बैतडीमा यो वर्ष पहिलो पटक हिमपात, गहुँ बाली सप्रिने आशा

​​​​​​​बैतडी । बैतडीका उच्च लेकाली भेगमा भारी हिमपात भएको छ । 

पाटन नगरपालिकाको खोड्पे, अनारखोली, सुर्नया गाउँपालिकाको ढोल्यामोड, श्रीभाबर, सतबाँझ, बाँजपानी, सिगास गाउँपालिकाको गर्जे, बुरुसे, चौखाम लगायतका ठाउँमा मङ्गलवार रातिदेखि हिमपात भइरहेको हो । 

हिमपात अहिले पनि जारी रहेको छ ।  हिउँ पर्न थालेसँगै चिसो बढेकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन् । चिसोले बालबालिका तथा वृद्ध वृद्धालाई बढी असर गर्ने भएकाले ख्याल गर्न स्वास्थ्यकर्मीले सुझाएका हुन् ।

वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् । यो वर्ष समयमै हिउँ परेकाले गहुँ बाली सप्रिने आशा पलाएको पाटन नगरपालिका–९ का किसान नरबहादुर भण्डारीले बताउनुभयो। बैतडीमा यो वर्ष पहिलो पटक हिमपात भएको हो ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ९ : २४ बजे