएको छ । यसमा हामी अलिअलि जाने बुझेका र बुझ्न सक्ने क्षमताका हामी सत्य तथ्य नबताउने चुप लागेर बस्ने तर समाजमा जात,जाति र सम्प्रदायका बीचमा अज्ञानताका कारण आपसी वैरभाव व्यापक हुने कुरा पटक्क मेल खाएन । अहिले पनि रावणलाई अनार्य,आदिवासी र जनजाति भनेर अपव्याख्या गरिएको देखिन्छ । जब कि रावणलाई ब्रह्माजीको मानस पुत्र भनिन्छ र उनी पुलस्त्य मुनिका छोरा हुन् र उनका दश मुख वा दश प्रतिभा र क्षमता थिए । रावण त राम भन्दा विद्वान् थिए । त्यसैले विगत कालमा विजया दशमी भनिए पनि फेरिएको अहिलेको परिस्थितिमा विजया दशमी भन्न मिल्दैन । विजया भन्ने हो भने काम,क्रोध,लोभ, मोह,ईर्ष्या द्वेष जस्ता कुप्रवृत्ति जस्ता अमानवीय प्रवृत्ति उपर विजय हासिल गर्ने सन्दर्भमा भन्न मिल्छ । अज्ञानी सित रिसाउनु हुँदैन । त्यसैले दसैँ लगायत चाँडवाडमा विद्यमान एक जात,  धर्म र संस्कृतिकरणलाई सचेततापूर्वक हामीले हटाउन थाल्नुपर्छ । त्यसैले  आजको र अबको सन्दर्भमा विजया दशमी भन्न सुहाउँदैन । र यस्ता चाडपर्वका बेला रावण दहन जस्ता कार्यक्रम गर्न हुँदैन । धर्म,संस्कार  र संस्कृतिमार्फत  राज्य,शासक र सत्ताले आफ्नो वर्ग स्वार्थ अनुकूल  राजनीतिलाई भरपुर संरक्षण गरेको हुन्छ । सङ्घीय लोकतान्त्रिक  गणतान्त्रिक शासन कालमा सबै चाड र पर्वका सारमा विद्यमान  सामन्ती सांस्कृतिक अर्थ आशय र सन्दर्भलाई परित्याग गर्नु पर्छ । यस्ता विषयमा तपाईँ जस्ता इतिहास र संस्कृति विषयका विद्वान्को अगुवाइ अपरिहार्य हुन्छ ।   

मेरा अध्ययन र  जानकारीमा  वडा दसैँ पहिलेदेखि थिएन  ।   वडा दसैँ पूर्व राजा वीरेन्द्र शाहका पालादेखि सुरु भएको हुनुपर्छ । चैते दसैँ सानो अनि असोजको दसैँ वडा भन्ने अर्थ लगाएको पनि सुनियो ।  राजा महाराजका  श्रीमती,छोरा,छोरी,लुगाफाटा,घर सबै वडा मानिन्छन् र हुन्छन् । उनले मान्ने धर्म संस्कार र संस्कृतिलाई  पनि विशेष महत्त्व दिइन्छ वा वडा भन्ने गरिएको हो । अझ त्यसमा पनि वैदिक सनातन वा हिन्दु धर्मले राजालाई साक्षात् देवताको अवतार मान्ने भएकाले यस धर्म र संस्कृतिलाई काखी च्यापेको स्पष्ट हुन्छ । तसर्थ यो कालका र अब दसैँ बडा छठ पर्व छोटा भन्न मिल्दैन र हुँदैन । 

यही असोज १९ गते एमाले कोशी प्रदेशको  कला,साहित्य र संस्कृति विभागले दसैँ विषयक परिचर्चा कार्यक्रममा उपर्युक्त सन्दर्भ प्रस्तुत गरेको थिएँ । एमालेका केन्द्रीय उपाध्यक्ष गुरु बरालका प्रमुख आतिथ्यमा, खेम नेपालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा  सुप्रसिद्ध संस्कृतिविद् प्रा.डा.गणेश क्षेत्री सहित विषय  विज्ञहरूको विचार प्रस्तुति रहेको थियो । यस कार्यक्रममा मैले नेताहरूमा उहिल्यै आउने बुद्धि अहिले यति अबेर आए पनि जाती नै भयो भनेको थिएँ । बेलैमा यस्तो बुद्धि आएको भए प्राप्त उपलब्धि अलिक सबल हुने थियो । यी सब काम हामीले  गर्दा होइन तपाई एमाले लगायत प्रमुख पार्टीका कारण भएको हो भन्ने तीतो सत्य बताउँदा गोष्ठीको माहौल गर्माएको  थियो । सबै विषयमा आफै मात्र जान्ने हुँदा  समस्या गम्भीर हुन गएको हो । त्यसैले डा. केसीले सबै खालका अतिवाद र अन्धवादलाई परास्त गर्ने खालका विचार पनि प्रवाह गर्नुपर्छ भन्ने मेरो सुझाव हो । तपाईँका अभिव्यक्तिमा हामी पनि कहीँ न कहीँ जोडिन्छौँ । तपाईँका तलमाथि खालका अभिव्यक्तिले हामीलाई छुने गर्छ । त्यसैले विश्लेषण गर्दा सबै प्रा.डा.को सिर उठ्ने खालको अभिव्यक्ति दिनु जाती हुन्छ । बर्खे पानीका फोका झैँ छिनभरमा फुट्ने अभिव्यक्ति पटक्क सुहाउँदैन । 

