तीन प्रदेशमा वर्षाको सम्भावना

बाढीपीडितको पुनःव्यवस्थापनमा केन्द्रित हुन पूर्व राष्ट्रपतिको सुझाव

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी, पहिरो पीडितहरुलाई राहत दिने र पुनःव्यवस्थापनको काममा केन्द्रित हुन सरकारलाई सुझाव दिनुभएको छ ।

सरकारले पीडितको उद्धार कार्य गरिरहेको उल्लेख गर्दै उहाँले अब उहाँहरुलाई राहत दिने र पुनः व्यस्थापनको काममा लाग्नुपर्ने बताउनुभएको हो । हामीसँगको संक्षिप्त कुराकानीमा पूर्व राष्ट्रपति भण्डारीले गत असोज ११ र १२ गतेको वर्षालाई अत्याशित विपद्को रुपमा चित्रण गर्दै पीडितलाई सरकारले आवश्यकताअनुसार सेवा प्रदान गर्नुपर्ने बताउनुभयो ।

बाढी र पहिरोबाट सबैभन्दा ठूलो बाटोमा अवरोध भएको उल्लेख गर्दै उहाँले त्यसलाई समयमा सुचारु गर्नुपर्ने पनि बताउनुभयो । राज्य जनताको अभिभावक भएकाले जनताको पीडालाई सम्बोधन गर्नुपर्ने काममा लाग्नुपर्ने र त्यस काममा सरकार लागि रहेको पूर्व राष्ट्रपति भण्डारीको विश्वास छ ।

उहाँले भन्नुभयो, ‘जनताका लागि आफ्नो सबैभन्दा भरपर्दो अभिभावक भनेको राज्य नै हो । राज्यमा विभिन्न ढंगले प्रतिनिधित्व भएको हुन्छ । एउटा त सरकार हुन्छ । स्थायी सरकारको रुपमा विभिन्न राज्यको अंगहरु छन् । उहाँहरुले आफ्नो तर्फबाट जनतालाई आवश्यकताअनुसारको सेवा प्रदान गर्नुपर्ने हुन्छ । राज्यको तर्फबाट राज्यका सबै अंगहरुले जनतालाई गर्नुपर्ने जुन सेवा, सुविधा हो, त्यो तदारुकताका साथ दिनुपर्छ ।’

पूर्व राष्ट्रपति भण्डारीले प्राप्त जनादेशअनुसार राजनीतिक दलहरुले काम गर्नुपर्ने बताउनुभयो । बेलाबेलामा हुने निर्वाचनमा दिएको म्यान्डेटको आधारमा सरकार बन्नुपर्ने र उसले त्यही जनमतअनुसार काम गर्नुपर्ने उहाँको भनाइ छ । पूर्व राष्ट्रपति भण्डारीले जनप्रतिनिधिहरु र कर्मचारीहरुले देश र जनताको पक्षमा समर्पित भएर काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘समय समयमा चुनाव भएपछि जुन निर्वाचित प्रतिनिधिहरु आउँछन् । उनीहरुले आफ्नो कार्यकालमा राम्रोगरी काम गर्नुपर्छ । जनताबाट पाएको जुन जनमत हुन्छ, त्यो अनुसार काम गर्नुपर्ने हुन्छ । लोकसेवा आयोग पास गरेर आएकोबाट बनेको संयन्त्र र जन निर्वाचित प्रतिनिधिहरुको संयन्त्र दुई वटाले काम गरिराखेको हुन्छ । यी संस्था देश र जनताप्रति समर्पित भएर काम गर्नुपर्दछ ।’ पूर्व राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा बडादसैंको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  १० : ०७ बजे