 हामीमा जे जस्ता सोच,समझ र संस्कारहरू छन् ती प्रायः परम्परागत  प्रभावका कारक हुन् । पुरानै शासक र शासन व्यवस्थाका संस्कार र संस्कृतिको जवर्जस्त प्रभाव हामीमा रहेको छ । प्रायः नेताहरूमा पनि उपयुक्त प्रभाव व्याप्त भएकै कारण देशले अपेक्षित प्रगति हुन नसकेको हो । कसैले गर्न खोजे पनि त्यसैको खुट्टा तान्ने कुसंस्कारका कारण सरकार र विकास निर्माणले स्थिरता प्राप्त गर्न नसकेको हो । तर सापेक्षताका आधारमा सही मूल्याङ्कन नगरी सबैलाई चोर भन्न र सुन्न बानी परेका छौँ ।    विशिष्ट विद्वान्को पगरी गुथे पनि हामी पितृतन्त्री ग्रन्थिबाट ग्रसित छौँ । आफ्नै घरमा  बुबाका अगाडि अदवमा बस्ने हामी आमालाई अलिकति भए पनि हेला नै गर्ने परिपाटीमा हुर्कियौँ । त्यसैले प्रथम महिला राष्ट्रपति विद्या भण्डारीलाई जननेता मदन भण्डारीकी पत्नीका रूपमा मात्र हेर्न मन पराउँछौँ । प्रसिद्ध कलाकार करिश्मा केसीका पतिलाई पत्नीका नामबाट परिचित हुने लाछी भन्न रुचाउँछौँ ।   

 नेपाली समाजमा वितृष्णा मात्र बढाउने काम मात्र त गर्नु भएन नि । विश्लेषणका नाममा हचुवा खालका र तिललाई ताड बनाएर  जनतामा चरम निराशा मात्र प्रवाह गर्नु भएन । तपाईँले एक भीम उपाध्यायको फेक फेसबुकमा अमेरिकामा  प्रधानमन्त्री ओलीलाई जुत्ताले हिर्काए भनेर  एक कार्यक्रममा  हाहा गरेर हाँस्नु भयो तर केही छिनमा तपाई आफैँ मरीच झैँ चाउरिनु भयो ।  हाम्रा पुर्खाले बोल्न पाइयो भनेर प्याच्च नबोल्नु र बस्न पाइयो भने थ्याच्च नबस्नु भनेर अर्ती गरेको यादै गर्नु भएन ।  

 तपाईँले राम रावण आदि पौराणिक सन्दर्भलाई मिथक भन्ने भ्रान्त धारणा व्यक्त गर्नु भयो ।  राम र  रावणका शाखा सन्तान र तिनको  वंशावली त्यहीँ भारतमा पाइन्छ । बुद्धको बेलैमा उत्खनन नभएको भए बुद्ध नै मिथक हुन्थे होलान् । पूर्वका व्यास भनेर भनिनु भएका पं. छविलाल पोखरेलले विधर्मीहरूले कसरी हाम्रा धार्मिक पौराणिक सन्दर्भहरूलाई कोरा कल्पना वा मिथक भनेर उल्टा व्याख्या गरेको बताउनु भएको छ । त्यसै हो भने तिनले गणेशको वाहन सुँगुर भनेर किन लेख्नु परेको हो ? प्रसिद्ध लेखक मोहन बन्जाडेले विधर्मीहरूले  लेखेर फैलाएका भ्रान्त धारणाका बारेमा अन्नपूर्ण पोस्ट दैनिक पत्रिकामा धेरै लेखहरु लेख्नु भएको  थियो  ।  अनि तपाईँले त ओलीले  राम र सीता तथा अयोध्याका बारेमा उल्लेख गरेका सही सत्य र प्रामाणिक विषयलाई उपेक्षापूर्वक हाहा गरेर उडाउनु भयो  । कृपया देशलाई केन्द्र बनाएर विश्लेषण गर्नु जाती हुन्छ । चरम निराशा मात्र फैलाएर देश र देशवासीको कल्याण हुँदैन । 

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ११ : १७ बजे